आइसियूको ढोकामाथि रातो बत्ती निरन्तर बलिरहेको थियो। बाहिर समय रोकिएको जस्तो थियो। भित्र समयसँग जीवनको अन्तिम युद्ध चलिरहेको थियो। माया अस्पतालको चिसो भुइँमा गम्छा ओछ्याएर बसेकी थिइन्।
त्यही गम्छाले उनले कहिले पसिना पुछ्थिन्, कहिले आँसु। रात लामो हुँदै गइरहेको थियो। निद्रा सबैको आँखामा थियो, तर उनीहरूको जीवनबाट हराइसकेको थियो।
उनको छेउमै करिब बाह्र वर्षको एउटा बालक बसेको थियो। उसको नाम अर्जुन थियो। ऊ आफ्नी आमाको खुट्टा समातेर बसिरहन्थ्यो। उसकी आमा पार्वती दुवै मिर्गौलाले काम गर्न छोडेपछि हप्तामा दुईपटक डायलाइसिस गराइरहेकी थिइन्। डायलाइसिस छुट्यो भने जीवन पनि छुट्थ्यो।
अर्जुनले विद्यालय नगएको छ महिनाभन्दा बढी भइसकेको थियो। किताबका अक्षरहरू उसले बिर्सिँदै गएको थियो, तर अस्पतालका बिलमा लेखिएका अंकहरू कण्ठ भइसकेका थिए।
एक दिन उसले बुबालाई सोध्यो, ‘बाबा, डायलाइसिस भनेको के हो?’
बुबाले केहीबेर उत्तर दिन सकेनन्। उनको घाँटी भरियो। धेरैबेरपछि उनले मुस्किलले भने, ‘छोरा, गरिब मान्छेको जीवन लम्ब्याउन पैसा चाहिने रोगलाई डायलाइसिस भन्छन्।’
अर्जुन फेरि बोलेन। त्यो उत्तरले उसको बाल्यकाल एकैछिनमा बूढो बनाइदियो।
अस्पतालको अर्को कुनामा एउटी वृद्धा तीन दिनदेखि शवगृहको ढोकाबाहिर बसिरहेकी थिइन्। उनको नाम कसैले सोधेन। सबैले उनलाई 'हजुरआमा' मात्र भन्थे। उनका एक्ला छोराको मृत्यु भइसकेको थियो। तर शव घर लैजान पैसा पुगेको थिएन। शवगृहको शुल्क तिर्न बाँकी थियो। शववाहनको भाडा पनि। त्यसमा थपिएको तीन प्रतिशत स्वास्थ्य समता शुल्क पनि। छोरा मृत थियो। तर गरिबी अझै जीवित थियो।
वृद्धाले शवगृहको चिसो फलामे ढोकामा हात राखिन्। आँखा बन्द गरिन्। बिस्तारै भनिन्, ‘बाबु, जिउँदै हुँदा भोकसँग लड्यौँ। मर्दा पनि पैसासँग हार्नुपरेछ।’
उनको आवाज सुनेर त्यहाँ उभिएका केही मानिसले टाउको झुकाए। तर नियमहरूको अनुहारमा कुनै भाव थिएन। कानुन कहिल्यै रुँदैन। रसिदमा आँसुको भाषा लेखिँदैन।
त्यही बेला दुई जना कर्मचारी चिया पिउँदै कुरा गरिरहेका थिए। एक जनाले सहजै भन्यो, ‘आज शवगृह पनि भरिएको रहेछ।’
अर्कोले हल्का हाँसो हाँस्दै उत्तर दियो, ‘देशमा गरिब धेरै छन् नि।’
दुवै हाँसे। तर त्यो हाँसो अस्पतालको भित्तामा ठोक्किएर फर्कियो। किनकि पीडाको संसारमा व्यङ्ग्य पनि कहिलेकाहीँ अपराध जस्तै लाग्छ।
आइसियूभित्र कृष्णबहादुरले बिस्तारै आँखा खोले। उनको चेतना क्षणभर फर्किएको थियो। अक्सिजनको मास्कभित्रबाट अस्पष्ट आवाज निस्कियो, ‘माया...’ माया दौडेर नजिक पुगिन्। उनले हात समातिन्।
कृष्णबहादुरले फेरि भने, ‘घर... धान... बेच्नुपर्यो?’
मायाले मुस्कुराउने प्रयास गरिन्।
‘छैन। सबै ठीक छ।’
तर त्यो मुस्कान झूट थियो। बिहानै उनीहरूको तीन कट्ठा पुर्ख्यौली खेत बेचिसकिएको थियो। त्यही खेतमा उनले जीवनभर पसिना बगाएका थिए। आज त्यही खेतले उनको अन्तिम उपचार किनेको थियो।
दलालले जग्गा किनेर फर्कँदा भनेको एउटा वाक्य माया बिर्सन सकेकी थिइनन्।
‘उपचार भए राम्रो। नभए पनि जग्गा त मेरो भइहाल्यो।’
त्यो वाक्य कुनै व्यापार थिएन। त्यो समयको निर्दय निर्णय थियो। त्यस दिन मायालाई लाग्यो—कहिलेकाहीँ मानिसको मुटुभन्दा कागजको लालपुर्जा धेरै शक्तिशाली हुँदो रहेछ।
साँझतिर डाक्टर बाहिर आए। उनले अर्को औषधिको सूची दिए। औषधिको नाम लामो थियो। मूल्य त्योभन्दा पनि लामो। मायाले आफ्नो झोला खोलिन्। पैसा सकिइसकेको थियो। उनले गलबन्दीभित्र लुकाएर राखेको विवाहको मंगलसूत्र निकालिन्। सुनको त्यो धागोमा पचास वर्षको वैवाहिक इतिहास गाँसिएको थियो। उनी फार्मेसीमा पुगिन्।
‘यो राख्नुहोस्। औषधि दिनुहोस्।’
कर्मचारीको आँखामा पनि पानी भरियो, ‘आमा, हामी धितो राखेर औषधि दिन पाउँदैनौँ।’
त्यही बेला अर्जुन दौडँदै आयो। उसको हातमा माटोको एउटा गुल्लक थियो। उसले त्यो फुटायो। सिक्का र केही नोट भुइँमा छरिए।
‘हजुरआमा, यसमा आठ सय बयालीस रुपैयाँ छन्। आमाले मेरो साइकल किन्न राख्नुभएको थियो। पहिला हजुरबालाई बचाऔँ।’
माया केही बोल्न सकिनन्। उनले अर्जुनलाई अँगालो हालिन्। त्यो क्षण उनलाई लाग्यो— मानिस धनी पैसाले होइन, करुणाले हुँदो रहेछ।
राति मन्दिरमा आरती भइरहेको थियो। घण्टी बजिरहेको थियो। उता आइसियूमा मोनिटर पनि निरन्तर बजिरहेको थियो। एउटा आवाज भगवान्लाई बोलाइरहेको थियो। अर्को आवाज डाक्टरलाई। तर दुवै आवाजको प्रार्थना एउटै थियो— जीवन बचोस्।
सरसफाइकर्मी जमुना फोहोर उठाउँदै थिइन्। उनले दिनभर रगत पुछ्थिन्। तर आँसु पुछ्ने जिम्मेवारी कसैले उनलाई दिएको थिएन। उनले मायालाई एउटा तातो चियाको गिलास दिइन्।
‘आमा, केही खानुस्।’ मायाले टाउको हल्लाइन्।
‘भोक छैन।’
जमुनाले बिस्तारै उत्तर दिइन्, ‘भोक त सबैलाई लाग्छ आमा। गरिबलाई मात्रै खान नपुग्ने हो।’
त्यो वाक्य अस्पतालको सबैभन्दा ठूलो सत्य थियो।
झ्यालबाहिर एउटा सानो बालक रङ्गीन बेलुन बेचिरहेको थियो। ऊ अस्पतालभित्र छिर्न पाउँदैनथ्यो। तर उसको आवाज भित्रसम्म आइरहेको थियो।
‘बेलुन... रङ्गिन बेलुन...’
माया झ्यालतिर हेर्दै सोचिरहिन्— कस्तो अनौठो संसार। बाहिर एउटा बच्चाले हावा बेचिरहेको छ। भित्र अस्पतालले आशा बेचिरहेको छ। र दुवैको मूल्य गरिबले तिर्न सकिरहेको छैन।
मध्यरात अचानक आइसियूभित्र हलचल बढ्यो। डाक्टरहरू दौडे। नर्सहरू दौडिन्। मोनिटरको आवाज तीव्र भयो। मायाले भगवान्को सानो तस्बिर दुवै हातले समातिन्।
‘हे भगवान्, मलाई होइन। उहाँलाई बचाइदिनुहोस्।’
त्यही क्षण उनलाई एउटा विचित्र अनुभूति भयो। सायद भगवान् पनि कतै कुनै काउन्टरअगाडि उभिएर मानवताको बिल तिरिरहेका छन्। र कसैले उहाँलाई पनि भनिरहेको छ— ‘तीन प्रतिशत अझै बाँकी छ।’
अस्पतालको घडीले रातको तीन बजायो। तर त्यो रात सकिएको थिएन। किनकि केही रातहरू घडीले मापन गर्दैन। ती रातहरू आँसु, प्रतीक्षा, गरिबी र अधुरो आशाले मापन गर्छन्। त्यस्ता रातमा बिहान घामसँग होइन, एउटा सास बाँच्छ कि मर्छ भन्ने समाचारसँग उदाउँछ।
बिहानको पहिलो घाम अस्पतालको झ्यालबाट भित्र छिर्यो। तर त्यो उज्यालो कुनै बिरामीको अनुहारमा पुगेन। आइसियू, डायलाइसिस कक्ष र क्यान्सर वार्डमा बिहान र रातको कुनै अर्थ हुँदैन। त्यहाँ घडीले समय देखाउँदैन। औषधिको समय, सासको गति र बिलको रकमले समय गन्छ।
माया काउन्टरअगाडि फेरि उभिएकी थिइन्। रातभर ननिदाएकी आँखामा रातो डोरा देखिन्थ्यो। कर्मचारीले कम्प्युटरमा केही टाइप गर्यो। प्रिन्टरले अर्को बिल निकाल्यो। लामो बिल थियो। औषधि। परीक्षण। अक्सिजन। आइसियू। विशेषज्ञ शुल्क। प्रयोगशाला। रक्त सेवा। अनि अन्तिम हरफमा फेरि उही शब्द— ‘स्वास्थ्य समता शुल्क: ३ प्रतिशत।’
मायाले बिल हेरेर बिस्तारै सोधिन्, ‘बाबु, यो समता भनेको के हो?’
कर्मचारीले धेरैबेर उनको अनुहार हेरिरह्यो। उसको आँखामा थकान थियो। उसले धेरै दिनदेखि यस्तै प्रश्न सुन्दै आएको थियो। तर कुनै उत्तर थिएन।
उसले केवल यति भन्यो, ‘आमा, म पनि महिनाको तलब खाने कर्मचारी हुँ। यो प्रश्न तपाईंले मलाई होइन, त्यो कुर्सीलाई सोध्नुपर्छ जहाँ नियमहरू जन्मिन्छन्।’
मायाले बिल मोडिन्। उनको मनमा एउटा विचार आयो, नियमहरू जन्माउने कुर्सीहरू कहिल्यै अस्पतालको लाइनमा उभिएका होलान् त?
त्यही बेला अस्पतालको प्राङ्गणमा एउटा किसान परिवार आइपुग्यो। बाबु स्ट्रेचरमा थिए। दाहिने खुट्टा ट्र्याक्टरले च्यापेको थियो। रगत अझै बगिरहेको थियो। श्रीमतीले हातमा चप्पल पनि लगाएकी थिइनन्। हतारमा घरबाट निस्कँदा उनी नाङ्गो खुट्टै दौडिएकी थिइन्। उनका पछिपछि दुई साना छोराछोरी पनि नाङ्गा खुट्टै दौडिरहेका थिए। उनीहरूलाई अस्पताल भनेको जीवन बच्ने ठाउँ हो भन्ने विश्वास थियो। अस्पताललाई उनीहरूले बजार बनिसकेको छ भन्ने थाहा थिएन।
रिसेप्सनमा पहिलो प्रश्न आयो, ‘अग्रिम रकम कति जम्मा गर्नुहुन्छ?’
महिलाले काँपेको स्वरमा भनिन्, ‘पहिला श्रीमान्लाई बचाइदिनुस्। पैसा गाउँबाट ल्याइरहेछन्।’
कर्मचारीले सहानुभूतिले हेरे पनि नियम बदल्न सकेन। उसले बिस्तारै भन्यो, ‘प्रक्रिया पूरा गर्नुपर्छ।’
त्यो क्षण महिलाले आफ्नो रातो पोते चुँडालिन्। कानका फुली निकालिन्। काउन्टरमा राखिन्।
‘यी लानुस्। मेरो मान्छे बचाइदिनुस्।’
कर्मचारीको हात काँप्यो। उसले गहना फर्काइदियो।
‘आमा, हामी सुनको व्यापार गर्दैनौँ।’
महिलाले आकाशतिर हेरेर भनिन्, ‘अनि जीवनको व्यापार कहाँ हुन्छ बाबु?’
त्यो प्रश्न अस्पतालको छतमा ठोक्कियो। उत्तर कतैबाट आएन। मौनता नै सबैभन्दा ठूलो सरकारी परिपत्र बनेर त्यहाँ फैलियो।
क्यान्सर वार्डमा आरतीको किमोथेरापी सुरु हुने दिन थियो। उनको अनुहार पहेँलो थियो। ओठ सुकिसकेका थिए। तर आँखामा एउटा सानो सपना अझै बाँकी थियो।
उनले नर्सलाई सोधिन्, ‘दिदी, म निको भएँ भने फेरि कपाल उम्रिन्छ?’
नर्स मुस्कुराइन्।
‘उम्रिन्छ।’
आरती फेरि मुस्कुराइन्।
‘त्यसपछि म मेडिकल कलेज पढ्न जान्छु। गरिब बिरामीसँग पैसा नभए पनि उपचार गर्ने डाक्टर बन्छु।’
नर्सले अनुहार अर्कोतिर फर्काइन्। किनकि कहिलेकाहीँ मुस्कानले आँसु लुकाउन सक्दैन। बिरामीलाई औषधि दिन सकिन्छ। तर आशाको मूल्य निर्धारण गर्न सकिँदैन।
त्यही समयमा आरतीका बुबा अस्पतालबाहिर बैंकको सिँढीमा बसिरहेका थिए। ऋणका लागि तीन दिनदेखि बैंक धाइरहेका थिए। बैंकले धितो माग्यो।
उनले भने, ‘घर छैन।’
बैंकले जग्गा माग्यो।
उनले भने, ‘जग्गा छैन।’
बैंकले ग्यारेन्टर माग्यो। उनले टाउको झुकाए।
गरिब मानिससँग सबैभन्दा ठूलो अभाव पैसा होइन, विश्वास गर्ने मानिसको अभाव हो।
अन्ततः उनी गाउँका साहुकहाँ पुगे। साहुले हिसाबको कापी खोल्यो।
‘पाँच लाख दिन्छु। तर घरको लालपुर्जा राख्नुपर्छ। ब्याज महिनाको तीन प्रतिशत।’
तीन प्रतिशत।
उनी झसङ्ग भए। अस्पतालभित्र पनि तीन प्रतिशत। अस्पतालबाहिर पनि तीन प्रतिशत। उनी मनमनै बर्बराए, ‘यो देशमा सायद गरिबको जीवन नै तीन प्रतिशत ब्याजमा बाँचेको रहेछ।’
दिउँसो एउटा एम्बुलेन्स फेरि अस्पताल आइपुग्यो। यसपटक बिरामी थिएन। सानो सेतो कपडाले बेरिएको पाँच महिनाको एउटा बालक थियो। आमा बेस्सरी रोइरहेकी थिइन्।
‘छोरा, उठ न... घर जाऔँ...’ तर बालक धेरै टाढा गइसकेको थियो। संसारको सबैभन्दा लामो यात्रा कुनै पासपोर्ट बिना उसले पूरा गरिसकेको थियो।
शवगृहमा कर्मचारीले औपचारिक प्रक्रिया पूरा गरिरहेका थिए। बुबाले काँपेको हातले बिल समाते। त्यहाँ शव राखेको शुल्क थियो। शववाहनको शुल्क थियो। अनि फेरि—तीन प्रतिशत।
बुबाले बिल पढे। उनका आँखा टक्क अडिए। उनी बिस्तारै हाँसे। त्यो हाँसोमा कुनै खुसी थिएन। त्यो हाँसो पीडाको अन्तिम रूप थियो।
उनी बर्बराए, ‘मेरो छोरो त कर तिर्ने उमेरमै पुगेन। तर उसको मृत्युले पनि कर तिर्नुपर्यो।’
वरिपरि उभिएका मानिसहरू चुप लागे। किनकि केही वाक्यहरू सुनेपछि भाषा पनि अपाङ्ग बन्छ।
त्यसैबेला अस्पतालको बगैँचामा एउटा गुलाब फुलेको थियो। कसैले त्यसलाई पानी दिएको थिएन। कसैले कर पनि लगाएको थिएन। हावाले निःशुल्क सुगन्ध बाँडिरहेको थियो। घामले निःशुल्क उज्यालो दिइरहेको थियो। प्रकृति अझै व्यापार सिकेको थिएन। सायद त्यसैले प्रकृति भगवान्को सबैभन्दा नजिक छ।
साँझ बिस्तारै रातमा विलीन हुँदै थियो। माया अस्पतालको छतमा पुगिन्। तल सहर असङ्ख्य बत्तीहरूले उज्यालिएको थियो। माथि आकाश असङ्ख्य ताराहरूले भरिएको थियो। उनलाई एकाएक लाग्यो— सहरका बत्ती र आकाशका ताराबीच कतै मानिसको पीडा हराइरहेको छ।
उनले बिस्तारै आँखा बन्द गरिन्। मनमनै भनिन्, ‘हे भगवान्, यदि संसार एउटा अस्पताल हो भने हामी सबै बिरामी हौँ। कसैको शरीर बिरामी छ। कसैको मन। कसैको विवेक। कसैको व्यवस्था। तर सबैभन्दा ठूलो रोग त करुणाको मृत्यु रहेछ। शरीर मरेपछि एउटा मानिस मर्छ। करुणा मरेपछि एउटा राष्ट्र मर्छ।’
त्यही क्षण एक्कासि अस्पतालभरको विद्युत् केही सेकेन्डका लागि निभ्यो। चारैतिर अन्धकार छायो। आइसियूका यन्त्रहरू ब्याकअप विद्युत्मा फेरि चल्न थाले। मोनिटरहरूको तीव्र ध्वनि अन्धकार चिर्दै फेरि सुनिन थाल्यो। तर त्यो केही क्षणको मौन अन्धकारमा मायाले अस्पतालको छतमाथि एउटा अपरिचित छाया उभिएको देखिन्।
त्यो छाया चिकित्सकजस्तो पनि देखिन्थ्यो। संन्यासीजस्तो पनि। सायद आफ्नै अन्तरात्माको प्रतिरूप थियो। उसले केही बोलेन। केवल आफ्नो हात आकाशतिर उठायो।
मायाले पनि माथि हेरिन्।
एउटा तारा आकाशबाट बिस्तारै खसिरहेको थियो। उनलाई बाल्यकालमा हजुरआमाले भनेको कुरा सम्झना आयो— तारा खस्दा एउटा आत्माले आफ्नो यात्रा पूरा गर्छ।
तर त्यस रात उनलाई पहिलो पटक लाग्यो— सायद त्यो तारा थिएन। कुनै राष्ट्रको करुणा आकाशबाट झरेको थियो। कुनै समाजको विवेक अन्धकारतिर डुबेको थियो।
त्यही बेला एउटा अनौठो हावा चल्यो। अस्पतालको काउन्टरबाट उडेको एउटा पुरानो बिल हावासँगै घुम्दै माथि उठ्यो। बिल घुमिरह्यो। अझ माथि। अझ पर। अन्ततः त्यो अन्धकारभित्र विलीन भयो। कसैले त्यसलाई फेरि कहिल्यै देखेन।
भोलिपल्ट बिहान सरसफाइकर्मीले छत सफा गर्दा बिल कतै भेटिएन। तर जहाँ बिल हराएको थियो, त्यही ठाउँमा एउटा सेतो परेवा चुपचाप बसेको थियो। उसको चुच्चोमा कुनै कागज थिएन। कुनै रसिद थिएन। कुनै करको हिसाब थिएन। केवल एउटा सेतो प्वाँख थियो, जसमा बिहानको घाम हल्का टल्किरहेको थियो।
परेवाले केही क्षण अस्पतालतिर हेरिरह्यो। त्यसपछि एक्कासि आकाशतिर उड्यो। ऊ कुन दिशामा गयो, कसैले देखेन। तर त्यस दिनदेखि अस्पतालका केही वृद्ध बिरामीहरूले एउटै कुरा भन्न थाले।
उनीहरू भन्थे, ‘हरेक मध्यरात, जब बिल काउन्टर बन्द हुन्छ, जब करका हिसाबहरू सुत्छन्, जब अस्पतालको कोरिडोरमा केवल सासको आवाज बाँकी रहन्छ, त्यतिबेला कसैले धेरै बिस्तारै एउटा प्रश्न सोध्ने गर्छ— 'यहाँ उपचारको मूल्य कति हो?'‘
र त्यसपछि कतैबाट अर्को आवाज आउँछ— ‘उपचारको होइन... मानवताको हिसाब अझै बाँकी छ।’
त्यसपछि फेरि अस्पताल मौन हुन्छ। यति मौन कि कहिलेकाहीँ लाग्छ, त्यो भवनभित्र बिरामीहरूभन्दा बढी उत्तर खोजिरहेका प्रश्नहरू भर्ना भएका छन्।
वर्षौँपछि अस्पतालको पुरानो भवन भत्काइयो। नयाँ भवन बन्यो। नयाँ मेसिन आए। नयाँ प्रविधि आयो। नयाँ नियमहरू पनि आए। तर एउटा कुरा कसैले परिवर्तन गर्न सकेन।
हरेक वर्षको कुनै एउटा वर्षात्को रात, ठीक मध्यरातमा, अस्पतालको खाली छतमाथि एउटा पुरानो, पहेँलो बिल हावामा आफैँ उडिरहेको देखिन्छ भन्ने कथा अझै सुनिन्छ। त्यो बिलमा कुनै रकम पढ्न सकिँदैन। कुनै बिरामीको नाम पनि हुँदैन।
केवल एउटा हरफ बाँकी हुन्छ— ‘मानवताको बाँकी भुक्तानी।’
त्यो कसले लेख्यो? कहिले लेख्यो? र कसले तिर्ने?
आजसम्म कसैले उत्तर फेला पारेको छैन।