यो हुनेखानेहरूको सहर हो
यहाँ हुँदा खानेलाई कुनै वासस्थान छैन
यो महलहरूमा बस्नेहरूको सहर हो
यहाँ झुपडीमा बस्नेहरूको कुनै औचित्य छैन।
सरकार, तिमी विकासका कुरा गर्छौ
तर विकासलाई यही सहरको सीमाभित्र कैद गर्छौ
तिम्रो बजेट यहीँ खन्याइन्छ
तर बाटोसमेत नपुगेका गाउँहरूमा तिम्रो नजर कहिल्यै पुग्दैन
किनकि त्यो गरिब बस्ने गाउँ हो
किनकि त्यो सर्वहारा बस्ने ठाउँ हो
सायद तिम्रो नजरमा उनीहरूलाई विकास नै चाहिँदैन।
म अझै देख्छु,
ज्यानलाई बाजी राखेर तुइन तर्दै विद्यालय पुग्ने ती नानीहरू
सुत्केरी व्यथामा घण्टौँ पैदल हिँडेर अस्पताल पुग्न बाध्य ती आमाहरू
एउटा फोन गर्नकै लागि डाँडाकाँडा चहार्नुपर्ने ती गाउँहरू
चुहिने छानामुनि भविष्य खोज्दै पढिरहेका ती विद्यार्थीहरू।
खै सरकार,
कहाँ छ तिम्रो बजेटको विनियोजन?
कहाँ छ तिम्रो प्राथमिकता?
तिमी त शैक्षिक अधिकार माथि कर लगाउने मान्छे
तिमी त स्वास्थ्यमा कर लगाउने मान्छे
सरकार, कहाँ छुन्छ र तिम्रो मन
उपचार नपाएर छटपटिँदै मरिरहेका मान्छेको पीडाले?
कहाँ बिझाउँछ र तिम्रो हृदय
दशकौँदेखि कर्णालीका बाटाहरूमा दुर्घटनाले
निलेका हजारौँ जीवनको कथा?
पढ्न नपाएर खाडीको पचास डिग्रीको तापमा
पसिना बगाइरहेका युवाहरूको वेदना?
तिमी त महलमा बस्ने मान्छे,
तिमी त सुख–सयलमै जीवन बिताएको मान्छे
त्यसैले त होला,
गरिबको आँसु तिम्रो आँखाले देख्दैन
उसको पीडा तिम्रो हृदयसम्म कहिल्यै पुग्दैन।