समसुद्दीनले तेह्रौँ शताब्दीमा
सुरु गरेको
नेपाली तर्साउने शृङ्खलाको निरन्तरता
चलिरह्यो,
किनलकले तर्साए
एकीकरणको अभियानमा
तर
सिन्धुलीगढीमा उनी आफैँ
झस्किए।
लर्ड हास्टिङले
झस्कायो धेरै पटक हामीलाई
कलकत्तामै बसेर।
अक्टरलोनी र गिलेस्पीले
नराम्रोसँग तर्साए
र खोसे हाम्रा मुटुहरू पनि।
कहिले तर्साए
लुमडी भद्रकालीमा दामोदरलाई ठुन्काएर
कहिले त्रिभुवन खवासकहाँ राजालाई सेरेर
कहिले पचलीमा भिमसेनलाई फालेर
कहिले कोतमा रगतको खोलो बगाएर
अनि कहिले भण्डाखालमा बाटो छेकेर
कहिले थापाले,
कहिले पाँडेले,
कहिले बस्नेतले,
कहिले जंगेले।
जनताहरू निरन्तर तर्सिरहे
देव शमशेरलाई
लखेटेर पठाउँदा
राम राम लेख्दै गरेका
रणोद्दीपलाई उडाउँदा
गोर्खामा लखन थापालाई झुन्ड्याउँदा
काठमाडौँमा चार सहिदहरूलाई
झुन्ड्याउँदा र गोली ठोक्दा।
आखिर तर्साएर त रहेछ
शासन गर्ने
तर जब तर्साइको सीमा नाघ्छ
गोपालप्रसाद रिमालहरूले भन्ने गर्दछन्
'सुते भनी सम्झिएका सुरुसुरु हिँड्छन्।'
तर
तर्साउने काम रोकिन्छ कहिले?
शुखानीमा तर्साउँछन्,
बैतडीमा तर्साउँछन्,
सिराहामा तर्साउँछन्,
जनकपुरमा तर्साउँछन्,
तर्साई रहन्छन् शासकहरू
र जनताहरू तर्सिरहन्छन्।
बजार जाँदा तर्सन्छन्,
घाँसपात जाँदा तर्सन्छन्,
मेलापात जाँदा तर्सन्छन्,
खोला तर्दा तर्सन्छन्,
प्रेमी प्रेमिकाले मन पराउँदा तर्सन्छन्
मन नपराउँदा तर्सन्छन्।
यात्रा गर्दा तर्सन्छन्,
जात्रामा जाँदा तर्सन्छन्,
परदेशी हुँदा तर्सन्छन्
फर्किआउँदा तर्सन्छन्।
यसरी
निरन्तर निरन्तर चलिरहन्छ
तर्साउने क्रम।
कहिले सिंहदरबारमा बसेर,
कहिले नारायणहिटी बसेर,
कहिले जंगलमा बसेर,
कहिले सामाजिक सञ्जाल भित्रबाट
कहिले बालुवाटार
अनि कहिले माइतीघर र टुँडिखेलमा बसेर
तर्साइरहन्छन् हिंस्रक तस्करहरू।
अघिल्ला सरकारहरूले
निचर्दा निचर्दा पानी निथ्रेपछि
टाँगोमा सुकाएको कमिज सुरवाल जस्ता
जनतालाई
पुनः निकालेर निचर्न खोज्दछन्
प्रत्येक नयाँ सरकारहरू
अनि मन्त्रीज्यूहरूले भनिरहन्छन्
'नेपाली जनतालाई बेस्सरी तर्साउनु पर्छ।'