नामझैँ सत्यनिष्ठ थिए झैँ लाग्थ्यो पुराण बाजे
गीता पाठ गर्थे
गरुड पुराण लगाउँथे
पुत्रकामेष्टि यज्ञमा नामुद
खीर खान टाढा-टाढाबाट लिन आउँथे
शास्त्रका श्लोक अर्थ्याउँदै
उनी भन्थे- ‘उऋण नभै मोक्ष मिल्दैन।’
वाल्मीकि रामायणको बालकाण्ड औधी रूचाउँथे।
देव, पितृ र ऋषि ऋणमा सजग थिए
भनौँ उनको मुमुक्षुत्व अजबको थियो
जीवनको दिशा मनभावमा निर्भर छ
कमजोर इन्द्रियसंयमिता- कट्टर धूम्रपायी
मनको आँधी शान्त पार्न उनी धुवाँको बादलभित्र हराउँथे!
निकै होसियार थिए कर्ममा-
कर्म मार्ग घर धान्ने अर्थोपार्जन थियो
भक्ति मार्गका लागि शङ्खनाद र स्तोत्र पाठ,
पछि टिन-टिन घण्टानाद दैनन्दिन नै थियो
ज्ञान मार्ग त अन्तर्मनको प्रत्यक्ष अनुभूति हो
उनै जानुन्!
भनिन्छ- देहत्यागको समयले मोक्षप्राप्तिमा प्रभाव पार्छ
भनिँदैन- साधारण मनुष्य सहजै मोक्ष प्राप्त गर्दछ!
यमपुरी उनको इच्छाको विषय हुने कुरै भएन
यद्यपि,
मरण कृष्णपक्ष, सूर्य दक्षिणायन हुँदा
कालो रातमा गीताको सिरानी हालेर भएछ
अन्तिम वाक्य ‘तिर्नु छ’ रहेछ!
लोकले बोल्यो-
‘अहो! शुभ-मरण थला नपरी जानु भो!’
छोरो समान किन्न जाँदा पसलेले भनेछ-
‘अन्तिम बट्टा किन्दाको पाँच रुपैयाँ पनि बाँकी थियो!’
तर पनि,
उसले सानो मन गरेर प्रतिवाद गरेछ
आलयभित्रै ज्ञानमा खडेरी रहेछ!
सुन्दा तन गह्रौँ भयो
तर
मनमा एउटै विचार उठिरह्यो
के गुरुले मोक्ष प्राप्त गरे त?