कलेजको दोस्रो वर्ष सकिएकोले छुट्टीको समय थियो। हरेक वर्ष जस्तै, यस वर्ष पनि अजय बिदामा गाउँ आएका थियो। उसको हजुरआमाको घरमा। यहाँ हजुरआमा, काका र काकाको सम्पूर्ण परिवार बस्नु हुन्थ्यो।
हजुरआमा धेरै शान्त स्वभावको हुनुहुन्छ। उहाँ सानो गाँठीको भए पनि उहाँको मन ठुलो छ। बुढ्यौलीले उहाँलाई कमजोर बनाइरहेको छ। ढाड कुप्रिने र घुँडा दुख्ने समस्याले उहाँमा पहिलाको जस्तो जोस र फुर्ती छैन।
बुबाले सहरमा जागिर पाउनु भएपछि उहाँले हजुरआमालाई आफूसँगै ल्याउनु भएको थियो। सबै सुविधाहरू उपलब्ध भए पनि हजुरआमालाई सहरको वातावरण मन परेको थिएन। त्यसैले हजुरआमा गाउँ नै फर्कनु भएको थियो। अजयले हजुरआमालाई धेरै सम्मान र उत्तिकै माया गर्छ। आज पनि, कलेजको बिदा हुने भएकोले उहाँलाई भेट्न पाउने कुराले ऊ एकदमै खुसी भएको छ।
आज अजय हजुरआमासँग उहाँको कोठामा बसिरहेको थियो। हजुरआमाले केही कामको लागि एउटा पुरानो बाकस खोल्नु भएको थियो। उहाँ केही कुरा खोज्दै त्यसमा भएका कुराहरू हेर्दै हुनुहुन्थ्यो, त्यतिकैमा अजयको नजर भित्रका केही पत्रहरूमा पर्यो।
अजयले उहाँसँग त्यसको बारेमा जान्न चाह्यो। उहाँले ती पत्रहरू हेरेर एकछिनको लागि कतै विगतमा हराउनु भएको जस्तो लाग्यो। केही समयको लागि बसेको त्यस कोठामा मौनता छायो, त्यसपछि उहाँले मौनता तोड्दै भन्नुभयो- ‘यी तिम्रा हजुरबुबाका पत्रहरू हुन्।’
अजयको एउटै प्रश्नले उहाँको धेरै पुराना सम्झनाहरूलाई ताजा गराएको हुनुपर्छ। केही समयपछि उहाँले थप्नुभयो, ‘उहाँले मलाई जनयुद्ध कालमा आफ्नो कार्य क्षेत्रबाट पत्र लेख्नुहुन्थ्यो।’
त्यससँगै, उहाँले बाकस बन्द गर्नुभयो र कोठाबाट बाहिर निस्किनु भयो। हजुरबुबाले लेखेका ती पत्रहरू हजुरआमाको लागि धेरै बहुमूल्य थिए होलान्। पत्रहरूको बारेमा कुरा गर्दा उहाँको अनुहारमा एक प्रकारको विशिष्ट चमक देखिन्थ्यो। सायद उहाँको हृदयमा वर्षौँदेखिको पीडा पनि थियो।
हजुरबुवा जनयुद्धमा वीरगति प्राप्त गरेर देशको लागि शहीद हुनुभयो। उहाँको बारेमा अजयलाई धेरै थाहा छैन तर उसले केही बहादुरीका कथाहरू सुनेको थियो। अजयसँग भएको एउटा मात्र कुरा उहाँको मधुरो तस्बिर हो।
प्रहरी सेनाका जवानहरूको जीवन त्यति सजिलो हुँदो रहेनछ। देशको सुरक्षाका लागि सारा सुख त्याग गर्नु पर्ने। हजुरबुवा बित्नुहुँदा अजयको बाबा सानै थिए। आमाबुवा दुवैको माया दिने हजुरआमा नै हुनुहुन्थ्यो। दुई छोराछोरी एक्लै हुर्काउन त्यति सजिलो थिएन होला। घरमा एउटा पसल थियो जहाँबाट धेरै थोरै पैसा कमाउन सकिन्थ्यो। अहिले त्यही पसल निकै ठुलो भइसकेको छ जसलाई अहिले काकाले सम्हाल्नु भएको छ।
दिउँसोको समय आफ्नो कोठामा पल्टिरहेको थिएँ। हजुरआमाको त्यो बाकस बन्द भइसकेको थियो तर ती चिठीहरू अझै पनि अजयको मनमा घुमिरहेका थिए। त्यसको कारण यसमा राखिएको एउटा खाम थियो।
त्यो अरूभन्दा फरक, हेर्दा सबैभन्दा पुरानो थियो। स्वाभाविक थियो अक्षरहरू पुरानो भइसकेका थिए किनभने ती सबै द्वन्द्व कालमा लेखिएका पत्रहरू थिए तर त्यो एउटा पत्र केही फरक थियो। त्यो आधा च्यातिएको खामले अजयलाई आकर्षित गरिरहेको थियो। यो कुरा सोच्दा सोच्दै कति बेला ऊ निदायो पत्तै पाएन।
साँझ उठ्दा हजुरआमा घरमा हुनुहुन्न थ्यो। उहाँ कतै बाहिर जानु भएको थियो। त्यो सुनेर अब गएर त्यो चिठी हेर्न पाउँछु भन्ने सोचेर अजय उत्साहित भयो। अरू कसैको चिठी यसरी पढ्नु ठिक होइन भन्ने उसलाई थाहा थियो, तर उसको जिज्ञासाले रोक्न सकेन।
हतार हतार हजुरआमाको कोठामा गएर भित्रबाट ढोका बन्द गरेर अजयले त्यो बाकस खोल्यो। चिठीहरू निकालेर हेर्न थाल्यो। त्यो खाम माथि नै राखिएको थियो। हजुरआमालाई लेखिएको त्यो चिठी द्वन्द्व कालको मध्यतिर लेखिएको जस्तो थियो। त्यो चिठी पुरानो थिएन तैपनि सायद कयौँ पटक खोलिएको जस्तो थियो, त्यसैले यस्तो देखिएको थियो।
अजयले चिठी निकाल्यो, त्यो पत्रको कागजमा केही चिन्हहरू थिए; अलिकति खुम्चिएको, कागजमा पानीको थोपा पर्दा बन्ने जस्ता। यो चिठी हेर्दा र पढ्दा धेरै पटक रोएको हुनुपर्छ भन्ने प्रस्ट हुन्थ्यो।
अजयले चिठी पढ्न थाल्यो। सुरुमा घरको अवस्थाको बारेमा सोधिएको थियो, त्यसपछि आफ्नो कुराहरू लेखिएको थियो। अगाडि लेखिएको थियो, ‘यहाँको अवस्था राम्रो छैन। कुनै पनि समयमा मुठभेड हुन सक्छ। यो कति समयसम्म रहन्छ भनेर म भन्न सक्दिनँ तर ढुक्क हुनु, विजय हाम्रो हुनेछ।’ त्यही भावना त्यति बेला त्यहाँ तैनाथ प्रत्येक सिपाहीको मनमा व्याप्त भएको हुनुपर्छ।
सिपाहीहरू ती हुन् जसले आफ्नो देशको लागि स्वेच्छाले आफ्नो जीवन अर्पण गर्छन्। उनीहरू त जान्छन् तर तिनीहरूले परिवारलाई शोकाकुल बनाएर जान्छन्।
पत्रमा अगाडि लेखिएको थियो- ‘म फर्केर नआउन पनि सक्छु। तिमी नरुनू। आफ्नो र सबैको ख्याल राख्नू। कमजोर नबन्नू।’ यी शब्दहरूद्वारा हजुरआमाको काँधमा कति ठुलो जिम्मेवारी सुम्पिएको थियो भन्ने कुरा सायद उनलाई थाहा थिएन।
युद्धले कसैलाई फाइदा गर्दैन। यसले गहिरो घाउहरू छोड्छ,यो यस्तो रोग हो जसको कुनै उपचार छैन। सायद त्यसैले यो पत्र हजुरआमाको लागि विशेष छ। यसमा हजुरआमाको धेरै भावनाहरू जोडिएको छ।
जनयुद्ध समाप्त भयो। बाकसमा एउटा अर्को खाम पनि थियो, जुन बाकसको अलि तल राखिएको थियो। तर यो पत्र अझैसम्म खोलिएको थिएन। यो पत्रमा फरक के थियो भने यो हजुरबुबाले लेख्नुभएको थिएन। यो पत्र हजुरआमाले त्यो पत्रको जवाफमा लेख्नुभएको थियो।
अजयले त्यो पत्र खोल्न सकेन। अजयसँग त्यो साहस आएन। सायद हजुरआमाले सान्त्वना दिनुभएको थियो होला, मनोबल बढाउने प्रयास गर्नुभएको थियो, यहाँको चिन्ता नगर्न भन्नुभएको थियो होला, यहाँ सबैको ख्याल राख्दै छु वा अरू केही लेख्नुभएको हुन सक्छ। जे लेखिएको भए पनि, यो पत्र पढ्नको लागि हजुरबुबा हुनुहुन्नथ्यो।
अजयले बाकस बन्द गरेर कोठाबाट निस्किएर बाहिर आँगनमा बसिरहेको थियो। त्यतिकैमा हजुरआमा आइपुग्नु भयो। उहाँले अजयलाई देखेर मुस्कुराउनुभयो अनि छेवैमा आएर सँगै बस्नुभयो।
त्यो मुस्कान कति बहुमूल्य थियो। त्यो मुस्कानले धेरै वर्षदेखि आफ्ना सबै पीडालाई कुशलतापूर्वक लुकाउनु भएको छ। यो संसार र यसको सत्य वास्तवमा धेरै नमिठो छ।
हामीले आफ्नो प्रिय चीज गुमाउँदा कति पीडादायी महसुस हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस बेला हामी केही खाँदैनौँ, कसैसँग कुरा गर्दैनौँ र अर्को किन्न जोड दिन्छौँ। तर त्यति बेला हजुरआमासँग त्यो विकल्प पनि थिएन। दुई छोराछोरी र वृद्ध बुबाको जिम्मेवारीले उहाँलाई कहिल्यै भाँच्चिन दिएन।
आज अजयको मनमा हजुरआमाप्रति माया र सम्मान झनै बढ्यो। उसले हजुरआमालाई अँगालो हालेर रोयो। हजुरआमाले के भयो भनेर सोधिरहनु भएको थियो तर उसले केही भन्न सकेन। उसले के भन्न सक्थ्यो? केवल रोइरहेको थियो।