बागमती, विष्णुमती किनारमा
ऐन, नियम, दफा, उपदफाले
तोके बमोजिम
मापदण्ड विपरीत
बसिरहेका सुकुम्वासी ‘मानवहरू’
राजमार्ग, सडक मापदण्डले
रोके बमोजिम
मापदण्डको बर्खिलाप गरी
भौतिक संरचना बनाइ
बसिरहेका गैरकानुनी ‘मानवहरू’
तिमीहरू!
तिमीहरू बागमती, विष्णुमती किनारबाट
हट्नु पर्छ
राज्यको नीति, नियम बमोजिम
सुन्दर बनाउन दिनुपर्छ
ती किनारहरू
भत्काउनु पर्छ
सडक साँघुराइ
बनेका तिम्रा घरहरू
तिमीहरूले कानुनको बर्खिलाप
गरिरहेका छौ
बिगारिरहेका छौ
कुरूप रङ्ग बनेर
राज्यको सुन्दर क्यानभासमा
कोरिएको कलात्मक चित्र
नेपाल सरकारको लोगो सहित
सूचनाहरूमा
पत्र, परिपत्रहरूमा
राज्य लेख्छ
त्यतिले कहाँ पुग्छ र!
माइकको प्रयोग गरी
स्वरलाई ठू..लो बनाई
लेखेको कुरा सुनाउनु पर्छ भन्दै
राज्य जोडजोडले बोल्छ
चिच्याउँछ
हट्दै गर्दा
हटाउँदै गर्दा
सायद एक जुनी बिताएको
घरबाट बेघर भएको पीडाले होला
ज्यान नै फाल्छन्
एक थान गैरकानुनी भनिएका
सुकुम्वासी मानव
होल्डिङ सेन्टरमा
‘जाडो भयो!’
‘खान पाएको छैन’
‘विद्यालय जान पाएको छैन’
भन्दै
रुन्छ आठ नौ वर्षे बालक
‘म केही बोल्न चाहँदिना’
‘बोल्नलाई शब्द नै छैन’
भक्कानिँदै अनुहार लुकाउँछिन्
एक जना अधबैँसे महिला
चुक जस्तो अँध्यारो
टाढा-टाढासम्म
कहीँ कतै उज्यालो नदेख्दा
हुने अनुहार जस्तै
देखिने तिनीहरूका अनुहारहरू
यता उता चारै तिर
केही खोजे जस्तै
खोजेको कुरा
जति खोज्दा पनि
नपाए जस्तै तिनीहरूका आँखाहरू
खै!
मानवले बनाउने राज्य हो कि!
राज्यले बनाउने मानव हो!
मानवले मानवीय हितको लागि
बनाउने कानुन हो कि!
कानुनले चलाउने मानव हो!
खै!
राज्य ठिक हो कि!
ती तथाकथित गैरकानुनी
मानवहरू ठिक हुन्!
यो मुद्दाको अन्तिम फैसला
कसले
कहिले पो
गर्ला खै!
इतिहासले गर्ला कि!
बहिखाता लिई बस्ने भनिएका
चित्रगुप्तले गर्लान् कि!
राज्य ठिक थियो कि
ती सुकुम्वासी भनिएका
मानवहरू ठिक थिए!
यसको अन्तिम फैसला
कसले
कहिले पो गर्ला खै!