बेस्सरी गाह्रो छ हामीलाई
दुई वटा नाउमा खुट्टा राखेर
द्वैध चरित्रको जीवन जिउन।
शोषण, असमानता र अत्याचारको कुरा गर्दै
भुइँमान्छेको मसिहा बनेर नेता पनि बन्नु छ
अनि तिनै भुइँमान्छेको ढाडमा टेकेर गद्दीमा बस्दै
उनीहरूकै स्वतन्त्रतामाथि बन्देज लगाउने आदेश पनि जारी गर्नु छ।
निर्धाको पसिना कुल्चेर
धन कमाएर धनी पनि बन्नु छ
अनि त्यही धनको केही टुक्रा दान गरेर
महान् समाजसेवीको उपाधि पनि भिर्नु छ।
सुन्दरता भनेको क्षमता, दक्षता,
सकारात्मक सोच र चरित्र हो भनेर
लामो प्रवचन पनि दिनु छ
अनि कृत्रिम प्रसाधन, फिल्टर र आडम्बरको पर्दाभित्र
आफ्नै वास्तविकता लुकाउनु पनि छ।
ग्रामीण जीवन, अर्गानिक खेती र
माटोको महत्त्व गाउनु पनि छ
अनि सहरका चम्किला सडकमा
नयाँ–नयाँ गाडी र ग्याजेटको प्रदर्शन पनि गर्नु छ।
घरमा बाल मजदुर राखेर
सुविधा पनि लिनु छ
अनि बाल दिवसका दिन बालअधिकारको भाषण गर्दै
संवेदनशीलताको अभिनय पनि गर्नु छ।
कारखानामा न्यून ज्यालामा मजदुर राखेर
असीमित मुनाफा पनि कमाउनु छ
अनि मे-फर्स्टका दिन
श्रमिक क्रान्तिको नारा पनि लगाउनु छ।
जुवातास सामाजिक विकृति हो भनेर
अर्ती–उपदेश पनि दिनु छ
अनि रात पर्दा
खालमै पुगेर भाग्य पनि आजमाउनु छ।
दही, मोही, कोदो, मकै, फापर, काफल र
ऐँसेलुको भावुक दर्शन पनि बेच्नु छ
अनि बियर, ह्विस्की, पिज्जा, बर्गर, ड्रागनफ्रुट र किवीलाई
आफ्नो आधुनिक जीवनशैलीको परिचय पनि बनाउनु छ।
कस्तो विडम्बना!
यहाँ सिद्धान्तहरू भाषणका लागि छन्
नैतिकता प्रदर्शनका लागि छ
र चरित्र
परिस्थिति अनुसार फेर्न मिल्ने पोसाक बनेको छ।