राष्ट्रहरू युद्धले मात्र हार्दैनन्,
कहिलेकाहीँ आफ्नै शिक्षा प्रणालीको मौनतामा
आफ्नो भविष्यको विवेक गुमाएर पनि हार्दा रहेछन्।
आज
समयको अदालत बसेको छ
इतिहास साक्षी बनेर उभिएको छ
भविष्य– इजलासको एक कुनामा निःशब्द टोलाइरहेको छ
र, कठघरामा उभिएको छ– नेपालको सार्वजनिक शिक्षा।
समयले सोध्यो– ‘तिमीले राष्ट्रलाई के दियौ?’
शिक्षाले शिर झुकाउँदै भन्यो—
‘म दिन त धेरै चाहन्थेँ
तर मलाई सधैँ अरूका सपना पढाइयो
आफ्नो समाज पढ्न कहिल्यै दिइएन
र, नेपाली माटो र नेपाली बाटोबाट विमुख गराइयो’।
मेरो निधारमा आयातित दर्शनका अक्षर कोरिए
तर यो माटोले आफ्ना बालबालिकाका आँखामा लेखेका
जीवनका पाठ– पाठ्यक्रममा कहिल्यै अटाएनन्।
मलाई पटक–पटक गिजलियो,
प्रयोगशाला बनाइयो, घेरिया, फेरियो
मेरो मौलिकतालाई अंकुरित हुन दिइएन
मेरो आवरण त बदलियो
तर, मेरो आत्माको आवाज– कसलै सुनेन, सुन्न चाहेन।
हरेक सरकार
मेरो नाममा एउटा आयोग जन्माउँथ्यो, जन्माउँछ
हरेक आयोग–मेरो भविष्यको नयाँ नक्सा कोर्थ्यो, कोर्छ
तर नक्सा कोर्ने हातहरू
सिंहदरबार वरपर मात्र हल्लिरहे
मोफसलका विद्यालयको भुइँसम्म कहिल्यै आइपुगेनन्।
मेरा शिक्षकहरूलाई राष्ट्रनिर्माता भनियो
तर उनीहरूका हातमा
विश्वासभन्दा धेरै अविश्वास थमाइयो
भरोसाभन्दा धेरै आशंका बिछाइयो
कल्पनाका पखेटा फुकालेर
प्रतिवेदनका भारी बोकाइयो।
मेरा प्रधानाध्यापकहरू
दीपस्तम्भ हुनुपर्ने थिए
तर कतिपयलाई राजनीतिक हावाको दिशा हेरेर मात्र बल्ने
निर्देशित दियो बनाइयो।
जहाँ नेतृत्वको मूल्य
दृष्टिले होइन, पहुँचले निर्धारण गर्छ,
त्यहाँ विद्यालयका भवन त अग्लिन्छन्,
भविष्य अग्लिँदैन।
मेरा पाठ्यक्रमहरू ज्ञानका नदी हुनुपर्ने थिए
तर धेरै पटक आदेशका नहर बने
मूल्याङ्कनले जिज्ञासा नापेन
स्मरणशक्तिको तौल मात्र जोख्यो।
प्रश्नहरू उत्तर खोज्न जन्मिएका थिए
तर हामीले तिनलाई
घोकाइको कारागारमा थुनेर राख्यौँ।
त्यसपछि
वैदेशिक डिग्रीधारी थरीथरीका शिक्षाविद्हरू आए
उनीहरूले शब्दका महल बनाए
सिद्धान्तका वन उमारिदिए
तर एउटा दुर्गम विद्यालयमा
निर्देशन र फर्मानभन्दा पहिले
छानो चाहिएको थियो, पुस्तक चाहिएको थियो
शिक्षक र सिकाइ सामग्री चाहिएको थियो
भरोसा र विश्वास चाहिएको थियो
त्यो भने देखेनन्।
शिक्षा सम्बद्ध निकायहरू
मेरा अभिभावक हुनुपर्ने थिए
तर धेरै पटक
मेरो नियतिभन्दा नियमका अनुच्छेद जोगाउन व्यस्त रहे
उत्तरदायित्व–कागजमा बाँडियो
जिम्मेवारी–कसैले बोक्न चाहेन।
समयले फेरि सोध्यो—
‘अभियुक्त,
अब तिम्रो पक्षमा भन्न केही बाँकी छ?’
शिक्षाले पहिलो पटक शिर उठायो
उसका आँखामा
आक्रोश थिएन, आँसु पनि थिएन
केवल युगौँदेखिको थकित, त्रसित धुमिल एउटा सपना थियो।
उसले बिस्तारै भन्यो–
म दोषी होइन, मलाई दोषी बनाइएको हो।
म कुनै मन्त्रालयको फाइल होइन, राष्ट्रको अन्तस्करण हुँ।
मलाई परिपत्रले होइन, विश्वासले जोगाउनु पर्छ
मलाई नियन्त्रणले होइन, स्वतन्त्र चिन्तनले जीवित राख्नुपर्छ।
जतिसुकै पाठ्यक्रम फेर
यदि चिन्तन फेरिएन भने
नियमका दस्ताबेजहरू फेरिन्छन्,
सिकाइका गतिविधि र बालबालिकाको भविष्य होइन।
जतिसुकै कानुन लेख
यदि कार्यान्वयनमा नैतिकता जन्मिएन भने
अक्षरहरू त उज्यालिन्छन् तर युगहरू भने अँध्यारै रहन्छन्।
शिक्षकलाई शङ्काले होइन, सम्मानले उभ्याऊ।
प्रधानाध्यापकलाई पदले होइन, दूरदृष्टिले छान
शिक्षालाई सरकारको कार्यकालसँग नबाँध,
राष्ट्रको भाग्यसँग गाँस।
अनि हेर,
पाठ्यपुस्तकका अक्षरहरू मात्र होइन,
मानिसका चेतनाहरू पनि फुल्न थाल्नेछन्।
यति भनेर शिक्षाले आफ्नो कुरा सकिएको संकेत गर्यो।
अदालतमा लामो सन्नाटा छायो
समयले कुनै फैसला सुनाएन,
उसले केवल एउटा ऐना राष्ट्रतर्फ फर्काइदियो।
किनकि समयको अदालतमा
फैसला न्यायाधीशले सुनाउँदैन,
आउँदो पुस्ताले सुनाउँछ।
र, त्यो फैसला
हामीले बोलेका भाषणमा होइन,
हामीले निर्माण गरेका
शैक्षिक संस्कारमा प्रतिबिम्बित हुन्छ।