काँडामा पैताला राखी हिँडिरहेको यात्रुलाई
फुलको बगैँचामा किन नहिँडेको भनी
प्रश्न नगर्नु!
एक तर्फी प्रेममा परेर टुटेको हृदयलाई
माया त संसार हो, खै त प्रेमी
भनी प्रश्न नगर्नु!
च्यातिएको कपडामा हिँडिरहेको
मानवलाई कुनै ब्रान्डेड कपडाको
चर्चा नगर्नु,
त्यहाँ कसैको ब्रान्डको
अनि धनी भनिएको
त्यो रित्तो दिमागले गरेको
चर्चा भन्दा कयौँ गुना गुण त
त्यही पुरानो कपडाले लगाएको हुन्छ,
जसको कारण यो खोक्रो र
आडम्बरी संसारमा उसको लाज
त छोपिदिएको हुन्छ!
थाहा छैन इज्जत इज्जत भन्छन्
मान्छेहरू,
दृष्टिविहीन समाजमा, त्यो इज्जत कहाँ छ?
मनको खोक्रो प्राणीले अर्कालाई
प्रहार गर्न सक्ने इज्जत विहीन
मस्तिष्क जहाँ छ,
साँचो मानव हुनु त एउटा सत्य
र विनम्र शब्दले अर्कोलाई
दिन सक्नु जहाँ छ।
भोकाएको मानवलाई
मीठो किन नखाएको भनी
प्रश्न नगर्नु,
दिनभरि खटेर पनि हातमा परेको
गाँस कुनै लुटेराद्वारा लुटियो,
यो भन्नु भन्दा ठिकै छु भन्नमा
औचित्य देखेपछि
उसको सहयोग माग्न तयार
भएको सोच
चिनेको अनुहारसँग ठोकिएपछि
क्षणभरमै बद्लियो
सोही कारण
उसको निर्णय समेत बद्लियो।
आखिर भोकको कहानी,
च्यातिन आटेको कपडा,
खुट्टाले टेकेको जुत्ता जसको
मुनि बिझाइरहेको काँडा
देखाउन त कहिल्यै नदेखेका
अनुहारहरूसँग मात्र भन्न
सकिने रहेछ,
यहीँबाट उसको दिमागमा
सम्बन्धहरूको परिभाषा
बद्लियो।
गोजी रित्तो थियो,
चाडबाड मुखैमा आएको थियो,
भन्न नसकेको अनगिन्ती
कुरा मनमा थियो,
सहयोग माग्न मिल्ने
एउटा उसको अगाडि रिसाहा
हाकिम थियो,
साँझमा उसले भेट्ने सिंह झैँ
गर्जिने धनी मालिक थियो,
दुवै स्थान
जहाँ नबिराएका तमाम लाञ्छनादेखि
तिरस्कारका सयौँ गोली
खान बरु सजिलो थियो
तर कुनै पनि हालतमा
समस्या भन्न मनाही थियो।
त्यही दिनबाट जीवन उसलाई
तमाम प्रश्नको पुञ्जझैँ लाग्न थाल्यो
जहाँ न्याय, आशा अनि सहयोगको
अपेक्षा राख्न मनाही थियो
जहाँ फेरि बाँच्न सफल भएपछि
यसो आँखा के उघारेको थियो
लाइनपछि लाइन सम्बन्धका
व्यापारीहरूले ऊ आफ्नै
दैलोमा घेरिएको थियो
भोज, दान, सेवा गर्नुपर्नेदेखि
संस्कारका यावत् शिक्षा दिन
तिनै अनुहारहरू आइपुगेका थिए
जुन अनुहारमा हिजो उसले
एक बुँद सहयोगको
आशा त के कल्पनासम्म
गर्न सकेको थिएन
ऊ मूकदर्शक भएर विगतमा फर्कियो
फेरि घेरिएको झुटो संसारमा
एक नजर डुलायो
अन्तिममा आफैँलाई
एक चक्कर लगायो अनि
भन्न थाल्यो कमसेकम
रोग, भोक, शोकमा एक शब्द
दिन नसक्ने यो भिडले
प्रश्न गर्न मात्र सिकेको रहेछ।
आफ्नैलाई गुलाम बनाएर परीक्षा लिन
बानी परकोहरूलाई
अर्को व्यक्ति खुदको मेहनतमा
काँडाको यात्राबाट
खुसीको शिखरमा पुगेको
हेर्न पनि त गाह्रो हुने रहेछ
आखिर जीवनमा बेतुकको
प्रश्न गर्न जन्मेकाहरूलाई
असहाय अवस्थामा नम्रताको
दियो बाल्न अत्यन्त गाह्रो हुने रहेछ!
यो समाजको अराजकहरूको
अभिनयबाट एउटा प्रेरणाको जन्म भयो
जीवन यात्राको कठिन मोडमा
नजर लाउन नसक्नेहरू
निजी जीवनबारे परिचित जस्तो
बनेर प्रश्न नगर्नु
बरु म स्वयंको
आत्माबाट कर्तव्यबोध
गरेर अब जस्तो कठिन
मोडमा पनि अपरिचितसँग
अन्ताक्षरी खेल्न तयार छु।