सोधिरहन्छन्
बा, के गर्नु हुन्छ?
जबाफमा भन्छु केही गर्नु हुन्न
तपाईंको चिनजान पनि छैन
हैन भन्नुस् न के गर्नु हुन्छ
फेरी जबाफ जान्छ
पाखो खन्नु हुन्छ
दैनिकी गुजार्न
हलो जोत्नु हुन्छ
हलोसँग बाको दोस्ती बडो पुरानो हो
मेलापात धाउनुपर्ने हुन्छ
प्रायः
दिनचर्या त्यतै व्यतीत छ
भेडा बाख्राको बथान छ
बाका निम्ति नातिनातिना तिनै हुन्
जस्तो ठान्नु हुन्छ
एक दुई थान भैँसी छन्
थोरै बढी बस्तुभाउ छन्
ती खेलाउन खेलाउँदा
छोराछोरीको यादमा टोलाउँछन्
बाको पहिचान र पेसा यही हो
त्यही पेसा र पहिचानले
उपल्लो पहिचान दियो
त्यो म हुँ
किनकि म अलिअलि लेख्छु
थोरै पढेको छु
राजनीति राजनीति जस्तो
बनी देओस् भन्दै
राजनीति पेसामा छु
यी सबै पहिचानको
बर्ता पहिचान
तिनै मेरो बा हुन्
यसको सबै-सबै श्रेय बालाई जान्छ
किनकि
बा भइदिनु भयो र पो
म छु।