मंगल क्याम्पसको झ्यालबाट नियालिरहँदा
कीर्तिपुर नगरपालिकाको बेवारिसे अवस्थामा उभिएको
त्यो भवनसँग मेरो मनले क्याम्पस जाँदा हरेक बिहान
निरन्तर संवाद गरिरहन्छ
र त्यो भवनले मलाई भन्न थाल्छ
म एउटा निर्जीव भवन हुँ,
जेन्जी आन्दोलनमा जलेर आज भत्किनै लागेको भवन हुँ।
कसैले मेरो आकार बिगारे
कसैले मेरो स्वरूप बिगारे
मेरो रूप, रङ र पहिचान लुटे
अन्ततः मेरो अस्तित्व नै समाप्त पार्ने प्रयास गरे।
तर तिमीमा दया, माया अझै
छ भने एक पटक मलाई नै सोध त
आखिर मेरो दोष के थियो?
र तिमी जलाउन पुग्यौँ
न त मैले कसैलाई चोट पुर्याएँ
न कसैको अधिकार खोसेँ
न कसैको सपना जलाएँ
न कसैको जीवन उजाडेँ
म त केवल एउटा निर्दोष भवन मात्रै थिएँ,
मानिसकै आवश्यकता पूरा गर्न बनाइएको संरचना थिएँ।
म मानवका लागि निर्माण गरिएको एउटा वस्तु थिएँ
र मानवकै सहारामा बाँचेको एउटा निर्जीव अस्तित्व थिएँ
मेरो भित्ताभित्र
तिम्रा कति सपनाहरूले आकार पाए
तिम्रा कति पाइतालाहरूले भविष्य खोजे
तिम्रा कति आँखाहरूले उज्यालो देखे
तर आज
त्यही भित्ताहरू आगोले जलिरहे
त्यही छानाले विध्वंसको धुवाँ फालिरहे
त्यही झ्यालहरूले
मानवतामा भएको विवेक खोजिरहे।
तिमी मलाई बडो गज्जबका
साथ भन्छौ
म निर्जीव छु
मसँग विवेक छैन
मसँग करुणा छैन
मसँग दया, माया र ज्ञान छैन
हो, ठिकै छ
म त निर्जीव वस्तु नै त हुँ।
तर तिमी त सचेत मानव हौ नि
तिमी त विवेकशील छौ नि
तिमी त करुणामय छौ
तिमी त दयालु छौ
तिमी त मायालु छौ
तिमी त ज्ञान र चेतनाले भरिपूर्ण छौ।
त्यसो भए लौ भन त
मेरो अस्तित्व नै सक्काउने गरी किन जलायौ
यदि तिमी साँच्चिकै विवेकशील मानव हौ भने
एक पटक आफ्नो विवेकलाई
बागमतीको खोलामा नमज्जा सित फ्याँकेर हेर
र अनि भन
म विवेकशील मान्छे हुँ भन्ने अहंकार पनि
त्यही पानीसँगै बगाइदेऊ।
होइन भने विवेक भएको मानिसले
निर्दोष अस्तित्वमाथि किन आगो लगाउनु
मानवताको खोल ओढेर
किन अमानवीयताको आगो बाल्नु।
बुझ्छु म
तिमीमा आक्रोश हुन सक्छ
असहमति हुन सक्छ
विरोध हुन सक्छ
व्यवस्था बदल्ने असिम चाहना हुन सक्छ
अन्यायविरुद्ध विद्रोह गर्ने अधिकार पनि हुन सक्छ
तर एउटा निर्जीव भवनमाथि आगो लगाएर
आखिर तिमीले कुन चाहिँ न्याय स्थापित गर्यौ?
तिमीले मेरो अस्तित्व जलायौ
मेरो स्वरूप भत्कायौ
मेरो अस्तित्व मेटाउन खोज्यौ
तर आखिरमा
भन त साँच्चै तिमीले के पायौँ?