समय अगाडिको बाटोमा
लम्किरहेछ
सकिँदै छ, यसका घुम्तीहरू
नयाँ मोड नयाँ आयाम
नयाँ गोरेटो जस्तो भान
पारेर आफ्नै
अनुभवले लम्किँदै छ,
नयाँ क्षितिजको तर्फ
तर दौडिरहेको हर पाइलाहरूले
जीवनको किनारातर्फ लग्दै छ,
त्यो किनारा जहाँ
सबै आवश्यकता
पूर्ण हुन्छ,
एउटा शान्तिपूर्ण सन्नाटा,
न केही गुमाउने डर,
न केही पाउने चाहना,
त्यो स्वर्गीय पल,
आफ्नै आँखा चिम्लिएको दिन
कसैको गुनासो बाँकी नहुने रहेछ!
तर यो जिउँदै केही परिचित
बनेका केही थान कमजोर
मस्तिष्कहरू किन यसरी दिन दहाडै
सम्बन्धको व्यापारमा लागिरहेछन्,
न त डर नै मान्छन् ईश्वरको
न त संकोच मान्छन् आत्माको देवताको,
प्रहार शब्द वाणी जिब्रोको
हतियारको प्रयोगबाट हरदम बिना गल्ती
रेट्छन् मुटु,
आफ्नो स्वार्थ मिल्नेको सबै कर्तुत
लुकाई उडाउँछन् बर्को,
खै पृथ्वीले त कुनै फल फलाएको
वृक्षसँग मागेको देखिन मैले
कुनै पुरस्कार,
आफैले सृष्टि गरेको त्यो बालक जस्तो
उमेरकोसँग पनि हरबखत धर्तीमा ल्याएको
ऋण देखि खै के के हो,
सुन्न पनि नसकिने
प्रश्नै प्रश्नको दिवारमा एउटा थकित
चेहरा देख्न नहुने,
झन् अर्कोले जन्माई हुर्काई गरेको
अलिक कमजोर पात्रलाई त
भेट्न नहुने,
कसैले आफ्नो भनेर प्रहार गरे,
कसैले अर्कोको भनेर प्रहार गरे,
हरेक बखत सम्बन्ध बेच्नेहरूले
त्यही सहने माथि नै बज्र
हानिरहे,
त्यही आफ्नो आँखा अगाडिको
संघर्षरत जीवलाई कसिंगर
बनाइरहे,
छेउमा बसेर सेवा गर्ने र दिनकै
नजिकबाट देख्नेलाई नै
विक्षिप्त पारिरहे,
उमेर ठुलो हुनु भनेको
प्रेम र स्नेहको
दायरा बढ्नु हो न कि
प्रहार गर्ने हतियार रूपी जिब्रोले
जथाभावी बक्नु हो
भनेर बुझाउन पनि सम्बन्धका व्यापारीलाई
नसकिने रहेछ,
दूषित मनको कुनै उपचार नहुने रहेछ,
सहन सक्नेको चोट माथिको मुस्कान
पनि व्यापारीहरूको
चालले त रमाएको नै
देख्ने रहेछ।