पहाडको काखमा थपक्क बसेको सानो गाउँ। प्रायः सबैजसो घरहरू ढुंगा, माटो, खर, स्याउलाबाट बनेका हुन्थे। बिहान हुनै लाग्दा कुखुराको डाकसँगै अङ्गेनाको चुल्होबाट भुरभुर आगो बलेको हुन्थ्यो, भुसको धुवाँ झ्यालका दुलाबाट पतपत बाहिर उँड्थ्यो, र गोठमा बाच्छाले बाँ.. बाँ.. गर्दै माउ-गाईलाई बोलाउँथ्यो।
त्यही गाउँको एउटा माटाको झुपडीमा स्वप्निलको जन्म भएको थियो, ऊ २२/२३ वर्षको भइसक्दा उसका एक भाइ र सानी बहिनी पनि हुर्किसकेका थिए। बाबा बिहानै खेततिर हिँड्नु हुँदा गोरुको घाँटीको घण्टी टुनटुन बज्थ्यो र आमा गोबरले लिपिएको आँगनीको भुइँमा घुँडा टेकेर धान फुरफुर फिजाउँदै सुकाउनुहुन्थ्यो।
घरमा खान दुई/चार मुरी धान पुगे-नपुगेजस्तै हुन्थ्यो, तर बाबा-आमाको आँखामा एउटा सपना भने सधैँ जीवितै हुन्थे। जेठो छोरो पढेर सबैको प्रिय हुनेछ भन्ने थियो। स्वप्निलले त्यो सपनालाई सानैदेखि आफ्नो काँधमा बोक्यो, ठीक त्यसैगरी जसरी ऊ बिहान स्कुल जाँदा भाइबहिनीका किताब पनि आफ्नै झोलामा खचाखच च्याप्थ्यो।
स्वप्निलले गाउँको सामान्य पाठशालाबाट सुरु गरेको पढाइ जिल्ला हुँदै राजधानी सहरसम्म आइपुग्यो। सहरका गाडीहरू भुनभुनाउँदै दौडिन्थे, मानिसहरूको घुइँचो थामी साध्ये र छिरी सक्नु हुँदैनथ्यो। तैपनि हिँड्नै पर्थ्यो
उसलाई कलेज र उसको डेरासम्म दिनहुँजसो। र, स्वप्निल त्यो भीडभित्र आफूजस्तै गाउँबाट आएका थुप्रै अनुहारको बीचमा सधैँ अलिक सानो, अलिक हराएजस्तो महसुस गर्थ्यो। तर त्यो सहरको तिक्ततालाई उसले किताबको पानाभित्र लगेर थिच्ने प्रयास गर्थ्यो।
वर्षौंको जोहो-जुहारपछि, जब उसले शिक्षक बन्ने योग्यता हात पारेको खबर घर पुर्यायो, आमाको आँखाबाट हर्षका आँसु चिहिएला जस्तो भयो। तर त्यो आँसुमा गर्व नै बढी थियो।
‘मेरो छोरो आफैँ काम गरेर खान सक्ने भयो’ उनले छिमेकीलाई सुनाउँदा उनको स्वर फुरुक्क उचालिएको थियो।
तर जीवनले सधैँ सपनाले देखाएको बाटो हिँडाउँदैन भनेजस्तै भयो। स्वप्निललाई एउटा विद्यालयमा कक्षा लिने अवसर मिल्यो। त्यो दिन ऊ बिहानैदेखि ढुकढुक हृदय बोकेर पुगेको थियो, यो त उसको वर्षौंको तपस्याको परीक्षा हुने दिन जस्तै थियो। तर प्रशासनले उसलाई कक्षा दिनबाट रोक्यो।
‘अस्वीकृत भएँ,’ त्यो शब्द उसको कानमा घन्न गएर बज्यो, जसरी टाढाको मन्दिरको घन्टी एकैचोटि बजेर मनभित्रै गुञ्जिरहन्छ। ऊ विद्यालयको आँगनबाट बाहिर निस्कियो, बाटोछेउको पुरानो पीपलमुनि गएर बस्यो, र आँसु भल्भल्ती बगाउन थाल्यो, धेरै बेरसम्म पनि रोकिएन।
त्यो आँसुमा एउटा गुमेको अवसरको पीडा मात्र थिएन, त्यसमा बाबाआमाको वर्षौंको सपना, गाउँको भर र आफ्नै पहिचानको प्रश्न सबै घोलिएर बगेको थियो। ‘के म साँच्चै यसका लागि योग्य छैन?’ प्रश्न उसको छातीभित्र ठक्क ठोकियो, जवाफ आएन।
त्यो रात ऊ ओछ्यानमा लडिबुडी गर्दै बस्यो, आँखा जुधाउन सकेन, उसका परेली पटक्कै जोडिएनन्। भोलिपल्ट थाकेको मन र भारी आँखा बोकेर उसले अत्यन्तै विश्वास राख्ने एक जना प्राध्यापकको पासमा गए। भेट हुँदैथ्यो। भलाकुसारी गर्न बाँकी नै थियो। तथापि प्राध्यापकले उसको अनुहार हेर्नासाथ त्यहाँ लेखिएको पीडा छिनभरमै पढ्नुभयो।
उनी उठे, दराजको कुनाबाट धुलो फुक्दै एउटा पातलो किताब झिके र स्वप्निलको हातमा राखिदिए।
‘पढ, यसमा तिमी आफैँ पाउनेछौ,’ उनले भने। आवाजमा कुनै ठूलो लहड नराखी, तर आँखामा गहिरो आश्वासन बोकेर उनको प्रोफेसरले सम्झाए।
किताबको नाम थियो, ‘टिचर म्यान’, फ्रांक म्याकोर्टको आत्मकथा। स्वप्निलले त्यो किताबको पानाहरू पहिलो रातै उघार्यो। पहिलो पानादेखि नै लाग्यो, यो त कुनै ‘सफल शिक्षक’को गौरवगाथा रहेनछ, यो त एउटा मानिसको स्वीकारोक्ति रहेछ, जसले भन्छ- मैले शिक्षण किताबबाट पढेको होइन, कक्षाकोठाभित्र ठेस लागेर सिकेको हुँ।
म्याकोर्टको पहिलो दिन नै एउटा उडेको स्यान्डविच र विद्यार्थीले फालेको भेडाको जोकबाट खित्का छाडेर सुरु भएको थियो, शिक्षक-तालिमका किताबले कोरेको ‘मिलेमतो शिक्षक’को तस्बिरभन्दा ठीक विपरीत। सपनीमले पाना पल्टाउँदै गयो र भित्रैदेखि केही मुरमुर चलमलिएको महसुस गर्यो, जसरी अँध्यारो कोठाको झ्याल अचानक किचकिच गर्दै खुलेजस्तो।
पहिलो भाग, ‘इट्स अ लङ रोड टु पेडागोजी’, पढ्दा स्वप्निललाई थाहा भयो, म्याकोर्ट पनि ‘शिक्षक नियुक्त’ भइसकेका थिए तर ‘शिक्षक बनिसकेका’ थिएनन्। यो भिन्नता उसको छातीमा ठ्याक्कै गएर बज्यो, उसले पनि ‘शिक्षक’ पदको भारी मात्र बोकेको थियो, त्यसको अर्थ बोकेको थिएन। र त्यो अस्वीकृतिको दिन उसको असफलता थिएन, त्यो त उसको यात्राको सुरुवाती ठेस मात्र रहेछ, जो हरेक साँचो शिक्षकले टेक्नैपर्ने ढुङ्गो रहेछ।
दोस्रो भाग, ‘डङ्की अन अ थिसल’ मा म्याकोर्टले बुझेको कुरा, आफ्नो जीवन नै पढाउने सामग्री बन्न सक्छ, पढ्दा स्वप्निलको मनमा गाउँको हरियो फाँट, आमाको धानको बोझ, बाबाको खेतको माटो, र भाइबहिनीसँगको हु…तु..त्तु…खेल झलझली आँखै अगाडि झुल्किए। के यी सबै कुनै दिन मेरा विद्यार्थीलाई सिकाउने कथा बन्न सक्छन्? यो प्रश्नले उसको मनभित्र एउटा सानो ढोका घर्याक्क खोलिदियो।
तेस्रो भाग, ‘कमिङ अलाइभ इन रुम २०५’ पढ्दा सपनीमको आँखा फेरि रसाए, तर अब त्यो पीडाको आँसु थिएन। म्याकोर्टले विद्यार्थीका गीत, अनुभव, र अनुपस्थितिका बहानासम्मलाई पनि सिकाइको सामग्री बनाएको पढ्दा उसलाई महसुस भयो, शिक्षकको काम ज्ञान ‘ल्याउनु’ मात्र होइन, विद्यार्थीले पहिल्यै बोकेर ल्याएको ज्ञान, कल्पना र अनुभव ‘टिपेर सजाउनु / बुझाउनु’ पनि हो। ऊ आफ्नै भविष्यको कक्षाकोठा कल्पना गर्यो, जहाँ ऊ आफ्ना गाउँले विद्यार्थीलाई तिनको आफ्नै जीवनको मूल्य सिकाउनेछ।
किताब सकिँदा झ्यालबाहिर कुखुराले फेरि कुखुरी-काँ गरेर बास्दै थियो, बिहान हुने बेला भइसकेको प्रस्ट हुन्थ्यो। स्वप्निलले किताब छातीमा च्यापेर लामो सास फेर्यो, जसरी लामो हिँडाइपछि थकित यात्रीले बाटोको छहारीमुनि सुस्केरा हाल्छ। त्यो अस्वीकृतिको दिनदेखि बोकेको भारी अलिक हल्का भएको उसलाई लाग्यो।
त्यो भारी अझै हल्का भइसकेको थिएन, तर अब त्यो बोक्न सकिनेजस्तो भएको थियो किनकि उसले बुझिसकेको थियो, शिक्षक बनिने प्रक्रिया कहिल्यै एकैचोटि पूरा हुने कुरा होइन। यो त ठेस खाने, सुन्ने, तुरुन्तै जोहो गर्ने, सम्झने र विद्यार्थीलाई नम्बर-नतिजाभन्दा पहिले मानिसको रूपमा देख्न सिक्ने एउटा नसकिने यात्रा रहेछ भन्ने बुझ्यो उसले।
महिनौँपछि स्वप्निलले फेरि एउटा तेस्तै अर्को कक्षा लिने अवसर पायो। लियो पनि, यसपल्ट डर बोकेर नभई, विनम्रता बोकेर थियो। कक्षाकोठामा अगाडि बसेका विद्यार्थीका आँखामा उसले आफ्नै गाउँका भाइबहिनीका अनुहार देख्यो, केही समय पहिले उसको प्राध्यापकले दिएको पुस्तक फ्रान्क म्याककर्टको 'टिचर म्यान'को सम्झना गर्यो, पात्रले कसरी आफूलाई परिस्कृत गरेको थियो सम्झियो अनि झस्कियो।
त्यही क्षणमा बुझ्यो, त्यो पीपलको रुखमुनि टिलपिल बगेको आँसु व्यर्थ गएको थिएन; त्यसैले उसलाई आफ्नो प्रोफेसर र त्यो किताबसम्म पुर्याएको थियो र त्यो किताबले उसलाई आफैँसम्म पुर्याएको थियो।
गाउँको माटो-मटकिलोबाट उठेको एउटा छोरो, जो एकपल्ट अस्वीकृतिको भारीले भाँचिनै लागेको थियो, अब एउटा शिक्षकको रूपमा उभिएको थियो। गन्यमान्य मात्र होइन, साँचो गुरु, जसले आफ्नो ठेस, आफ्नो गाउँ र आफ्नो आँसुलाई नै सबैभन्दा ठूलो शिक्षा बनाएको थियो।
अनि ऊ मनमनै गम्दै थियो- ‘धन्य प्रभु, अब मैले यस्तो ज्ञान कहाँबाट पाउँला?’