बन्धनमा मन पर्यो कि
मनको बन्धनमा म परेँ?
यो काम बन्धन हो कि,
मन संगाल्ने मेलो हो?
यो कर्तव्य बोझ हो या
मन अड्याउने टेको हो?
बेकाम हुँदा मनले
कति उटपट्याङ गर्दो हो?
बन्धन मुक्त स्वतन्त्रतामा
युद्ध संग्राम रच्दो हो।
मन चाहन्छ बन्धनमा स्वतन्त्रता
के स्वतन्त्रता नै बन्धन हो?
बन्धनको तातो तावा छोड्दा
के स्वतन्त्रता नै भुंग्रो हो?
गह्रुङ्गो भारी बोक्दा पो
बिसाउँदा दुःख हट्छ
भारी बिना रित्तो हिँड्दा
के कति सुख मिल्छ?
दुःखमा आत्तिन्छ
अनि पीडामा रुन्छ नि मन
दुःख पीडा नहुँदैमा
के प्रफुल्लित हुन्छ यो मन?
मनमनै मग्न छु म
बन्धन काटेर उड्नेछु
बन्धन बिनाको आकाशमा
के म साँच्चै रम्ने छु?
बन्धनमा मन पर्यो कि
मनको बन्धनमा म परेँ?
बन्धनले खुसी रोक्यो कि?
खुसी नै बन्धनमा पर्यो?