फैसला गर्नुपर्छ
फैसलाको संख्याले वृत्ति विकासमा फरक पार्छ
तर याद राख्नुपर्छ
प्रत्येक फैसलाले
न्याय भो कि अन्याय
दोषी खुसी र निर्दोष दुखी भो कि
वा लोकरिझ्याइँ मात्रै भो
विवेकले बोराको सिरानी हाल्यो कि
वा कसैको गुन हाबी भो
सन्तान दरसन्तानको मुहार अगाडि आए कि
जेसुकै भए पनि डगमगाउने छूट छैन
फगत नौ पाँचको जागिर हैन
त्यो कलमले चोबेको मसीको थोपाथोपाले
कुनै निर्दोषको मुटुमा जलन ल्याउन सक्छ
कुनै दोषीलाई अट्टहास दिलाउन सक्छ
जलन र अट्टहासको ककटेलबाट निस्कने धुवाँले
भेदभाव नगरी सबैलाई पोल्छ
दोषीलाई पोल्छ निर्दोषलाई पोल्छ
घरीघरी अगाडि आउने नआउने सबै अनुहार
आफ्नै सहारामा उभिएकालाई पोल्छ
नाक भतभत हुने गरी
पिरो आँखाबाट आँसु चुहिने गरी
त्यति बेला सामुन्नेको मिष्टान्न विष हुनेछ
निलिसकेको भए वमन हुनेछ
त्यतिसम्म त ठिकै हुन्थ्यो
घाँटी पार गर्नै लागेको भए
निल्नु न ओकल्नु हुनेछ
त्यसैले, फैसला मात्रै नहोस्
त्यो कुर्सी न्याय गर्नका लागि हो
फैसला न्यायको जलप रहित होस्
न्यायको तत्त्व सहित होस्।