थाहा छैन किन हो? आज अनायासै सम्झन पुगेँ तिमीलाई।
तिमीलाई सम्झने हक त म राख्दिनँ। तर पनि आज यो दुस्साहस गरेँ। यसो हेर्दा तिमी कोही खास त लाग्दैनौ मेरो। तिमीलाई याद गर्नु पर्ने त्यस्तो कुनै विशेष कारण त छैन। स्मृतिका पानामा कुनै गाढा याद गाडिएका पनि होइनन्। तर पनि आज यी चार भित्ताभित्र बन्दी जीवन बिताइराख्दा, यसै अनायासै सम्झिएँ तिमीलाई।
जिन्दगीसँग एक्लै लड्दालड्दै थाकेर हारेको एउटा स्पष्ट नाता नरहेको परिचित मुसाफिरले तिम्रो नाममा जेलभित्रबाट लेखेका यी अक्षर कुनै संयोग मिलेर पढ्ने मौका पायौ भने, तिमी एक क्षण त पक्कै हाँस्छौ होला। ‘पागल भएछ’ भन्ने स्वाभाविक सोचले मलाई उडाउँछौ होला। तर पनि यो जान्दाजान्दै मेरो कलम तिम्रो नाममा दौडिरहेको छ। खै किन हो?
मैले यो प्रश्न कलम उठाउनुभन्दा धेरै पहिले धेरै पटक आफैँलाई नगरेको होइन। तर बारम्बार घोत्लिँदा पनि दिल-दिमागले कुनै स्पष्ट जवाफ नदिएपछि कापी ओछ्याएर खोलेको हुँ कलम, उतार्न शब्दहरू तिम्रो नाममा खाली कागजमा।
सुरुमा त म यहीँ अल्झिएँ कि तिमीलाई के भनेर सम्बोधन गरौँ। साथी, बहिनी या अरू अन्य कुनै प्रिय शब्द? मलाई माफ गर, म यहाँ पनि अनुत्तरित नै रहेँ।
साथी भनौँ, हामीबीच त्यस्तो प्रभावशाली दोस्ती छ जस्तो लागेन। बहिनी भनौँ, त्यो भावनात्मक साइनोले स्थान पनि त लिएन नि, होइन?
अरू के भनौँ त?
भयो छोड, केही नभनौँ।
सायद यहीँ नै उचित होला। किनकि हाम्रो सम्बन्ध पनि त त्यस्तै छ होला। कुनै नाम दिन नमिल्ने। कुनै स्पष्ट आकार नभएको। मेरो यो वाक्यको अर्थ अर्थोक अनुचित होइन। तिमी मलाई गलत नबुझिदेऊ। तर पनि आज तिमीलाई सम्झँदा म यहीँ रमाएँ।
आखिर कुनै सम्बन्ध नै नरहेकी एक विवाहितालाई किन सम्झिएँ? जोसँग कहीँ कुनै मोडमा कुनै किसिमको घनिष्ठता रहेन। कुनै विशेष किसिमको यादगार क्षणले स्मृतिका खाली पानामा एकै धर्को कोरेका छैनन्। आखिर किन सम्झेँ त तिमीलाई यसरी?
सायद मेरो यो अनुचित सम्झनालाई तिमीले नरुचाउन सक्छौ? सायद यसले तिमीलाई नकारात्मक असर पुर्याउन सक्छ। तर पनि थाहै नभएर किन हो, खै, जान-अन्जानमै यो दुस्साहस गरेँ। आज अनायासै तिमीलाई सम्झिएँ म। क्षमा चाहन्छु।
हेर न, यहाँ समय धेरै गुज्रियो। म जेल बसेको पनि करिब दुई वर्ष भयो। दुई वर्ष छोटो अवधि पक्कै होइन। यो बीचमा म तिम्रो छोरो अक्षर फुटाउँदै जमिनमा हिँडेको दृश्य स्पष्टसँग देख्न सक्छु। यो अवधिमा म धेरै कष्टकर क्षणबाट गुज्रिएँ। अझै पनि म निकै कठोर समयको सामना गरिरहेको छु। तर म यहाँ मेरो दुःखका पोका खोलेर तिमीलाई झर्को लगाउने पक्षमा छैन।
म त बस तिम्रा ख्यालमा यसै हराउन चाहन्छु। तिमीलाई कल्पेर एकान्तमा एक्लै हाँस्न चाहन्छु अनि त्यो हाँसो समेटेर फर्कन चाहन्छु आफ्नै यथार्थमा। तिमी मेरा यी ख्याललाई अनुचित नसोच। ममा यसको हेक्का छ। मलाई त्यो हक छैन कि म मेरा यी भावहरू तिमीसामु व्यक्त गर्न सकूँ।
म तिमीलाई यो कुरामा आश्वस्त पार्न चाहन्छु कि म मेरो कलमलाई सीमारेखामा समेट्न प्रयत्नशील रहनेछु। तर पनि कैयौँ कुराहरू आफ्नो बसमा नहुँदो रहेछ। मानिस त मात्र एक पानीजहाजमा सवार यात्री रहेछ। ऊ केही गर्न सक्छ भने मात्र त्यो जहाजमा बस्न सक्छ।
जिन्दगी नामको त्यो जहाजलाई समय नामको पानीले जता लैजान्छ, मानिस त खाली त्यतै बहन बाध्य हुँदो रहेछ। कहीँ कतै सजिलो मोड आए हाँसिदिने नि, कतै अप्ठ्यारो मोड आए रोइदिने। मानिस त मात्र कलाकार न रहेछ। खै किन हो, ऊसँग यात्रा आफ्नै दिशामा बदल्ने सामर्थ्य नहुँदो रहेछ।
खै किन हो, सबैभन्दा शक्तिशाली प्राणी भनेको मानिस आफ्नै जीवनको अगाडि यति लाचार हुँदो रहेछ? यसैको परिणाम हो आज हाम्रो जीवन, जो तिमी तिम्रो ठाउँबाट आफ्नो हिसाबले अनि म मेरो ठाउँबाट मेरो हिसाबले जिइरहेका छौँ। मलाई कम्तीमा हामी दुई यो मामलामा समान छौँ जस्तो लाग्छ। हामी आफ्नो-आफ्नो हिसाबले आ-आफ्नो पानीजहाजमा त चढ्यौँ, तर अब अगाडि के?
एउटा गहिरो प्रश्नचिह्न छ। अनि मेरो त बहुत अन्धकार अनि दर्दनाक वर्तमान। म अपेक्षा गर्छु, तिम्रो चाहिँ केही सुधारिएको होस्। फागुन सिधिएर आउने वसन्त मात्र आफ्नो औपचारिकता निभाएर नजाओस्। केही रङ्गीन फूलका कलिला, मधुरा पालुवा छोडेर जाओस्। केही सुमधुर बास्नाका इत्र छरेर जाओस्। कोही परबाट हेर्नेको लागि तिम्रो परिवेश मगमग बासाइरहोस्।
म कामना गर्छु तिम्रो लागि, समयको चालसँगै बगिरहने खोलाले तिम्रा दुःखका पोका तिमीलाई नसोचेरै बगाइदिओस्। साँझको चञ्चल बतास तिम्रो चौखटमा तिमीलाई बेग्लै शीतलता प्रदान गरोस्। दूर क्षितिजमा अस्ताउन लागेका घामका गाढा ताता किरणले तिम्रा नयनलाई चमकता प्रदान गरोस्।
अनि जब मध्य वर्षातमा तिमी आफ्नो आडमा आफ्नो छोरोलाई राखेर त्यो क्षितिज नियाल्छौ, त्यहाँ पोतिएका रङ्गी इन्द्रेणीले केही थान रङ तिमीलाई सापटी दिएर जाऊन्। जीवन तिम्रो रङ्गीन रङहरूले भरियोस्, हर घडी, हर प्रहर त्यो उल्लासमय रहोस्। यी रङहरूको अभावमा तिमीलाई फागु कुर्नु कतै नपरोस्।
यदि मेरो प्रार्थनाले काम गर्छ भने म यस समय तिम्रै लागि कामना गरिरहेको छु। तिमी सधैँ खुसी रहनु। तिमी हाँसेको दृश्य त मेरा यी अभागी नजरले आफूमा सजाउन त पाएका छैनन्। तर म कल्पना गर्न सक्छु, तिम्रो मुस्कान बहुत मधुरो हुन्छ। म कामना गर्छु, त्यो मधुरताले तिमीलाई सधैँ नै छोपिरहोस्। नहोस् तिम्रो कुनै किसिमको छोडपत्र त्यससँग कहिल्यै पनि। रहिरहोस् कोमल भाव, बास्ना अनि फूलझैँ। तिमी नि तिम्रो खुसीको। तिम्रो मुहार नि तिम्रो मुस्कानको।
म एक परिचित मुसाफिरको नाताले तिम्रो लागि कामना गर्नबाहेक अरू केही गर्न म असमर्थ छु। न त म तिमीलाई माया गर्न सक्छु, न त तिमी मेरो नजरमा कहिल्यै घृणाको पात्र नै बन्न सक्छौ।
न त म तिमीलाई सम्झन सक्छु। न त तिरस्कारको अधिकारी नै हुँ। तर पनि आज आफैँमा अल्झिरहँदा खै किन हो, सम्झन पुगेँ तिम्रो सुन्दर मुहार अनि दौडिन पुग्यो यो पागलको बौलाहा कलम तिम्रो नाममा।
थाहा छैन खै सही गरेँ कि गलत गरेँ। तिम्रो नाममा कोरेको यो पत्र कत्तिको उचित हो? त्यसको नि जवाफ छैन मसँग।
जे हो, आफ्नै उल्झनमा उल्झिरहँदा मैले यो दुस्साहस गरेँ।
मेरो यो दुस्साहसले तिमीलाई केही चोट पुर्याउन गएको भए क्षमा चाहन्छु।
क्षमा गर।
उहीँ परिचित मुसाफिर।