मन परेको पुतलीले
बसाइँ सारेदेखि
मलाई बगैँचाको रहर मरेको छ!
फूलहरू अझै उस्तै फुल्छन्
मौसम पनि उस्तै छ,
हावामा उस्तै सुगन्ध छ,
तर आँखाले भने
फूलमा सुन्दरता खोज्न छोडेको छ अचेल!
कुनै बेला
हजारौँ फूलहरूका बाबजुद पनि
पुतलीको पछिपछि
मन बगैँचाभरि दौडिन्थ्यो
उसका पखेटाहरूमा
आफ्ना रहरहरू सजाउँथेँ!
आज बगैँचा उही छ,
फूलहरू उस्तै गरी फुलेका छन्
र
दिइरहेका छन् सुगन्ध!
तर त्यहाँ छैनन् त केवल दुइटा कुरा
एक-मनको बास
र दुई-रहरको पुतली!
उसले यात्रा तय गरेको त्यो आकाशमा
म हरेक साँझ
सम्झन्छु उसले भरेको अन्तिम उडान
र एकोहोरो टोलाउँछु
उसको स्मृतिमा!
खै, दोष दिऊँ कसलाई
पुतलीलाई कि मनलाई?
सायद पुतलीको दोष थिएन
बगैँचा चाहर्नु
उसको स्वभाव हुनुपर्छ!
तर मन!
मन पनि त निर्दोष थियो,
निश्चल थियो,
पवित्र गङ्गाजलजस्तै!
दोष त विश्वासको पो रहेछ
उडान भर्नेहरूलाई
सधैँभरि बस्लान् भनी
विश्वास गर्नुमा!
खैर, केही छैन!
अलिकति दोष
भाग्यको नाममा भाग लगाइदिन्छु
र बुझाउँछु
क्षणिक चित्त!
फूलहरू उस्तै गरी फुल्दा पनि
मनमा वसन्त आउँदैन
बगैँचाहरू रङ्गीबिरङ्गी फूलहरूले सजिँदा पनि
आँखाहरू रमाउँदैनन्
फूलहरू त धेरै रहेछन्
तर मन परेको पुतली
मात्र एउटै रहेछ!
अचेल साँझ पर्दा
फूलसँग होइन,
उसले छोएको हावासँग
मनले संवाद गर्छ
उसको सम्झना नै
मेरो बगैँचाको सुगन्ध बनेको छ
र उसको अनुपस्थितिले
रङहरूलाई
फिक्का बनाइदिएको छ!
अब थोरै गुनासो छ
आफ्नै विश्वास र भाग्यसँग
बाँकी पछुतो छैन
किनभने
मैले बल्ल बुझ्न पाएको छु
मरुभूमिमा पानीको महत्त्व
पानी हुँदा होइन,
पानी हराएपछि थाहा हुँदो रहेछ!
त्यही एउटा पुतली
बसाइँ सरेपछि
बगैँचा त उही छ
फूलहरू पनि उस्तै छन्
तर मेरो मनबाट
बगैँचा हेर्ने रहर
हराएको छ सधैँ सधैँका लागि!