धेरैले भनेको सुनिन्छ— थोरै रक्सी खाँदा स्वास्थ्यलाई खासै हानि गर्दैन, बरू केही फाइदा पुग्न सक्छ।
तर पछिल्ला वर्षहरूमा भएका विभिन्न वैज्ञानिक अध्ययनले यो धारणा गलत साबित गर्दै लगेका छन्। मुटुरोग, स्मरणशक्ति कमजोर हुने समस्या र अन्य स्वास्थ्य जोखिमसँगै रक्सीले क्यान्सरको सम्भावना पनि बढाउने अनुसन्धानहरूले देखाएका छन्।
विशेषगरी महिलामा हुने स्तन क्यान्सरसँग रक्सीको बलियो सम्बन्ध रहेको पाइएको छ।
विभिन्न अध्ययन अनुसार दिनमा एक गिलास वाइन वा रक्सीको एक औसत पेग खाने महिलामा दीर्घकालीन रूपमा स्तन क्यान्सर हुने जोखिम करिब १० प्रतिशत बढी हुने द वाशिङटन पोस्टले लेखेको छ।
सिएटलस्थित फ्रेड हच क्यान्सर सेन्टरमा क्यान्सर रोकथाम सम्बन्धी अध्ययन गर्ने चिकित्सक एन्न म्याकटियरननका अनुसार रक्सीको मात्रा बढ्दै जाँदा स्तन क्यान्सरको जोखिम पनि बढ्छ।
सन् २०१७ मा प्रकाशित एक महत्त्वपूर्ण अध्ययनकी प्रमुख लेखकसमेत रहेकी उनले स्तन क्यान्सरको दृष्टिकोणबाट रक्सीको कुनै पनि मात्रा पूर्णतः सुरक्षित नरहेको बताएकी थिइन्।
विश्व स्वास्थ्य संगठनले पनि सन् २०२३ मा रक्सीको कुनै सुरक्षित मात्रा नरहेको निष्कर्ष सार्वजनिक गरेको थियो। अमेरिकन क्यान्सर सोसाइटीले समेत सन् २०२० मा आफ्नो सिफारिस परिवर्तन गर्दै रक्सी नपिउनु नै उत्तम हुने बताएको थियो।
सन् २०१९ को तथ्यांकमा आधारित एक अध्ययनले स्तन क्यान्सरका करिब १६ प्रतिशत घटना रक्सीसँग सम्बन्धित देखाएको छ।
यो संख्या बिआरसिए–१ र बिआरसिए–२ जस्ता आनुवंशिक उत्परिवर्तन (जेनेटिक म्युटेसन) को हिस्साभन्दा पनि बढी भएको वाशिङटन पोस्टले जनाएको छ। ती दुई वंशाणुगत जीनमा हुने परिवर्तनले स्तन क्यान्सर जोखिम १० प्रतिशतले बढाउँछन्।
अमेरिकाको मायामी विश्वविद्यालय अन्तर्गत सिल्भेस्टर कम्प्रिहेन्सिभ क्यान्सर सेन्टरकी स्तन क्यान्सर विशेषज्ञ कारमेन काल्फाका अनुसार महिलाहरू परिवारमा कसैलाई स्तन क्यान्सर भएको इतिहास छ कि छैन भन्नेमा सचेत हुन्छन्।
वंशाणुगत जोखिम परिवर्तन गर्न नसकिए पनि रक्सी नखाएर आफ्नो जोखिम घटाउने प्रयास गर्न सकिन्छ। तर धेरै महिलालाई रक्सी र स्तन क्यान्सरबीचको सम्बन्धबारे जानकारी नै छैन।
रक्सीले कसरी बढाउँछ स्तन क्यान्सरको जोखिम?
वैज्ञानिकहरूले रक्सी खाँदा क्यान्सर गराउन सक्ने विभिन्न कारण पहिचान गरेका छन्। स्तन क्यान्सरको हकमा दुई प्रमुख कारण देखिएका छन्।
पहिलो, शरीरमा रक्सी पच्ने क्रममा उत्पादन हुने एसिटाल्डिहाइड नामक विषाक्त रसायन हो।
रक्सीमा इथानोल नामक पदार्थ हुन्छ। शरीरले यसलाई पचाउने क्रममा एसिटाल्डिहाइडमा परिणत गर्छ। यो रसायनले कोषभित्र रहेको डिएनएमा क्षति पुर्याउन सक्छ।
डिएनएलाई शरीरको कोष कसरी बन्ने, बढ्ने र काम गर्ने भन्ने निर्देशन राख्ने संरचनाका रूपमा बुझ्न सकिन्छ। सामान्य अवस्थामा शरीरले डिएनएमा भएको क्षति आफै मर्मत गर्ने क्षमता राख्छ।
तर रक्सीका कारण पटक पटक क्षति भइरहँदा शरीरको मर्मत प्रणालीले त्यसलाई सम्हाल्न नसक्ने अवस्था आउन सक्छ। त्यसपछि कोषको वृद्धि र विभाजन अनियन्त्रित हुन सक्छ। यही प्रक्रियाले क्यान्सरको विकासका लागि अनुकूल अवस्था सिर्जना गर्छ।
दोस्रो, शरीरमा इस्ट्रोजेन नामक हर्मोनको मात्रा बढ्नु हो।
रक्सी खाँदा रगतमा इस्ट्रोजेनको मात्रा बढाउन सक्छ। शरीरमा एरोमाटेज नामक इन्जाइमको सक्रियता बढ्दा पुरूष हर्मोनका रूपमा चिनिने एन्ड्रोजन इस्ट्रोजेनमा परिणत हुने प्रक्रिया तीव्र हुन सक्छ।
इस्ट्रोजेनको मात्रा बढी हुँदा यस हर्मोनको प्रभावमा बढ्ने स्तन क्यान्सरका कोषलाई थप प्रोत्साहन मिल्न सक्छ। स्तन क्यान्सरमध्ये सबैभन्दा धेरै देखिने प्रकार पनि इस्ट्रोजेन रिसेप्टर पोजिटिभ क्यान्सर हो। रक्सी सेवनसँग यसको सम्बन्ध तुलनात्मक रूपमा बलियो देखिएको छ।
कति रक्सी पिएको भन्ने कुराले पार्छ फरक
स्तन क्यान्सरको जोखिममा रक्सीको मात्रा सबभन्दा महत्त्वपूर्ण पक्षमध्ये एक हो। जति धेरै रक्सी खाइन्छ, जोखिम त्यति नै बढ्ने अनुसन्धानहरूले देखाएका छन्।
सन् २०२६ मा प्रकाशित एक विश्लेषण अनुसार धेरै रक्सी पिउने महिलामा नपिउनेको तुलनामा स्तन क्यान्सरको जोखिम ५२ प्रतिशत बढी हुन्छ। बियर, वाइन वा कडा मदिरा कुन पिएको भन्ने कुराले खासै फरक पार्दैन। किनकि यी सबैमा हुने इथानोललाई शरीरले पचाउने प्रक्रिया उस्तै हुन्छ।
सानै उमेरमा रक्सी खान सुरू गर्नु पनि जोखिमपूर्ण हुन सक्छ। कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक मेरी बेथ टेरीका अनुसार किशोरावस्थादेखि युवावस्थासम्म स्तनका कोषहरू पूर्ण रूपमा परिपक्व भइसकेका हुँदैनन्। यस्तो अवस्थामा क्यान्सर गराउन सक्ने पदार्थको असरप्रति स्तनका तन्तु बढी संवेदनशील हुन सक्छन्।
सानै उमेरमा रक्सी पिउने बानी बस्दा पछि नियमित सेवन गर्ने वा रक्सीको लत लाग्ने सम्भावना पनि बढ्छ। यसले जीवनभर शरीरमा रक्सीको असर बढाउँछ।
एकै पटक धेरै रक्सी पिउने (बिन्ज ड्रिंकिङ) बानीले पनि जोखिम बढाउन सक्छ। एकै बसाइमा चार वा त्योभन्दा बढी औसत पेग खानुलाई सामान्यतया बिन्ज ड्रिंकिङ भनिन्छ।
केही अनुसन्धानले यस्तो बानीले सामान्य सेँवनबाट हुने जोखिमभन्दा अतिरिक्त जोखिम निम्त्याउन सक्ने देखाएका छन्। विशेषगरी ४० वर्षभन्दा कम उमेरका महिलामा यसको असर बढी हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।
रक्सी घटाउँदा जोखिम कम गर्न सकिन्छ?
रक्सी सेवन र स्तन क्यान्सरबीच सम्बन्ध रहेको प्रमाण पर्याप्त भए पनि रक्सी छाडेपछि जोखिम कति समयमा र कति घट्छ भन्ने विषयमा भने अनुसन्धान सीमित छ। तर उपलब्ध अध्ययनहरूले रक्सी घटाउँदा फाइदा पुग्ने देखाएका छन्।
टेरीको अनुसन्धान टोलीले इस्ट्रोजेन रिसेप्टर पोजिटिभ स्तन क्यान्सरको जोखिम रक्सी घटाउँदा कम हुन सक्ने देखाएको छ।
त्यस्तै धेरै रक्सी पिउने महिलाले थोरै घटाउँदा पनि निरन्तर र धेरै पिइरहनेको तुलनामा स्तन क्यान्सरको जोखिम कम हुने अर्को अध्ययनले देखाएको छ।
तर पहिल्यै स्तन क्यान्सर भइसकेका महिलामा रक्सी छाड्दा रोग पुनः बल्झिने जोखिम कति घट्छ भन्ने विषयमा स्पष्ट निष्कर्ष आइसकेको छैन।
अनि सानै उमेरमा रक्सी खाँदा भएको केही क्षति पूर्ण रूपमा उल्ट्याउन नसकिने सम्भावना पनि छ। उमेर जति भए पनि रक्सी घटाउँदा वा नखाँदा भविष्यमा थप क्षति हुनबाट जोगिन सकिन्छ।
अनुसन्धानकर्ताहरूका अनुसार रक्सीले स्तन क्यान्सरको जोखिममा पार्ने प्रभाव सञ्चित हुँदै जाने खालको हुन्छ। अर्थात् लामो समयसम्म शरीर रक्सीको सम्पर्कमा रहँदा जोखिम बढ्दै जान्छ।
त्यसैले जीवनभर खाने रक्सीको कुल मात्रा जति कम हुन्छ, स्तन क्यान्सरको जोखिम घटाउने सम्भावना त्यति नै बढी हुन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)