कल्पना गर्नुस्, तपाईं एउटा व्यापार चलाउनुहुन्छ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष तपाईंको बिक्री खासै बढेको छैन। ग्राहकबाट उठाउने पैसा लगभग उस्तै छ।
तर तीन महिनाको हिसाब निकाल्दा तपाईंको नाफा झन्डै डेढ गुणा बढेको छ।
यो कसरी सम्भव भयो?
यसको एउटा सम्भावित जबाफ हो — तपाईंले खर्च घटाउनुभयो।
अर्को सम्भावना पनि छ।
अघिल्लो वर्ष केही ग्राहकबाट उधारो उठ्दैन भनेर तपाईंले सम्भावित घाटाको हिसाब राख्नुभएको थियो। यस वर्ष त्यो पैसा उठ्यो। त्यसैले पहिले अनुमान गरेको घाटा घटाउन पाउनुभयो।
नेपालका वाणिज्य बैंकहरूको पछिल्लो तीन महिनाको वित्तीय विवरणमा लगभग यस्तै रोचक कथा भेटिन्छ।
बैंकमा पैसा राख्नेले पाउने ब्याजदर घटेको छ। बैंकबाट ऋण लिनेले तिर्नुपर्ने ब्याजदर पनि घटेको छ।
यही बेला बैंकहरूको नाफा भने उल्लेख्य बढेको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ, असोज) मा देशका २० वाणिज्य बैंकले करिब १९ अर्ब रूपैयाँ खुद नाफा कमाएका छन्। यो अघिल्लो वर्षको त्यही अवधिभन्दा झन्डै ४६ प्रतिशत बढी हो।
अर्थात्, बैंकहरूले तीन महिनामा गत वर्षभन्दा करिब ६ अर्ब रूपैयाँ बढी नाफा कमाए।
अब प्रश्न उठ्छ – बैंकको नाफा यति धेरै कसरी बढ्यो?
यसको जबाफ खोज्दै जाँदा अर्को रोचक तथ्य भेटिन्छ।
बैंकहरूको मुख्य व्यवसायबाट हुने खुद ब्याज आम्दानी करिब एक प्रतिशत मात्र बढेको छ। यो आम्दानी अघिल्लो वर्षको पहिलो तीन महिनामा करिब ४९ अर्ब १० करोड रूपैयाँ थियो। अहिले करिब ४९ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ।
अर्थात्, मुख्य ब्याज व्यवसायबाट हुने कमाइ करिब ४७ करोड रूपैयाँ बढ्दा अन्तिम नाफा भने झन्डै ६ अर्ब रूपैयाँ बढ्यो।
त्यसो भए बाँकी नाफा कहाँबाट आयो?
यो बुझ्न पहिले बैंकले पैसा कसरी कमाउँछ भन्ने हेरौं।
बैंकले सर्वसाधारणबाट निक्षेप (बचत) उठाउँछ। त्यसबापत ब्याज दिन्छ। अनि त्यही पैसाबाट ऋण प्रवाह गर्छ र ब्याज असुल्छ।
ऋणबाट उठेको ब्याजमा निक्षेप लगायत स्रोतका लागि तिरेको ब्याज घटाउँदा खुद ब्याज आम्दानी निस्किन्छ।
राष्ट्र बैंकको पछिल्लो दुई महिनाको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले निक्षेपमा दिएको औसत ब्याजदर ३.११ प्रतिशत छ। कर्जाको औसत ब्याजदर ६.३८ प्रतिशत छ। यी दुई दरबीच ३.२७ प्रतिशत विन्दुको अन्तर छ।
यसको अर्थ बैंकले ३.२७ प्रतिशत नै नाफा कमायो भन्ने होइन। किनभने निक्षेप र कर्जाको ब्याजदर फरक फरक रकमका आधारमा निकालिएको औसत हो। बैंकको वास्तविक खुद ब्याज आम्दानी थाहा पाउन उसले ऋणबाट कति ब्याज उठायो र निक्षेप लगायत स्रोतमा कति ब्याज तिर्यो भन्ने कुल रकम तुलना गर्नुपर्छ।
ब्याजदर घट्दा बैंकको आम्दानीमा कस्तो प्रभाव पर्छ भन्ने बुझ्न प्राइम कमर्सियल बैंकको पछिल्लो वित्तीय विवरण हेरौं।
प्राइमले अघिल्लो वर्षको पहिलो तीन महिनामा करिब ५ अर्ब ९० करोड रूपैयाँ ब्याज आम्दानी गरेको थियो। यस वर्ष यस्तो आम्दानी घटेर ५ अर्ब ३० करोड रूपैयाँ भएको छ।
अर्थात् बैंकले ब्याजबाट उठाउने रकम करिब ५९ करोड रूपैयाँ घट्यो।
तर यहाँ अर्को हिसाब पनि छ जसले फरक कुरा देखाउँछ।
अघिल्लो वर्ष बैंकले निक्षेप लगायत स्रोतमा करिब ३ अर्ब ४९ करोड रूपैयाँ ब्याज खर्च गरेको थियो। अहिले त्यो खर्च घटेर २ अर्ब ७० करोड रूपैयाँ पुगेको छ।
अर्थात् ब्याज खर्च करिब ७९ करोड रूपैयाँ घट्यो।
ब्याजबाट उठाउने पैसा घटे पनि तिर्नुपर्ने पैसा अझ धेरै घटेकाले बैंकको खुद ब्याज आम्दानी करिब २० करोड रूपैयाँ बढ्यो। यसरी प्राइमको खुद ब्याज आम्दानी आठ प्रतिशतभन्दा बढी बढेको छ।
यो उदाहरणले एउटा महत्त्वपूर्ण कुरा देखाउँछ।
बैंकले ऋणबाट पहिलेभन्दा कम ब्याज उठाए पनि निक्षेप लगायत स्रोतको खर्च अझ धेरै घटाएर खुद ब्याज आम्दानी बढाउन सक्छ।
तर यहाँ अर्को तथ्य पनि छ।
प्राइमको खुद ब्याज आम्दानी बढे पनि अन्तिम खुद नाफा करिब ५.५ प्रतिशत घटेको छ।
किन?
बैंकको पछिल्लो विवरणमा कर्जा तथा अन्य सम्भावित नोक्सानी सम्बन्धी खर्च करिब ४८ करोड बाट बढेर ६२ करोड रूपैयाँ पुगेको छ। कर्मचारी र अन्य सञ्चालन खर्च पनि बढेको छ।
यसले बैंकको नाफा ब्याजबाट हुने कमाइमा मात्रै निर्भर हुँदैन भन्ने स्पष्ट पार्छ।
अब प्राइमको उदाहरणबाट फेरि समग्र बैंकिङ क्षेत्रतर्फ फर्कौं।
२० वटा बैंकको खुद ब्याज आम्दानी करिब १ प्रतिशत बढ्दा खुद नाफा झन्डै ४६ प्रतिशत बढेको छ। यो अन्तरको एउटा महत्त्वपूर्ण कारण सम्भावित कर्जा नोक्सानीका लागि गर्नुपर्ने खर्चमा आएको परिवर्तन हो।
सामान्य भाषामा यसलाई यसरी बुझ्न सकिन्छ।
मानौं, एउटा बैंकले कुनै व्यवसायीलाई एक करोड रूपैयाँ ऋण दिएको छ।
व्यवसायीको व्यापार बिग्रियो। उसले नियमित किस्ता तिर्न सकेन। बैंकलाई ऋणको केही रकम नउठ्ने जोखिम भयो।
यस्तो अवस्थामा बैंकले नियम अनुसार सम्भावित नोक्सानीको रकम आफ्नो हिसाबमा राख्नुपर्छ।
मानौं, त्यसबापत २० लाख रूपैयाँ खर्चको व्यवस्था गर्नुपर्यो। यसले बैंकको नाफा घटाउँछ।
तर केही समयपछि व्यवसायीको कारोबार सुध्रियो। उसले ऋण तिर्न थाल्यो। अब बैंकले पहिले अनुमान गरेको जोखिम कम हुन सक्छ। नियामकीय तथा लेखांकन मापदण्ड पूरा भए पहिले खर्चका रूपमा राखिएको रकममध्ये केही फिर्ता लेखांकन गर्न सकिन्छ। त्यसो गर्दा त्यस अवधिको नाफा बढ्छ।
यसरी नाफा बढ्न बैंकले नयाँ ऋण दिएर थप ब्याज कमाएकै हुनुपर्छ भन्ने छैन। पुरानो ऋणको जोखिम घट्दा पनि नाफामा सकारात्मक प्रभाव पर्न सक्छ।
यस्तो व्यवस्थालाई कर्जा नोक्सानी खर्च घट्नु वा पहिले गरिएको नोक्सानी व्यवस्थाको उल्टो लेखांकन भनिन्छ।
बैंकहरूको पछिल्लो वित्तीय विवरणमा कर्जा असुली र नोक्सानी व्यवस्था सम्बन्धी खर्चमा आएको कमीले समग्र नाफा वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।
तर सबै बैंकको अवस्था एउटै छैन।
उदाहरणका लागि, राष्ट्रिय वाणिज्य बैंकको पहिलो त्रैमासिक खुद नाफा करिब ६० करोडबाट बढेर १ अर्ब ६५ करोड रूपैयाँ पुगेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी करिब ३७ प्रतिशत बढेको छ।
अर्कोतर्फ, कर्जा तथा अन्य नोक्सानी सम्बन्धी खर्च करिब ९७ करोडबाट घटेर ३६ करोड रूपैयाँमा झरेको छ। अर्थात् राष्ट्रिय वाणिज्य बैंकमा खुद ब्याज आम्दानी बढ्नु र सम्भावित नोक्सानी खर्च घट्नु दुवैले नाफा सुधारमा सहयोग गरेका छन्।
उता माथि उदाहरण दिएको प्राइम कर्मसियलमा भने खुद ब्याज आम्दानी बढ्दा पनि नोक्सानी तथा अन्य खर्चका कारण अन्तिम नाफा घटेको छ।
यी दुई बैंकको उदाहरणले एउटा कुरा प्रस्ट पार्छ— बैंकको नाफाको रकम मात्र हेरेर उसको वास्तविक व्यवसायको अवस्था बुझ्न सकिँदैन।
बैंकको नाफा उल्लेख्य बढेका बेला खराब कर्जाको समस्या भने समाप्त भएको छैन।
खराब कर्जा भनेको तोकिएको अवधिसम्म ऋणीले साँवा वा ब्याज नियमित नतिरेको तथा नियामकीय मापदण्ड अनुसार निष्क्रिय वर्गमा परेको कर्जा हो। यस्ता कर्जा बढी हुँदा बैंकलाई भविष्यमा थप नोक्सानी हुने जोखिम रहन्छ।
पुराना केही कर्जाको असुली सुधारिँदा बैंकको नाफा बढ्न सक्छ। तर त्यही समयमा अरू ऋणीको भुक्तानी बिग्रिए समग्र खराब कर्जाको समस्या कायमै रहन सक्छ। त्यसैले नाफा बढ्नु र बैंकको कर्जा जोखिम पूर्ण रूपमा कम हुनु एउटै कुरा होइन।
त्यसैगरी बैंकले कमाएको सबै खुद नाफा सेयरधनीलाई बाँड्न पाउँदैन।
नियामकीय व्यवस्था अनुसार विभिन्न कोषमा रकम राख्नुपर्ने हुन्छ। नउठेको ब्याज, विगतको सञ्चित नोक्सानी र अन्य समायोजनले वितरणयोग्य नाफालाई प्रभावित गर्छन्।
त्यसैले बैंकको खुद नाफा उल्लेख्य बढे पनि सेयरधनीले त्यही अनुपातमा लाभांश पाउने निश्चित हुँदैन।
अब बैंकहरूको नाफाको यो कथालाई देशको अर्थतन्त्रसँग जोडेर हेरौं।
अहिले बैंकिङ प्रणालीमा तरलता पर्याप्त छ। ब्याजदर पनि केही वर्षअघिको तुलनामा कम छ। राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दुई महिनासम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको वार्षिक वृद्धिदर ७.२ प्रतिशत छ।
अर्थात् कर्जा विस्तार भइरहेको छ, तर लगानीयोग्य रकमको उपलब्धताका तुलनामा कर्जा विस्तारको गति सीमित छ।
सामान्यतया ब्याजदर घट्दा उद्योगी तथा व्यवसायीले ऋण लिएर नयाँ लगानी गर्ने सम्भावना बढ्छ। तर ब्याज सस्तो हुँदैमा सबै व्यवसायी ऋण लिन तयार हुँदैनन्।
मानौं, तपाईं ५० लाख रूपैयाँ ऋण लिएर एउटा कारखाना खोल्ने योजनामा हुनुहुन्छ। ८ प्रतिशत ब्याजदरमा वर्षभरि मूलधन उस्तै रहँदा चार लाख रूपैयाँ ब्याज तिर्नुपर्छ। ब्याजदर घटेर ६ प्रतिशत भयो भने खर्च एक लाख रूपैयाँ कम हुन्छ।
तर तपाईंले उत्पादन गरेको सामान बजारमा बिक्छ भन्ने विश्वास छैन भने के गर्नुहुन्छ? ब्याज सस्तो भयो भन्दैमा लगानी गर्नुहुन्छ?
सम्भवतः गर्नुहुन्न।
किनभने लगानी गर्ने निर्णय ब्याजदरले मात्र निर्धारण गर्दैन। बजारको माग, सम्भावित आम्दानी, जोखिम र भविष्यप्रतिको विश्वास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।
अर्कोतर्फ खराब कर्जाको दबाब भएका बैंकहरू पनि नयाँ ऋण दिँदा सावधान हुन सक्छन्। त्यसैले बैंकसँग ऋण दिने क्षमता हुनु र त्यो रकम नयाँ उद्योग वा व्यवसायमा लगानी हुनु फरक कुरा हुन्।
बैंकले नाफा कमाउनु आफैमा नराम्रो कुरा होइन। नाफाले बैंकको पूँजी र नोक्सानी सहन सक्ने क्षमता बलियो बनाउन सहयोग गर्छ। स्वस्थ बैंकिङ प्रणाली अर्थतन्त्रको आवश्यक आधार हो। तर बैंकको नाफा बढ्यो भन्दैमा देशको अर्थतन्त्र पनि त्यही अनुपातमा सुधार भयो भन्न मिल्दैन।
पछिल्लो त्रैमासिक विवरणले यही भिन्नता देखाउँछ।
बैंकहरूले ब्याज खर्च, पुरानो कर्जाको जोखिम र अन्य खर्च व्यवस्थापनमा आएको परिवर्तनबाट पनि नाफा बढाउन सक्छन्। यसको अर्थ नयाँ उद्योग, उत्पादन वा रोजगारीमा लगानी पनि सोही अनुपातमा बढ्यो भन्ने होइन।
त्यसैले बैंकहरूको यो त्रैमासिक नतिजाबाट दुईवटा फरक निष्कर्ष निकाल्नुपर्छ।
पहिलो, बैंकहरूको समग्र नाफा उल्लेख्य सुधारिएको छ।
दोस्रो, त्यो सुधारको सबै कारण नयाँ कर्जा विस्तार वा नियमित ब्याज व्यवसायको वृद्धि होइन।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कुन बैंकले कति नाफा कमाए?
|
बैंक
|
नाफा
|
|
नबिल बैंक
|
२ अर्ब ५५ करोड ५१ लाख रूपैयाँ
|
|
ग्लोबल आइएमई बैंक
|
२ अर्ब ३१ करोड ३८ लाख रूपैयाँ
|
|
राष्ट्रिय वाणिज्य बैंक
|
१ अर्ब ६४ करोड ९६ लाख रूपैयाँ
|
|
एभरेस्ट बैंक
|
१ अर्ब २५ करोड २७ लाख रूपैयाँ
|
|
प्राइम कमर्सियल बैंक
|
१ अर्ब १८ करोड ७६ लाख रूपैयाँ
|
|
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
|
१ अर्ब १८ करोड १४ लाख रूपैयाँ
|
|
एनएमबी बैंक
|
१ अर्ब १६ करोड ४२ लाख रूपैयाँ
|
|
कुमारी बैंक
|
१ अर्ब ७ करोड ४५ लाख रूपैयाँ
|
|
सानिमा बैंक
|
१ अर्ब ५ करोड १४ लाख रूपैयाँ
|
|
सिद्धार्थ बैंक
|
८५ करोड १५ लाख रूपैयाँ
|
|
नेपाल बैंक
|
८३ करोड २१ लाख रूपैयाँ
|
|
स्ट्यान्डर्ड चार्टर्ड बैंक
|
६७ करोड १४ लाख रूपैयाँ
|
|
हिमालयन बैंक
|
६५ करोड ४८ लाख रूपैयाँ
|
|
लक्ष्मी सनराइज बैंक
|
६५ करोड ३३ लाख रूपैयाँ
|
|
प्रभु बैंक
|
६० करोड ३७ लाख रूपैयाँ
|
|
नेपाल एसबिआई बैंक
|
५५ करोड २२ लाख रूपैयाँ
|
|
माछापुच्छ्रे बैंक
|
५५ करोड ११ लाख रूपैयाँ
|
|
एनआइसी एसिया बैंक
|
१२ करोड ७४ लाख रूपैयाँ
|
|
कृषि विकास बैंक
|
१० करोड ९२ लाख रूपैयाँ
|
|
सिटिजन्स बैंक
|
१० करोड ७७ लाख रूपैयाँ
|