भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमलीको माला केवल फूलको माला होइन, आत्मीयता, प्रेम र दीर्घायुको कामनासँग जोडिएको सांस्कृतिक प्रतीक पनि हो।
यही सांस्कृतिक महत्त्वका कारण तिहार नजिकिँदै गर्दा मखमली फूलको माग बढ्छ।
मखमली फूलको विशेषता यसको सुन्दरता मात्रै होइन, लामो समयसम्म नसुक्ने र रङ नखुइलिने गुण पनि हो। फूल टिपिसकेपछि पनि यसको स्वरूप लामो समयसम्म उस्तै रहन्छ। त्यसैले मखमलीलाई दीर्घायु र कहिल्यै नओइलाउने सम्बन्धको प्रतीकका रूपमा लिने गरिन्छ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र सफलताको कामना गर्दै सप्तरंगी टीकासँगै मखमलीको माला लगाइदिन्छन्। फूल ओइलाए पनि दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध नओइलाओस् भन्ने भावनात्मक सन्देश यसले बोकेको हुन्छ।
यही धार्मिक तथा सांस्कृतिक महत्त्वका कारण मखमली फूल तिहारका लागि आवश्यक फूलमध्ये एक बनेको छ। तिहार नजिकिएसँगै यसको माग बढ्ने भएकाले किसानका लागि यो आम्दानीको राम्रो अवसर पनि हो।
काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा सयपत्री र मखमली फूलको खेती हुँदै आएको छ। भक्तपुरको गुण्डु मखमली फूल खेतीका लागि विशेष रूपमा परिचित छ। तिहार नजिकिँदै गर्दा यतिबेला सूर्यविनायक नगरपालिका–स्थित गुण्डुका किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ।
स्थानीय किसानसँगै बाहिरबाट आएर बसोबास गर्नेहरू पनि यहाँ फूल खेतीमा संलग्न छन्। तिनैमध्ये एक हुन् प्रमिला घतानी-दुलाल।
प्रमिला पछिल्लो दुई वर्षदेखि गुण्डुमा फूल खेती गर्दै आएकी छन्। पहिले घरमै बसेर दिन बिताउने उनी अहिले फूल खेतीमै रमाउन थालेकी छन्। उनका लागि यो खेती आम्दानीको माध्यम मात्रै होइन, समयको सदुपयोग र आफ्नै खर्च आफैँ जुटाउने अवसर पनि बनेको छ।
करिब डेढ रोपनी जग्गा भाडामा लिएर उनले खेती गरिरहेकी छन्। त्यसमध्ये करिब आधा रोपनीमा मखमली फूल लगाएकी छन्। बाँकी जग्गामा बस्नका लागि टहरो बनाएकी छन् भने केही भागमा तरकारी खेती पनि गरेकी छन्।
प्रमिलालाई फूल खेतीबारे पहिलेबाटै सामान्य जानकारी थियो। उनको मामाघरमा पनि फूल खेती हुने भएकाले फूलको प्रकृति र खेती गर्ने तरिकाबारे केही अनुभव थियो। तर आफैँले खेती सुरू गरेको भने दुई वर्ष मात्रै भयो।
'पहिला खासै केही काम गर्दिनथेँ। घरमै बस्ने हो। यहाँ आएपछि खाली हात बस्नुहुँदैन भन्ने लाग्यो। आफ्नै खर्च आफैँ उठाउन पाए परिवारलाई पनि सहयोग हुन्छ भनेर फूल खेती सुरू गरेँ,' उनले भनिन्।
फूल खेतीका लागि उनले प्रतिरोपनी वार्षिक ३० देखि ३५ हजार रूपैयाँसम्म जग्गा भाडा तिर्नुपर्छ। खेतीको अनुभव बटुल्दै गरेकी उनले यस वर्ष करिब एक हजारदेखि १२ सयसम्म माला तयार हुने अनुमान गरेकी छन्।
फूलको गुणस्तर र बजारको मागअनुसार एउटा माला २१ देखि ४० रूपैयाँसम्ममा बिक्री हुने गरेको उनी बताउँछिन्। फूल राम्रो फुलेको समयमा मूल्य पनि राम्रो पाइन्छ। तर बजारमा फूलको उत्पादन धेरै हुँदा मूल्य घट्ने समस्या पनि छ।
यस वर्ष अत्यधिक वर्षाका कारण फूल खेतीमा अपेक्षाकृत राम्रो उत्पादन हुन नसकेको उनको अनुभव छ। यसअघि व्यापारीलाई फूल दिने गरेकी प्रमिला अब भने आफैँ बजारमा लगेर माला बिक्री गर्ने सोचमा छिन्।
तीन सदस्यीय परिवारकी प्रमिलाका लागि फूल खेतीबाटै सबै घरखर्च धान्न पुग्ने अवस्था बनिसकेको छैन। तर जग्गाको भाडा तिर्न र तरकारीलगायत घरायसी आवश्यकताका केही खर्च जुटाउन यसले सहयोग गरेको छ।
'पहिला घरमै बसेर अरूको कमाइमा निर्भर हुनुपर्थ्यो। अहिले आफूले काम गरेअनुसार आम्दानी हुन्छ। आफ्नो खर्च आफैँ उठाउन पाउँदा खुसी लाग्छ,' उनले भनिन्।
फूल खेतीसँगै तरकारी उत्पादन पनि गर्दै आएकी प्रमिलाले अब यसलाई विस्तार गर्ने योजना बनाएकी छन्। थप जग्गा खोजेर टनेल निर्माण गर्ने र फूलसँगै अन्य तरकारी खेती पनि गर्ने उनको सोच छ।
दुई वर्षको अनुभवले उनलाई खेतीप्रति थप उत्साहित बनाएको छ। घरायसी काममा सीमित रहँदै आएकी उनी अहिले श्रम र समयलाई आम्दानीमा बदल्ने प्रयासमा छिन्।
तिहारमा मखमलीको माला लगाउँदा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता सम्झिइन्छ। तर त्यो माला तयार हुन किसानको श्रम, समय र मेहनत पनि उत्तिकै जोडिएको हुन्छ।
गुण्डुका खेतमा फूल टिप्दै र माला गाँस्दै गरेका प्रमिलाहरूको व्यस्तताले तिहारको सांस्कृतिक र आर्थिक दुवै पक्षलाई उजागर गरिरहेको छ।
-1793462933.jpg)
-1793462933.jpg)
-1793462933.jpg)
-1793462933.jpg)
-1793462933.jpg)
-1793462933.jpg)
-1793462933.jpg)
-1793462932.jpg)
-1793462932.jpg)
-1793462932.jpg)
-1793462932.jpg)
-1793462932.jpg)
-1793462932.jpg)
-1793462931.jpg)
-1793462931.jpg)
-1793462931.jpg)
-1793462931.jpg)