आमालाई
पहिला म भन्थेँ—
‘आमा, हजुरलाई कस्ती भए हुन्छ?’
अहिले
आमा भन्नुहुन्छ—
‘बाबु,
केटी भए हुन्छ...
जस्ती भए पनि हुन्छ।’
जसले भेट्यो, भन्छ—
‘बिहे कहिले?’
जहिले सुन्दा सुन्दै,
लाग्न थाल्यो—
मेरो नाम नै हो कि,
‘बिहे कहिले?’
प्रेम गर्ने बेलामा
‘पढाइ बिग्रिन्छ’ भनियो,
चाहिएन।
अहिले
बिहे गर्ने उमेर भयो,
केटी पाइएन।
सबै साथीले बिहे गरे,
मैले के गरेँ?
घरमा पहिला भन्नुहुन्थ्यो—
‘केटीसँग नबोल,
बोल्नै पर्दैन।’
अहिले भन्नुहुन्छ—
‘कोही छ भने भन है,
बाबु,
लुकाउनु पर्दैन।’
केटी हेर्न यति धाएँ
चिया पनि यति खाएँ
ग्यास्ट्रिक पाइयो
तर बिहे गर्ने केटी पाइएन।
थाहा छैन,
कुन चिया दिने घरले
छोरी दिन मान्छन्।
यति त ढुक्क भन्छु—
कुन घरमा कति चिनी खान्छन्?
कुन घरमा कति चियापत्ती खान्छन्?
प्रश्नहरू
यसरी सोधिए—
घर छ?
कार छ?
जागिर छ?
विदेश छ?
मनमा लाग्थ्यो,
दुलाहा खोजेको कि
बैंकको प्रबन्ध निर्देशक?
कि मैले कुनै लोकसेवाको
इन्टरभ्यु दिँदैछु?
अन्तिममा भन्थे—
‘खबर गर्छौँ।’
राति खबर आयो—
‘मिलेन।’
कोहीसँग धन मिलेन
कोहीसँग मन मिलेन
कोहीसँग घर मिलेन
कोहीसँग थर मिलेन
सबै मिलेकीसँग
कुण्डली मिलेन।
हुन त,
एउटीसँग सबै मिल्यो।
लाग्यो—
एउटी त पाएँ
अब कोही चाहिएन।
मनमनै सोचेँ—
अब त भन्नुपर्दैन,
‘बिहे गर्ने केटी पाइएन।’
मिल्यो भनेर आएँ
साथीभाइलाई
पार्टी खुवाएँ।
साथीहरू पार्टी खाँदै थिए,
उनले फोन गरिन्,
‘सुन्नु न, हुन्छ भने
किनकि
बिहेको कर घरकै छ,
माफ गर्नु है, मेरो त अर्कै छ।'
धत्...
भन्न मन थियो
अब त कोही चाहिएन
तर...
फेरि
उही भन्नुपर्ने भयो—
बिहे गर्ने केटी पाइएन।
आजभोलि फोन बज्यो कि मन फुरुङ्ग हुन्छ
लाग्छ,
कतै केही पाइन्छ कि!
फोन उठाउँदा उता बैंक भन्छ:
‘सर, बिहेको लागि सस्तो लोन छ, चाहिन्छ कि?’
भन्न मन लाग्छ,
हे भगवान् हजुरको लोन अहिले चाहिएन,
यहाँ
बिहे गर्ने केटी पाइएन।
एकदिन ठट्टै-ठट्टामा
आमालाई सोधेँ—
‘आमा, किन हरेक पटक
बिहे गर, बिहे गर भन्नुहुन्छ?’
आमाले
केहीबेर मलाई हेर्नुभयो
बिस्तारै भन्नुभयो—
‘बाबु,
बुहारी होइन,
म त मेरो ठाउँमा
तिम्रो चिन्ता गर्ने
एउटा मन खोजिरहेकी छु।
म पछि तिमीलाई 'घर जाऔँ'
जस्तो लाग्ने एउटा
कारण खोजिरहेकी छु।
म नभएको दिन
ज्वरो आउँदा
तिम्रो निधार छाम्ने
एउटा हात होस्।
कुनै दिन
तिमी चुपचाप बसेको देखेर
'के भयो, म छु नि?'
भनेर
तिम्रो मौनता बुझ्ने
कोही होस्।।
‘बाबु,
म त सधैँ तिम्रो साथमा रहन्नँ।
त्यो बेला म
आमाको आँखातिर हेर्न सकिनँ।
मसँग
आमालाई दिने
एउटै कुरा छ—
मौन
किनकि...
बिहे गर्ने केटी पाइएन।