तीन महिनाअघि बैंकको सेयर किनेकाहरूको लगानीको मूल्य अहिले बढेको हुन सक्छ।
किनभने, यो अवधिमा बैंकिङ समूहको सेयर मूल्य १२ प्रतिशतभन्दा धेरै बढेको छ। जबकि समग्र सेयर बजारको वृद्धि २ प्रतिशत हाराहारी छ।
पछिल्लो समय सेयर बजारका धेरैजसो समूहको प्रदर्शन कमजोर भइरहेको छ। बैंकिङ समूहले भने राम्रै गति लिएको देखिन्छ।
भदौ ९ देखि मंसिर ९ गतेसम्म (पछिल्लो तीन महिना) को तथ्यांक हेर्दा बैंकिङ उपसमूहको परिसूचक १२.७४ प्रतिशत बढेको छ। भदौ ९ मा परिसूचक १४३७.१३ विन्दु थियो। बुधबार कारोबार बन्द हुँदा १६२०.१६ विन्दुमा पुगेको छ।
यही अवधिमा नेप्से परिसूचक २५९४.२७ बाट बढेर २६४७.६५ विन्दुमा पुगेको छ। प्रतिशतका आधारमा तुलना गर्दा बैंकिङ समूहको वृद्धिदर समग्र बजारको भन्दा ६ गुणाभन्दा बढी हो।
यो अन्तरले पछिल्लो तीन महिनामा बैंकिङ समूहप्रति लगानीकर्ताको आकर्षण बढेको संकेत गर्छ। तर यो निरन्तर बढेको होइन। बीचमा घटबढ हुँदै अहिलेको विन्दुमा आइपुगेको हो।
कात्तिक १२ मा बैंकिङ उपसमूहको परिसूचक १,६१८.२३ विन्दुमा पुगेको थियो। त्यसपछि मंसिर १ मा १५७०.०६ विन्दुमा झर्यो। त्यसयता फेरि बढ्दै मंसिर ९ गते १,६२०.१० विन्दुमा पुगेको छ।
कात्तिक १२ देखि मंसिर १ सम्म परिसूचक २.९८ प्रतिशत घटेको थियो। त्यसपछि मंसिर ९ सम्म ३.१९ प्रतिशत बढेको छ।
यो समूहको पछिल्लो एक वर्षको उच्च विन्दु १६३२.६० हो। अहिलेको परिसूचक त्यो विन्दुभन्दा जम्मा ०.७६ प्रतिशत मात्र तल छ।
बैंकिङ समूहको सूचक बढ्दा सबै बैंकको सेयर मूल्य भने समान दरमा बढेको छैन।
पछिल्लो तीन महिनामा लक्ष्मी सनराइज बैंकको सेयर भाउ ३३ प्रतिशतभन्दा बढी बढेको छ। एनएमबी बैंकको २० प्रतिशत, प्राइम कमर्सियल बैंकको १७ प्रतिशत र ग्लोबल आइएमई बैंकको १६ प्रतिशत हाराहारी बढेको छ।
त्यसैगरी नेपाल बैंकको सेयर मूल्य १५ प्रतिशतभन्दा बढी, कृषि विकास बैंकको १४ प्रतिशत, सिटिजन्स बैंकको १४ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १३ प्रतिशत हाराहारी बढेको छ।
माछापुच्छ्रे बैंकको सेयर मूल्य झन्डै १२ प्रतिशत, कुमारी बैंकको ११ प्रतिशतभन्दा बढी र सिद्धार्थ बैंकको ६.८२ प्रतिशत बढेको छ।
यो तुलना बोनस तथा हकप्रद सेयरका लागि समायोजन गरिएको मूल्यमा आधारित छ। यसमा नगद लाभांश समावेश छैन।
सेयर मूल्यमा मात्रै होइन, कारोबार रकममा पनि बैंकिङ समूहको उल्लेख्य हिस्सा देखिएको छ।
मंसिर ९ गते बैंकिङ समूहमा करिब १ अर्ब ५५ करोड २७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन नेप्सेको कुल कारोबार रकम ६ अर्ब १४ करोड ६० लाख रूपैयाँ थियो। अर्थात्, कुल कारोबार रकमको एक चौथाइभन्दा बढी बैंकिङ समूहको थियो।
बैंकिङ समूहको सेयर किन बढिरहेको छ त?
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकको कुल खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४६ प्रतिशत बढेको छ। गत वर्ष पहिलो तीन महिनामा १३ अर्ब रूपैयाँभन्दा बढी खुद नाफा कमाएका बैंकहरूले यसपालि १९ अर्ब रूपैयाँभन्दा बढी कमाएका छन्।
बैंकहरूको नाफा बढ्नुको एउटा प्रमुख कारण सम्भावित कर्जा नोक्सानीबापत छुट्ट्याउनुपर्ने रकम घट्नु हो।
गत वर्ष पहिलो तीन महिनामा बैंकहरूले यसबापत २० अर्ब १४ करोड रूपैयाँ छुट्ट्याएका थिए। यसपालि ११ अर्ब ९ करोड रूपैयाँ मात्रै छुट्ट्याएका छन्।
यही अवधिमा बैंकहरूको खुद ब्याज आम्दानी भने एक प्रतिशत पनि बढेको छैन। अघिल्लो वर्षको पहिलो तीन महिनामा ४९ अर्ब २० करोड रूपैयाँ खुद ब्याज आम्दानी भएकामा यसपालि ४९ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ।
बैंकले ब्याजबाट गरेको आम्दानीमा उसले तिर्नुपर्ने ब्याज खर्च घटाएपछि बाँकी रहने रकमलाई खुद ब्याज आम्दानी भनिन्छ। यही नै बैंकहरूको आम्दानीको मुख्य स्रोत हो।
बैंकहरूको खुद ब्याज आम्दानी खासै बढ्न नसकेको अवस्थामा भने पछिल्लो एक वर्षमा निक्षेप र कर्जाको ब्याजदरमा आएको परिवर्तन पनि हेर्नुपर्छ।
नेपाल राष्ट्र बैंकको 'तीनमहिने आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन– २०८३' अनुसार असोजमा बैंकहरूको औसत आधार दर ४.६९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो दर ५.५६ प्रतिशत थियो।
निक्षेपको औसत ब्याजदर ३.८५ प्रतिशतबाट घटेर ३.०७ प्रतिशतमा आएको छ। कर्जाको औसत ब्याजदर पनि ७.५० प्रतिशतबाट घटेर ६.३१ प्रतिशतमा आएको छ।
बचतमा दिने ब्याजदर घट्दा बैंकको ब्याज खर्च कम हुन सक्छ। तर कर्जाको ब्याजदर पनि घट्दा ब्याजबाट हुने आम्दानीमा दबाब पर्छ। अहिले निक्षेपको ब्याजदरभन्दा कर्जाको ब्याजदर धेरै घटेको छ।
औसत कर्जा ब्याजदर र निक्षेप ब्याजदरबीचको अन्तर अघिल्लो वर्ष ३.६५ प्रतिशत विन्दु थियो। अहिले त्यो घटेर ३.२४ प्रतिशत विन्दुमा आएको छ।
यो अन्तरले मात्रै बैंकको खुद ब्याज आम्दानी कति हुन्छ भन्ने देखाउँदैन। तर बैंकले निक्षेपमा दिने र कर्जाबाट लिने ब्याजदरबीचको अन्तर साँघुरिँदै गएको भने देखाउँछ। यस्तो अवस्थामा बैंकहरूको खुद ब्याज आम्दानी बढाउन कर्जा विस्तार महत्त्वपूर्ण हुन्छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २.८ प्रतिशत बढेर ८५ खर्ब ९ अर्ब ८२ करोड रूपैयाँ पुगेको छ। यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशत बढेर ६० खर्ब ४१ अर्ब रूपैयाँभन्दा बढी छ।
अघिल्लो वर्षको पहिलो तीन महिनामा निजी क्षेत्रमा जाने कर्जा १.५ प्रतिशत मात्रै बढेको थियो। वाणिज्य बैंकहरूले मात्रै निजी क्षेत्रमा प्रवाह गरेको कर्जा पनि यसपालि ३.२ प्रतिशत बढेको छ।
निक्षेप बढ्नु र कर्जा विस्तारमा सुधार आउनु बैंकिङ क्षेत्रका लागि सकारात्मक कुरा हो। निक्षेप बढ्दा बैंकसँग कर्जा लगानी गर्न सक्ने स्रोत बढ्छ। तर निक्षेप बढ्दैमा बैंकको आम्दानी बढिहाल्दैन। त्यो रकम कति कर्जा लगानी गर्न सकिन्छ र कर्जाबाट कति आम्दानी हुन्छ भन्ने महत्त्वपूर्ण हुन्छ।
अहिले कर्जा विस्तारमा केही सुधार देखिए पनि यसको गति अझै सुस्त छ। कर्जा विस्तारको गति बढ्न निजी क्षेत्रको लगानी, उद्योग–व्यवसायको गतिविधि र कर्जाको माग बढ्नुपर्छ।
त्यस्तै खराब कर्जाको चुनौती पनि कायमै छ।
राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तमा समग्र बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात ५.८२ प्रतिशत छ। खराब कर्जा बढ्दा बैंकले सम्भावित नोक्सानीका लागि थप रकम छुट्ट्याउनुपर्ने हुन सक्छ। त्यसले बैंकको नाफा र सेयरधनीलाई लाभांश दिने क्षमतामा असर पार्छ।
यसपालि बैंकहरूले सम्भावित कर्जा नोक्सानीबापत छुट्ट्याएको रकम उल्लेख्य रूपमा घटेको छ। यसको अर्थ खराब कर्जा घटेको भन्ने चाहिँ होइन।
आगामी दिनमा बैंकहरूको खराब कर्जा कति घट्छ र कर्जा असुलीमा कति सुधार आउँछ भन्ने महत्त्वपूर्ण हुनेछ।
नाफामा आएको सुधार, घट्दो ब्याजदर र कर्जा विस्तारमा देखिएको सुधारले आगामी दिनमा बैंकहरूको वित्तीय अवस्था थप राम्रो हुने अपेक्षा लगानीकर्तामा बढाएको हुन सक्छ।
कर्जा विस्तार सुस्त रह्यो, खराब कर्जाको दबाब हटेन र नियमित आम्दानी बढेन भने चाहिँ बैंकहरूको नाफामा आएको अहिलेको वृद्धि टिकाउन कठिन हुनेछ।
***