राजन लामिछानेले 'बदिया' भाले बिक्रीबाट राम्रो आम्दानी लिइरहेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका–१७ झिङ्गैका ३३ वर्षीय राजनले वर्षमा एक सय वटाभन्दा बढी बदिया भाले उत्पादन गर्छन्।
लोकल भाले चार महिनाको पुगेपछि (बास्न थालेपछि) बन्ध्याकरण गरी अण्डकोष निकालेर खसी पारिएको भालेलाई 'बदिया' भनिन्छ। यस्तो भालेको मासु मानिसहरूले विशेष मनपराउने राजनले बताए।
राजनले २०७५ सालदेखि बदिया भालेको व्यवसाय सुरू गरेका हुन्।
'वर्षमा तीनदेखि पाँच लाख रूपैयाँसम्मको व्यापार हुन्छ। लागत कटाएर करिब आधा रकम, अर्थात् डेढदेखि साढे दुई लाख रूपैयाँ बचत हुन्छ,' राजनले भने।
दाङबाट काठमाडौं लगायत ठूला सहरका बजारमा बदिया भालेको माग हुन्छ। राजन धेरैजसो आफ्नो सामाजिक सञ्जालमार्फत अर्डर लिन्छन्।
'सामाजिक सञ्जालमा तस्बिर राखेपछि विशेषगरी दसैंतिहार जस्ता पर्वमा माग ह्वात्तै बढ्छ। स्थानीय बजार तथा गाउँघरमा पनि बिक्छ। बढी माग जाडोमा हुन्छ,' उनले भने।
दसैंतिहारको माग पूर्ति गर्न उनले यसपालि ६ महिनाअघि (गत चैत) मै ५० वटाभन्दा बढी लोकल भाले बदिया बनाएर पालेका थिए। बदिया बनाएको कम्तीमा ६ महिनापछि भाले खान उपयुक्त मानिन्छ।
'६ महिना नपुग्दै बेचेको भालेले अपेक्षित स्वाद दिन सक्दैन,' उनले भने।
बदिया भालेको व्यापार राम्रो हुँदै गएपछि उनले तीन वर्षअघि 'ठाकुर बाबा बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म' दर्ता गरे।
तीन वर्षअघि काठमाडौं पठाएको बदिया भालेबारे नागढुंगा प्रहरीले फोन गरेर सोधपुछ गरेपछि राजनले फर्म दर्ता गरेका थिए।


'संक्रमित कुखुरा बाहिरबाट काठमाडौं भित्रिन सक्ने आशंका प्रहरीको थियो। त्यो कुरा ठिकै लाग्यो। फर्म भएपछि कारोबार पनि सहज हुने भयो,' उनले भने। 
राजन यो व्यवसायबाहेक शिक्षण पेसा पनि गर्छन्। उनी विभिन्न तीन वटा निजी कलेजमा प्लस–टू तहमा सामाजिक र नेपाली विषय पढाउँछन्।
शिक्षणसँगै बदिया भालेको व्यवसाय पनि गरिरहने उनको योजना छ।
'भालेलाई साँझ–बिहान फुर्सदको समय दिए पुग्छ। अघिपछिका दिनमा अध्यापन लगायत अन्य काममा ध्यान दिन सक्छु,' उनले भने।
राजनका श्रीमती र पढ्दै गरेका छोराले पनि काममा सहयोग गर्छन्। भाले चराउने, दानापानी दिने काम परिवारको सहयोगले सहज भएको उनले बताए।
राजन गाउँघरबाट साना भाले किनेर पाल्छन्। यसका लागि लोकल कुखुरा पाल्ने स्थानीय किसानसँग सम्पर्क गरेका छन्। यसरी किनेका भाले चार महिनापछि बदिया बनाउँछन्।
भालेको बन्ध्याकरण उनी आफै भने गर्दैनन्। स्थानीय पशुविज्ञ/प्राविधिकलाई घरमै बोलाएर गराउँछन्।
राजनका अनुसार लोकल भालेभन्दा बदिया भाले खँदिलो र स्वादिलो हुन्छ। मूल्य पनि सामान्य भालेभन्दा बढी हुन्छ। उनको गाउँमा लोकल भाले ६ सय रूपैयाँ किलोमा पाइन्छ भने बदिया कम्तीमा एक हजार २ सय रूपैयाँ पर्छ।
बदिया भाले सामान्यतया दुई, साढे दुई किलो हुन्छ। राजनले एउटा भाले दुई हजार ५ सयदेखि तीन हजार ६ सय रूपैयाँसम्म बेचेका छन्।
खुला ठाउँ भएका गाउँघरमा थोरै जमिन भए पनि बदिया भाले पाल्न सहज हुने राजन बताउँछन्। सजिलो र कम लगानीमा गर्न सकिने भएकाले यो आकर्षक व्यवसाय बनेको उनले बताए।

'पढ्दै गरेका विद्यार्थी, गृहिणी वा जोकोहीले पनि साना चल्ला हुर्काएर, बदिया बनाएर बेच्दा दोब्बर मूल्य पाउन सक्छन्,' राजनले भने, 'मैले आफ्ना विद्यार्थीलाई पनि लोकल भाले पालेर निश्चित समयमा बदिया बनाएर बेच्दा पढाइ खर्च व्यवस्थापनमा सजिलो हुन्छ भनेर सिकाउँदै आएको छु।'
पछिल्ला केही वर्षयता बदिया भाले दाङको प्रमुख पहिचान बन्दै गएको छ। दाङका विभिन्न स्थानका किसान बदिया भाले बेच्ने काममा आकर्षित भएका छन्।
लमही नगरपालिका–६ खैरीमाका कमलजंग सिंह ठकुरीले ३० कट्ठा जमिनमा विगत ६ वर्षदेखि व्यावसायिक रूपमा बदिया भाले पाल्दै आएका छन्। कमल देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन्।
उनले 'बुरहान बहुउद्देश्यीय कृषि फर्म' दर्ता गरेका छन्। कमलले होलसेलमा गोटाको चार हजार र फुटकरमा तीन हजार पाँच सय रूपैयाँ दरले बदिया भाले बेचिरहेका छन्।
'यसपालि दसैंमा मात्र डेढ सय वटाभन्दा बढी बदिया भाले बेचेँ,' उनले भने।
लमही–३ नारायणपुरको 'नारायणी महिला कृषि सहकारी संस्था' ले पनि व्यावसायिक रूपमा बदिया भाले पालन गर्दै आएको अध्यक्ष गंगा चौधरीले जानकारी दिए।
गंगाका अनुसार देउखुरी, घोराही, तुलसीपुर क्षेत्रमा गरी दाङमा वार्षिक दुई हजार बढी बदिया भाले बिक्री भइरहेको छ।
'पछिल्लो समय मेला–महोत्सवमा प्रचार–प्रसारका कारण दाङसँगै बदिया भालेको नाम ब्रान्डिङ भइरहेको छ,' उनले भने, 'लुम्बिनी प्रदेशको राजधानी देउखुरी भएकाले पनि बिक्री बढेको हो,' उनले भने।
***