टी-२० विश्वकप २०२६ विशेष
उच्च कदका आक्रामक अलराउन्डर गुल्सन झा कलिलै उमेरमा नेपाली राष्ट्रिय टोलीमा स्थापित खेलाडी हुन्।
आइसिसी टी-२० विश्वकप २०२६ उनको दोस्रो विश्वकप हो। उनले १८ वर्षकै उमेरमा नेपाली टोलीबाट टी-२० विश्वकप २०२४ खेले। पछिल्ला चार वर्षमा गुल्सन नेपाली राष्ट्रिय टोलीका लागि महत्वपूर्ण खेल खेलिसकेका छन् भने कतिपय खेल जिताएर नेपाली क्रिकेटको यात्रालाई सहज बनाएका छन्।
उनको विशेषता भनेको उनी बलिङ दायाँ हातले गर्छन् अनि ब्याटिङ बायाँ हातले। पछिल्ला वर्षमा उनको मध्यक्रमको ब्याटिङको शैली विपक्षी टोलीलाई ‘टेन्सन’ दिने खालको छ। भारतको राँचीमा क्रिकेट सिकेका गुल्सनको क्रिकेट यात्राबारे यहाँ चर्चा गरिएको छ।
पूरा नाम: गुल्सन कुमार झा
जन्म: फेब्रुअरी १७, २००६, सर्लाही
उमेर: १९ वर्ष
ब्याटिङ शैली: बायाँ हाते ब्याटर
बलिङ शैली: दाहिने हाते मध्यम गति
भूमिका: अलराउन्डर
टी-२० आई डेब्यू: नेपाल विरुद्ध फिलिपिन्स, अल अमेरात — फेब्रुअरी १९, २०२२
पछिल्लो समय ब्याटिङमा उत्कृष्ट क्षमता देखाइरहेका गुल्सन टोलीका लागि चाहिएको बेलामा छक्का र चौका हान्न सक्छन्।
पछिल्लो समय खेल्ने शैलीका कारण उनका समर्थक पनि बढेका छन्। समर्थकसँगै आशा बढेपछि दबाब कतिको हुन्छ भन्ने प्रश्नमा गुल्सनको उत्तर हुन्छ, ‘जुन खेलमा राम्रो खेल्नै पर्छ।सबै कुरा आफ्नो नियन्त्रणमा हुँदैन। तर पनि सधैं उत्कृष्ट दिने कोसिस गर्छु।’
१९ वर्षीय गुल्सन चार वर्षअघि राष्ट्रिय टोलीमा परेका थिए। सुरूमा तीव्र गतिको बलरको रूपमा टोलीमा छनोट भएका गुल्सन अहिले राष्ट्रिय टोलीका भरपर्दा अलराउन्डर भइसकेका छन्।
नेपाल, ओमान र अमेरिकाबीचको लिग-२ को सिरिजका लागि पहिलो पटक राष्ट्रिय टोलीमा परेका गुल्सनले सेप्टेम्बर २०२१ मा अमेरिकाविरूद्धको खेलबाट नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरे।
एकैपटक उनले नेपालको यू-१९ टोली र सिनियर टोलीबाट खेले। दुवै टोलीमा आफ्नो छाप छाड्न सफल भए।
गुल्सन ६ फिट १ इञ्च अग्ला छन्। सर्लाही मलंगवाका गुल्सनलाई क्रिकेटर बनाउन उनका बुवाको ठूलो भूमिका छ। २०७३ सालतिर बुवाले गुल्सनलाई भारतको राँचीस्थित अरूणोदय क्रिकेट एकेडेमीमा भर्ना गरेका थिए।
राँचीमा क्रिकेट सिक्दा गुल्सनले बलिङमा निखार ल्याए। त्यहाँ उनले स्थानीय प्रतियोगिता पनि खेले। एकेडेमीमा सिकेका धेरैले भारतको प्रतिष्ठित रणजी ट्रफी खेलिरहेको गुल्सनको भनाइ छ।
२०७७ सालको मेयर्स कपमा उनी चर्चामा आएका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको काठमाडौं मेयर्स कपको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भएको थियो।
दुवै क्लबमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीको बाहुल्यता भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा थियो। तर खेल एकपक्षीय बन्यो। पहिले ब्याटिङ गरेको एपिएफ क्लबले कमजोर ब्याटिङ गर्यो। त्यो बेला १५ वर्ष उमेर भएका पुलिसका युवा बलर गुल्सन एपिएफका ब्याट्सम्यानमाथि हाबी बने।
पुलिसबाट खेलेको दोस्रो खेलमै तीव्र गतिका बलर गुल्सनले खेलमा चार विकेट लिए। एपिएफका सुरूआती चारमध्ये तीन ब्याट्सम्यानलाई आफ्नो सिकार बनाए।
त्यतिबेला एपिएफका कप्तान शरद भेषवकरले पुलिसका बलर गुल्सनले उत्कृष्ट बलिङ गर्दा आफूहरूले कमजोर ब्याटिङ गरेको बताए। उनले गुल्सनलाई 'सरप्राइज प्याकेज' को संज्ञा दिएका थिए।
राष्ट्रिय प्रतियोगितामा प्रभावशाली खेल देखाएका गुल्सनले त्यसपछि राष्ट्रिय टिममा पर्ने लक्ष्य लिएका थिए। दुई वर्षमै उनी राष्ट्रिय टिममा मात्र परेनन्, तीव्र गतिका बलरबाट उत्कृष्ट अलराउन्डर हुँदै आफ्नो क्षमता प्रमाणित गरे।
उनले आफ्नो भारतको राँचीमा सन् २०१६ देखि २०२० सम्म चार वर्ष बसेर प्रशिक्षण लिएका थिए। उनी बाल्यकालदेखि नै ब्याटिङ र बलिङ दुवैमा रुचि राख्थे।
उनले भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीलाई आफ्नो आदर्श मान्थे र उनको नेतृत्व शैली तथा खेलको कठिन परिस्थिति सम्हाल्ने क्षमताबाट प्रेरित थिए।
सन् २०२० मा लकडाउनका कारण उनी नेपाल फर्किएका थिए । त्यस समयमा करिब डेढ वर्ष उनले क्रिकेट खेलेनन् र मोबाइलमा पब्जी खेलेर तथा टेनिस बल क्रिकेट खेलेर समय बिताए। त्यसबेला उनको तौल निकै बढेको थियो, जसलाई कम गर्न उनले दौडिन सुरु गरे। दौडिरहेकै समयमा उनलाई माधव सरले देखेपछि जिल्ला स्तरको खेलमा मौका दिए, जहाँ उनले २ खेलमा ८ विकेट लिए।
सुरुमा मधेश प्रदेशको क्याम्पमा छनोट नभए पनि कलैयामा खेलिरहेका बेला पुलिस क्लबका खेलाडीहरू (पवन सर्राफ, आरिफ शेख, अनिल साह) को नजरमा उनी परे। पुलिस टोलीमा आरिफ शेख र ललित राजवंशी घाइते भएपछि उनलाई ट्रायलका लागि बोलाइयो र उनी टोलीमा समावेश भए। उनले पुलिस क्लबबाट खेल्दै आफ्नो प्रभाव जमाए र बिस्तारै राष्ट्रिय टोलीमा स्थान बनाए।
एसिसी प्रिमियर कपमा युएई विरुद्धको ओडिआई इनिङ्स उनको करियरको टर्निङ प्वाइन्ट बन्यो, जसले टोलीमा उनको विश्वास बढायो।
आइसिसी विश्वकप लिग-२ मा नेपालले १२ मध्ये ११ खेल जितेर विश्वकप छनोटमा स्थान बनाउँदा हुँदा गुल्सनले धेरै महत्त्वपूर्ण र निर्णायक इनिङहरू खेलेका थिए।
तत्कालिन प्रशिक्षक मोन्टी देसाईले उनलाई टोलीमा 'फिनिसर'को भूमिकामा ‘सिफ्ट’ गरिदिएका थिए, जसले उनलाई आत्मविश्वासका साथ खेल्न मद्दत गर्यो।
सुरुमा केवल गतिमा केन्द्रित रहने गुल्सनले पछि अन्तर्राष्ट्रिय स्तरमा टिक्नका लागि लाइन र लेन्थमा ध्यान दिन थाले। उनले लेग कटर, अफ कटर जस्ता भेरिएसनहरू पनि थपेका छन्। ब्याटिङमा पनि उनले सुधार गर्दै कभर माथिबाट छक्का प्रहार गर्ने र रिभर्स स्वीप जस्ता सटहरू खेल्न थालेका छन्।
उनी खराब लयका बेला हतास नहुने र राहुल द्रविडको भनाइ (क्रिकेटर आफ्नो करियरको आधा खेलमा असफल हुन्छ) बाट प्रेरित भई आफूलाई सम्हाल्ने गर्छन्।
उनको सफलतामा परिवारको, विशेषगरी बुवाको ठूलो समर्थन रहेको छ। साथै तत्कालिन प्रशिक्षक मोन्टी देसाई र टोलीका सिनियर खेलाडीहरू (रोहित पौडेल, सोमपाल कामी, करण केसी) को विश्वास र सहयोगले उनलाई अघि बढ्न मद्दत पुर्याएको छ।
आइसिसी टी-२० विश्वकप २०२६ - टिम नेपाल :-
नेपाली टोलीका आक्रामक ओपनर कुशल
विकेटकिपिङ गर्ने नेपाली टिमका भरपर्दा ओपनर आसिफ
कान्छा तर अनुभवी कप्तान रोहित
मध्यक्रमका जोडदार ब्याटर सन्दीप जोरा
तीन देशको पूर्वकप्तानका टोलीविरूद्ध अर्धशतक हानेर चर्चामा आएका विस्फोटक लोकेश
चितुवाभन्दा फुर्तिला 'टाइगर' दीपेन्द्र