न्यायालय र संवैधानिक निकायको सुधार–१
हामीले सेतोपाटीमा 'न्यायालय र संवैधानिक निकायको सुधार' बारे नयाँ बहस शृंखला सुरू गरेका छौं।
हामी धेरै नेपालीलाई लाग्छ — हाम्रा नेताहरू नै ठिक भएनन्। अनि नेताहरू खराब भएका कारण देश बिग्रियो।
त्यो केही हदसम्म ठिक पनि हो। नेता र नेतृत्व ठिक भयो भने र उनीहरूको नियत सफा छ भने धेरै कुरा ठिक हुन्छन्।
तर जतिसुकै सफा नियत भए पनि सत्तामा पुगेका नेताहरूका निजी र दलगत स्वार्थहरू हुन्छन्। र, ती स्वार्थहरू बिस्तारै हावी हुँदै जान्छन्। नेताहरू तिनै स्वार्थका बन्धक बन्दै जान्छन्। १५–२० वर्ष जेलनेल खपेका, दशकौंसम्म राणा र पञ्चायतविरूद्ध बिना स्वार्थ संघर्ष गरेका हाम्रा नेताहरू सत्तामा पुगेपछि किन बिग्रिए?
हामीले यो प्रश्नमा घोत्लिन र आफ्नै इतिहासबाट पाठ सिक्न जरूरी छ।
अनि यो नेपालको मात्र कुरा होइन, संसारको इतिहासले पनि त्यही भन्छ।
ब्रिटिस इतिहासकार लर्ड एक्टनले बेलायत र युरोपको राजनीतिलाई लामो समयसम्म नियालेपछि भनेका थिए — Power tends to corrupt, and absolute power corrupts absolutely.
हाम्रो सन्दर्भमा यसको भाव स्पष्ट हुने गरी यसलाई यसरी भन्न सकिन्छ — सत्ताले नेतालाई मैमत्त बनाउँछ र नियन्त्रण बिनाको सत्ताले उसलाई पूर्णतः निरंकुश बनाउँछ।
त्यसैले संसारभरका सफल लोकतन्त्र नेताहरूको नियत र इमानमा मात्र भर पर्दैनन्। सफल लोकतन्त्रले बलिया संस्थाहरूको निर्माण गर्छन्, जसले सत्तामा पुगेका नेताहरूलाई अनुशासनमा बस्न बाध्य बनाउँछन्। जब यी संस्था कमजोर बन्छन्, तब नेताहरू स्वेच्छाचारी बन्छन्। सत्ताको दुरूपयोग गर्छन् र उन्मुक्ति पनि पाउँछन्।
त्यसैले लोकतन्त्र बलियो बनाउने र देश बलियो बनाउने भनेको यी संस्थाहरू बलिया बनाउने हो।
नेपालमा भने हामी नेताहरूको नियत र इमानमा धेरै भर पर्यौं। अनि संस्थाहरूलाई बलिया बनाएनौं, बलिया बनाउन सकेनौं। अनि शक्ति सन्तुलन गर्ने हाम्रा संस्थाहरूमाथि नेताहरू हाबी भए।
यहाँ राजनीतिक नेतृत्व मात्र हाबी भएन, राजनीतिको फेरो समातेर ती संस्थाको नेतृत्वमा पुगेका मानिसहरू पनि हाबी भए। अनि उनीहरूले संस्थाहरूलाई थप कमजोर बनाए।
आजका दिनमा लोकतन्त्रको सुधार भनेको यिनै संस्थाहरूको सुधार हो। यी संस्थाहरूलाई स्वतन्त्र र बलिया बनाउने कुरा हो।
यस्ता संस्थाहरू मध्येका अग्रणी संस्थाहरू न्यायालय र संवैधानिक निकायको सुधारबारे कुरा गर्न आज मैले यो बहस शृंखलाको पहिलो अंकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईलाई निम्त्याएको छु।
कानुनमा विद्यावारिधि (पिएचडी) गरेका भट्टराई न्याय क्षेत्रका एक प्रखर व्यक्तित्व हुन्। उनले न्याय क्षेत्रमा ४३ वर्ष र सर्वोच्च अदालतमा मात्रै करिब ८ वर्ष बिताएका छन्।
प्रस्तुत छ, उनीसँगको बहसको भिडिओः