भदौ १० गतेको विनाशकारी बाढीपछि नेपाल र चीनबीच विपद सूचना आदानप्रदानमा एउटा महत्त्वपूर्ण परिवर्तन आएको छ।
चिनियाँ पक्षले त्यस क्षेत्रको मौसम, हिमनदीको अवस्था र हिमतालको जोखिमबारे नेपाललाई दैनिक सूचना पठाउन थालेको नेपाली अधिकारीहरूले बताएका छन्।
भोटेकोशी–त्रिशूली बाढीअघि चीनबाट समयमै पर्याप्त सूचना नआएको भन्दै प्रश्न उठिरहेका बेला अहिले नेपाली अधिकारीहरूले नियमित अपडेट पाउन थालेका हुन्।
नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले भदौ १० को घटनापछि चिनियाँ मौसम प्रशासन (सिएमए) बाट हरेक दिनको अपडेट आइरहेको जानकारी दिइन्।
'अहिले हरेक दिनको मौसमी रिपोर्ट हामीले पाइरहेका छौं,' उनले सेतोपाटीसँग भनिन्, 'त्यसबाट वर्षाको पूर्वानुमानदेखि हिमनदीमा आउने परिवर्तनका स्याटलाइट इमेज र तथ्यांकहरू हेर्न सकिन्छ।'
चिनियाँ पक्षबाट मौसमसम्बन्धी 'पूर्वचेतावनी' (अर्ली वार्निङ) पनि आइरहेको उनले बताइन्।
चीनबाट आउने यस्तो सूचना औपचारिक प्रणालीमा मात्र सीमित छैन। नेपाली र चिनियाँ अधिकारीहरूबीचको 'वी–च्याट' समूह पनि अहिले नियमित सूचना आदानप्रदानको माध्यम बनेको छ।
श्रेष्ठका अनुसार यस्तो समूह भदौ १० गतेअघि नै बनेको थियो। तर त्यति बेला नियमित सूचना आदानप्रदान हुँदैनथ्यो।
'पहिले कुनै समस्या पर्दा कसरी समाधान गर्ने भन्ने मात्र कुराकानी हुन्थ्यो। यो घटनापछि भने चिनियाँ पक्षले नियमित रूपमा स्याटलाइट इमेज र भिडिओहरू पठाएर हामीलाई अपडेट दिइरहेको छ,' उनले भनिन्।
चिनियाँ सरकारी समाचार संस्था 'सिन्ह्वा' ले पनि चीनले नेपाललाई विपद सूचना आदानप्रदान संयन्त्रमार्फत मौसम, जलविज्ञान र हिमनदीसम्बन्धी दैनिक अपडेट उपलब्ध गराइरहेको जनाएको छ।
सिएमएको भनाइ उद्धृत गर्दै सिन्ह्वाले नेपाल 'फेन्गयुन–३' र 'फेन्गयुन–४' नामक स्याटलाइटमा आधारित रियल–टाइम सेवासँग जोडिएको उल्लेख गरेको छ।
स्याटलाइट तस्बिरमार्फत बाढीको स्रोत क्षेत्रमा भएको बरफ–चट्टान खस्ने जोखिम तथा नदीको धारमा आएको परिवर्तन समेत निगरानी भइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
नेपाल र चीनबीच यस्तो सूचना आदानप्रदानको विषय नयाँ भने होइन।
नेपालले हिमनदी वा त्यस आसपासको क्षेत्रमा कुनै असामान्य गतिविधि देखिए त्यसबारे तत्काल जानकारी गराउनुपर्ने कुरा लगातार उठाउँदै आएको छ।
नदीको माथिल्लो तटीय क्षेत्रमा पानीको तहसम्बन्धी रियल–टाइम तथ्यांक नियमित उपलब्ध गराउन पनि आग्रह गर्दै आएको छ।
बेलैमा सूचना नपाउँदा विपद पूर्वानुमान र पूर्वतयारीमा समस्या परेको नेपाली अधिकारीहरूले भन्दै आएका छन्।
यो घटना हुनुभन्दा तीन महिनाअघि, मे २७ मा काठमाडौंमै भएको द्विपक्षीय बैठकमा पनि नेपालले यी विषय उठाएको थियो।
'त्यो बैठकपछि सूचना आदानप्रदान प्रभावकारी बनाउने गृहकार्य भइरहेकै बेला भदौ १० को घटना भयो,' श्रेष्ठले भनिन्, 'त्यसयता भने चिनियाँ पक्षबाट नियमित अपडेट पाउन थालेका छौं। मौसमी सूचना आदानप्रदानको संयन्त्र अहिले सक्रिय भएको छ।'
यति मात्र होइन, चीनले हालै फेन्गयुन–३ र फेन्गयुन–४ स्याटलाइट प्रणाली अपग्रेड गरेपछि त्यसबाट प्राप्त हुने रियल–टाइम तथ्यांकमा नेपालको पहुँच बढेको श्रेष्ठले बताइन्।
भदौ १० को घटनापछि चीनसँगको परिवर्तित सूचना आदानप्रदान संयन्त्रकै परिणाम हो —
नेपालले लाङटाङको लिरूङ हिमाल क्षेत्रमा बनेका दुईवटा नयाँ तालबारे समयमै सूचना पायो।
चिनियाँ पक्षबाट प्राप्त सूचनाकै आधारमा ती तालमा पानीको मात्रा कति छ भनेर नेपालले नियमित निगरानी राख्यो। सुरूमा पानीको मात्रा बढेको देखेपछि सतर्कता सूचना पनि जारी गर्यो।
पछि तालको पानी बिस्तारै चुहिँदै गएर खतरा टरेको जानकारी पनि चिनियाँ पक्षबाट पठाइएको विवरणकै आधारमा थाहा भयो।
यसरी चीनबाट आइरहेका नियमित स्याटलाइट तस्बिर र भिडिओका आधारमा अहिले लाङटाङ हिमाल क्षेत्रमै अर्को असामान्य परिवर्तन पनि देखिएको छ।
फेरि देखियो बरफभित्रको ताल
लाङटाङको लिरूङ हिमाल क्षेत्रको माथिल्लो भागमा पहिले बरफले ढाकिएको एउटा ताल अहिले फेरि प्रस्ट देखिन थालेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उप–कार्यकारी निर्देशक विक्रम श्रेष्ठ जुवा बताउँछन्।
उनका अनुसार यो सतहमा देखिने सामान्य हिमतालभन्दा फरक हो, जसलाई प्राविधिक भाषामा 'englacial lake' भनिन्छ।
'त्यो ठाउँमा पहिले कुनै समय हिमताल रहेको देखिन्छ। समयक्रममा पानी घटेपछि त्यो क्षेत्र बरफले ढाकियो र बाहिरबाट हेर्दा बरफको थुप्रोजस्तो मात्र देखिन थाल्यो,' उनले भने, 'तर अहिले नयाँ तस्बिर र भिडिओ हेर्दा त्यो ताल फेरि प्रस्ट रूपमा देखिएको छ।'
यो ताल कति पुरानो हो, त्यसमा कति पानी जम्मा छ, अहिले किन फेरि देखिन थाल्यो र भदौ १० को घटनासँग यसको कुनै सम्बन्ध छ कि छैन भन्नेबारे अहिले नै निष्कर्ष निकाल्न नसकिने जुवा बताउँछन्।
'यो तालको विषयमा विस्तृत कुरा अझै थाहा भइसकेको छैन। यसबारे थप अध्ययन गर्नुपर्ने देखिएको छ,' उनले भने।
चिनियाँ पक्षले 'वी-च्याट' समूहमार्फत पठाइरहेको हिमनदी र आसपासको भूभागका स्याटलाइट तस्बिर तथा भिडिओको नियमित निगरानीबाटै लाङटाङ क्षेत्रको यो परिवर्तन नजरमा आएको जुवाको भनाइ छ।
'यस्ता तस्बिर, भिडिओ र दैनिक अपडेटले हिमाली क्षेत्रमा भइरहेका परिवर्तनलाई नजिकबाट बुझ्न सहज भएको छ,' उनले भने।
नेपाल र चीनबीच यस्तो सूचना आदानप्रदानका लागि अहिलेसम्म औपचारिक सम्झौता भने भइसकेको छैन। त्यसका लागि तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।
***