बर्नहार्द् विन्टर, पास्कल बुहोल्जर र थोमस गम्पर— स्विट्जरल्यान्डमा स्नातक तह पढिरहेका तीन युवा विद्यार्थी।
सन् २०१४ मा उनीहरूले एउटा साधारण रोबोट प्रतियोगिताका लागि सिँढी चढ्न सक्ने चलायमान ह्विलचेयरको एक सरल मोडल तयार गरे। सुरूमा यो काम शैक्षिक अभ्यास मात्र थियो। तर प्रयोगशालामा बनेको त्यो मोडलले वास्तविक जीवनमा पनि गहिरो सामाजिक परिवर्तन ल्याउन सक्ने सम्भावना देखाएपछि उनीहरूको यात्रा एकाएक नयाँ दिशातर्फ मोडियो।
त्यसपछि इ.टि.एच. जुरिच विश्वविद्यालयले उनीहरूलाई 'पायोनियर फेलोसिप' प्रदान गर्यो— जहाँ एक वर्षका लागि तलब, काम गर्ने स्थान, प्राविधिक सुधार, कानुनी परामर्श र उद्योग–सञ्जालमा पूर्ण पहुँच उपलब्ध गराइयो। यो सहयोग केवल आर्थिक थिएन; यसले उनीहरूको विचारलाई सम्भावनाबाट प्रक्रियामा रूपान्तरण गर्यो।
यस संरचित यात्राले उनीहरूलाई विश्वविद्यालय–सम्बद्ध नवप्रवर्तन प्रयोगशालासम्म पुर्यायो, जहाँ बजार अध्ययन, प्राविधिक परिष्करण, उद्योग साझेदारी र व्यवसाय योजनासम्मका सबै चरण योजनाबद्ध रूपमा अघि बढे।
यही प्रक्रियाले साधारण मोडललाई क्रमशः रूपान्तरण गर्दै सिँढी चढ्न सक्ने अत्याधुनिक कुर्सीका रूपमा विकास गर्यो, जसले आज अपांगता भएका व्यक्ति तथा सिँढी चढ्न कठिनाइ हुने वृद्धहरूको जीवनलाई व्यावहारिक रूपमा सहज बनाइरहेको छ।
यसैबीच नेपालमा पनि थापाथली क्याम्पसका दुई उत्साही विद्यार्थी यस्तै सपना बोकेर सिँढी चढ्न सक्ने ह्विलचेयर बनाउन जुटिरहेका थिए। नेपालमा अपांगमैत्री पूर्वाधार अत्यन्त न्यून भएकाले उनीहरूले यस्तो प्रविधिको आवश्यकता आफ्नै समुदायमा प्रत्यक्ष रूपमा महसुस गरेका थिए।
विद्युतीय मोडल अत्यधिक महँगो हुने भएकाले उनीहरूले हातले चलाउन सकिने, सरल तर उपयोगी मोडल बनाउने लक्ष्य राखे र प्रोटोटाइप बनाउनसमेत सफल भए।
तर दुर्भाग्य यहाँबाट सुरू हुन्छ। उनीहरूको यात्रामा आवश्यक संरचना नै थिएन— न कुनै लगानी, न प्राविधिक मार्गदर्शन, न कानुनी सहयोग, न परीक्षण गर्ने प्रयोगशाला।
फलतः उनीहरूको सपना सुरू हुँदाहुँदै रोकियो र उनीहरू आफ्नै प्रतिभा बोकेर विदेशिन बाध्य भए। आज ती विद्यार्थीहरू प्रतिष्ठित विश्वविद्यालयबाट स्नातक भइसकेका छन् र विश्वप्रसिद्ध कम्पनीहरूमा कार्यरत छन्। तर नेपालमा भने हजारौं मानिस आज पनि केवल एउटा उपयुक्त ह्विलचेयर नपाएर सिँढी चढ्न नसक्ने पीडामा बाँचेका छन्।
पहिलो कथा पूर्ण रूपमा वास्तविक हो। दोस्रो कथा काल्पनिक जस्तो लागे पनि यही हो हजारौं नेपाली युवाको वास्तविकता— असीम क्षमता, तर संरचना अभावमा कुच्चिएका सपना।
यी दुई कथाले एउटा कुरा अत्यन्त स्पष्ट रूपमा देखाउँछन्— दुई साना देशबीचको विकास–अन्तर भूगोलले होइन, विद्यार्थीलाई हेर्ने दृष्टिकोण, उपलब्ध अवसर र प्रणाली निर्माणको दूरदर्शिताले तय गर्छ।
स्विस प्रणालीले के गर्छ?
ज्युरिखको एउटा कक्षामा जन्मिएको विचार केही वर्षमै विश्वबजारसम्म पुग्नुको कारण स्विजरल्याण्डको भूगोल होइन— त्यहाँको प्रणाली हो। स्विस विश्वविद्यालयहरू केवल ज्ञान दिने संस्था होइनन्; ती नवप्रवर्तनका इन्जिन हुन्। यहाँ विद्यार्थीले कल्पना गरेको विचारलाई परीक्षण, परिष्करण, सुरक्षित र व्यवसायीकरणसम्म पुर्याउने स्पष्ट, चरणबद्ध र भरपर्दो मार्ग उपलब्ध हुन्छ।
इ.टि.एच. जुरिच र इ.पि.एफ.एल. जस्ता संस्थाहरूमा कुनै नयाँ प्रविधि, उत्पादन वा समाधानको कल्पना गरेपछि त्यसलाई वास्तविकतामा बदल्ने संयन्त्र तुरून्त सक्रिय हुन्छ।
'पायोनियर फेलोसिप' ले विद्यार्थीलाई प्रयोगशाला, प्रोटोटाइप सामग्री, कानुनी सल्लाह र व्यवसायिक मार्गदर्शन उपलब्ध गराउँछ। त्यसपछि आइडिया क्रमशः अनुसन्धान, प्रोटोटाइप, व्यवसायीकरण र उद्योगसम्म पुग्ने संरचनामा प्रवेश गर्छ।
अर्को चरणमा प्रारम्भिक स्टार्टअपहरू टेक्नोपार्क, इनोभेसन पार्क तथा अन्य नवप्रवर्तन केन्द्रहरूमा प्रवेश गर्छन्। त्यहाँ वैज्ञानिक, इन्जिनियर, उद्योग साझेदार, लगानीकर्ता र उद्यमीहरू एउटै इकोसिस्टममा काम गर्छन्। यी संरचनाहरूको उद्देश्य केवल कम्पनी स्थापना गराउनु होइन; ज्ञानलाई आर्थिक मूल्यमा रूपान्तरण गर्नु हो।
स्विट्जरल्यान्डको सफलताको मूलमा कुनै रहस्य छैन। अनुसन्धानलाई ज्ञानमा, ज्ञानलाई प्रविधिमा, र प्रविधिलाई उद्योगमा रूपान्तरण गर्ने संरचना छ।
अनुसन्धान किन महत्त्वपूर्ण छ?
नेपालमा नवप्रवर्तनको चर्चा हुँदा हामी प्रायः स्टार्टअप, मेकर्स स्पेस वा टेक्नोपार्कको कुरा गर्छौं। तर एउटा आधारभूत प्रश्न प्रायः छुट्छ— ती ठाउँहरूमा सिर्जना हुने नयाँ ज्ञान कहाँबाट आउने?
नवप्रवर्तनको स्रोत अनुसन्धान हो। अनुसन्धानबाट नयाँ ज्ञान जन्मिन्छ, नयाँ ज्ञानबाट प्रविधि विकास हुन्छ र त्यही प्रविधि पछि उत्पादन, कम्पनी तथा उद्योगमा रूपान्तरण हुन्छ। अनुसन्धानको अन्तिम परिणाम केवल वैज्ञानिक लेख मात्र होइन; यसले नयाँ बौद्धिक सम्पत्ति, नयाँ प्रविधि, नयाँ कम्पनी, उच्च मूल्यका रोजगारी र आर्थिक वृद्धि पनि सिर्जना गर्न सक्छ।
आज विश्वका धेरै सफल प्रविधि, बायोटेक र इन्जिनियरिङ कम्पनीहरू विश्वविद्यालय र अनुसन्धान प्रयोगशालाबाटै जन्मिएका हुन्। त्यसैले विकसित राष्ट्रहरूले अनुसन्धानलाई खर्च होइन, भविष्यको आर्थिक लगानीका रूपमा हेर्छन्।
स्विट्जरल्यान्डमा अध्ययन गर्ने क्रममा तथा हाल हार्वर्ड र एमआइटीमा अनुसन्धान गर्दै गर्दा मैले नयाँ विचारहरू कसरी अनुसन्धान, नवप्रवर्तन, स्टार्टअप र अन्ततः उद्योगमा रूपान्तरण हुन्छन् भन्ने प्रक्रिया नजिकबाट अवलोकन गर्ने अवसर पाएको छु। त्यही अनुभवले नेपालमा सबैभन्दा बढी अभाव कहाँ छ भन्ने कुरा अझ स्पष्ट बनाएको छ।
नेपाललाई चाहिएको आधार
नेपाल आविष्कार केन्द्रको पहलले देशभर नवप्रवर्तन र अनुसन्धानप्रति नयाँ आशा र उत्साह जगाएको छ। महावीर पुनको लामो अभियान र निरन्तर पैरवीले विज्ञान तथा नवप्रवर्तनलाई राष्ट्रिय बहसको विषय मात्र होइन, राष्ट्रिय प्राथमिकताको विषय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। त्यसकै परिणाम स्वरूप सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गर्ने तथा पुँजीगत बजेटको एक प्रतिशत यस क्षेत्रमा विनियोजन गर्ने निर्णय गरेको छ।
तर सीमित स्रोत भएका देशका लागि बजेटको प्रभावकारी उपयोग महत्त्वपूर्ण हुन्छ। त्यसैले उपलब्ध स्रोतहरूलाई अधिकतम प्रतिफल दिने संरचनात्मक सुधारहरूमा केन्द्रित गर्न आवश्यक छ।
यदि नेपालले नवप्रवर्तनको आधार निर्माण गर्न चाहन्छ भने पहिलो प्राथमिकता अनुसन्धानसँग जोडिएको गुणस्तरीय प्राविधिक शिक्षा हुनुपर्छ। स्विट्जरल्यान्डले यस्तो रूपान्तरण सम्भव बनायो, किनकि यसको शिक्षा प्रणालीले आलोचनात्मक सोच, समस्या समाधान र सिर्जनशीलतालाई केन्द्रमा राख्छ।
नेपाल अझै ठूलो हदसम्म घोकन्ते पढाइमा जकडिएको छ, जसले नयाँ विचार र अनुप्रयोगमुखी सीप विकासमा अवरोध पुर्याउँछ। विद्यार्थीहरूलाई केवल ज्ञान ग्रहण गर्ने होइन, नयाँ ज्ञान सिर्जना गर्ने वातावरण आवश्यक छ।
अनुसन्धान र प्राविधिक शिक्षाको बलियो आधार तयार भएपछि विश्वविद्यालयहरू— त्रिवि, केयू, आइओईदेखि प्रदेश विश्वविद्यालयसम्म— भित्रै परियोजना विकास, उद्योग सहकार्य र उद्यमशीलता एकीकृत रूपमा सञ्चालन हुने 'मेकर्स स्पेस' निर्माण गर्न सकिन्छ।
समान रूपमा, प्रदेश–प्रदेशमा आधुनिक प्रयोगशाला, लगानीकर्ता, कानुनी सहयोग र उद्योग सहकार्य एउटै स्थानमा उपलब्ध हुने टेक्नोपार्क स्थापना गर्न सकिए विद्यार्थी र शोधकर्ताको यात्रालाई अत्यन्त सहज बनाउन सकिन्छ। साथै कम्पनी दर्ता, पेटेन्ट, प्रविधि स्थानान्तरण र लगानी प्रक्रिया पूर्ण रूपमा डिजिटल, पारदर्शी र समयबद्ध बनाउने सुधार अपरिहार्य छन्।
किन यो सम्भव छ?
दक्षिण कोरिया यसको सशक्त उदाहरण हो। एक समय अत्यन्त पछि परेको कोरियाले आक्रामक रूपमा अनुप्रयुक्त अनुसन्धान, प्राविधिक शिक्षा र प्रविधि विकासलाई प्रोत्साहन गर्यो र केही दशकमै नवप्रवर्तन, उद्योग र वैज्ञानिक नेतृत्वमा विश्वकै अग्रणी राष्ट्रमध्ये पर्यो। यसले देखाउँछ कि सीमित स्रोत भएका देशहरूले पनि अनुसन्धान, नवप्रवर्तन र दीर्घकालीन नीतिगत प्रतिबद्धतामार्फत ठूलो रूपान्तरण हासिल गर्न सक्छन्।
नेपालको सूचना–प्रविधि क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएको प्रगति पनि यही सम्भावनाको संकेत हो। तुलनात्मक रूपमा कम प्रारम्भिक पुँजी आवश्यक पर्ने र युवाहरूमा रहेको उत्साह तथा सीपले यस क्षेत्रको विस्तार सम्भव बनाएको हो।
यसले विदेशी कम्पनीहरूका लागि आउटसोर्सिङ मार्फत रोजगारी र आम्दानीका अवसरहरू सिर्जना गरेको छ। तर स्थानीय समस्या समाधान गर्ने, आफ्नै बौद्धिक सम्पत्तिमा आधारित उत्पादन विकास गर्ने तथा दीर्घकालीन रूपमा विस्तार हुन सक्ने कम्पनीहरूको संख्या अझै सीमित छ। व्यक्तिगत प्रयासहरूले सकारात्मक परिवर्तन ल्याए पनि उद्योगको दिगो वृद्धि र विश्वव्यापी प्रतिस्पर्धात्मकताका लागि थप संरचनागत सहयोग आवश्यक छ।
सूचना–प्रविधि बाहेकका क्षेत्रमा अवस्था अझ चुनौतीपूर्ण छ। विभिन्न क्षेत्रमा नयाँ विचार र प्रारम्भिक नमूना विकास गर्ने प्रतिभाशाली व्यक्तिहरू प्रशस्त भए पनि प्रारम्भिक लगानी, मार्गदर्शन, प्राविधिक पूर्वाधार र सहकार्यको अभावले धेरै सम्भावनाशील परियोजनाहरू बजारसम्म पुग्नुअघि नै रोकिएका छन्। परिणाम स्वरूप, देशभित्रै मूल्य सिर्जना गर्न सक्ने धेरै नवप्रवर्तनहरू उद्योग वा व्यवसायमा रूपान्तरण हुन पाएका छैनन्।
तर अर्को वास्तविकता पनि उत्तिकै स्पष्ट छ। यस्ता संरचनाहरूको अभाव हुँदाहुँदै पनि नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र उद्यमीहरू विदेश पुगेपछि विश्वस्तरीय वातावरणमा उल्लेखनीय सफलता हासिल गरिरहेका छन्।
विश्वका प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान संस्था र प्रविधि कम्पनीहरूमा नेपालीहरूको उपस्थिति निरन्तर बढिरहेको छ। कसैले नयाँ प्रविधि विकास गरेका छन्, कसैले सफल कम्पनी स्थापना गरेका छन्, त कसैले अत्यन्त प्रतिस्पर्धी वैज्ञानिक क्षेत्रहरूमा योगदान पुर्याइरहेका छन्।
यसले स्पष्ट देखाउँछ कि समस्या नेपालीहरूको क्षमता वा प्रतिभाको होइन; अवसर, लगानी र सहायक संरचनाको हो। यदि नेपालले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई व्यवस्थित रूपमा प्रोत्साहन गर्न सक्यो भने विदेशमा सफल भइरहेका नेपालीहरूको ज्ञान, अनुभव र सञ्जाललाई समेत राष्ट्रिय विकासमा जोड्न सकिनेछ।
सीमित स्रोत भएका देशका लागि सबै क्षेत्रमा प्रतिस्पर्धा गर्नु सम्भव हुँदैन, तर केही चयनित क्षेत्रमा केन्द्रित लगानी, बलियो अनुसन्धान संस्कृति र दीर्घकालीन प्रतिबद्धताले ठूलो परिवर्तन ल्याउन सक्छ।
अन्त्यमा, महावीर पुनजस्ता व्यक्तित्वहरूले नेपालमा नवप्रवर्तनको संस्कृतिको बीउ रोपिसकेका छन्। अहिले चुनौती त्यो बीउलाई संस्थागत संरचनामा रूपान्तरण गर्ने हो।
एक देश विकसित बन्न केवल उत्पादन र सेवा क्षेत्रको विस्तार मात्र पर्याप्त हुँदैन। दीर्घकालीन आर्थिक समृद्धि र गुणस्तरीय रोजगारी सिर्जना गर्न नयाँ ज्ञान, प्रविधि र नवप्रवर्तनको निरन्तर विकास अपरिहार्य हुन्छ। नेपालले आफ्नो आकार र स्रोतअनुसार सबै क्षेत्रमा अग्रता हासिल गर्न नसके पनि केही चयनित क्षेत्रहरूमा विश्वस्तरीय क्षमता विकास गर्न सक्छ।
प्रश्न अब नेपालमा प्रतिभा छ कि छैन भन्ने होइन।
प्रश्न यति मात्र हो— भविष्यमा अर्को सिँढी चढ्ने कुर्सी, अर्को प्रविधि वा अर्को सफल कम्पनी नेपालमै जन्मिने वातावरण हामी बनाउन सक्छौं कि सक्दैनौं?
यदि बनाउन सक्यौं भने हजारौं नेपाली युवाका सपना विदेशिने होइनन्; तिनले सिर्जना गर्ने ज्ञान, प्रविधि र उद्योग यहीँ जन्मिनेछन्, यहीँ बढ्नेछन्, र नेपालको समृद्धिको आधार बन्नेछन्।