धुलो थियो अनुहारमा, म ऐना पुछ्थेँ
जल थियो इनारमा, म नदी-खोला पुग्थेँ
मोती त सागरमै हुन्छ, हीरा कोइलामै हुन्छ,
बालुवामा कहाँ मिल्छ?
तर म ढुङ्गामा हीरा र दिनमा जून खोज्थेँ
धुलो थियो अनुहारमा, म ऐना पुछ्थेँ।
शान्तिको खोजीमा संसार हिँडेँ
कहिले धर्ती, कहिले आकाश पुगेँ
सुन्दर हरियाली पहाड अनि नदी किनार पुगेँ।
आँखाको तिर्खा मेटेँ तर पाइनँ शान्ति, जब अन्तरमनलाई सोधेँ
आफैँभित्र निहाली, आफैँलाई प्रेम गरेँ,
सुखको सागरमा पुगेँ, यही रहेछ साँचो शान्ति अनुभूति गरेँ।
झरी थियो साउनमा, म पुस महिनामा खोज्थेँ
धुलो थियो अनुहारमा, म ऐना पुछ्थेँ।
पैसा तिरेर खुसी किन्न खोज्थेँ
उपचार छ योगामा, म औषधि रोज्थेँ
चाहिने जति पूरा धन छ
तर किन खाली यो मन छ?
किनकि म भित्री शान्ति बाहिरी वस्तुमा खोज्थेँ
बहुमूल्य सुन त्यागी, सस्तो पित्तल रोज्थेँ।
तरकारी थियो आफ्नै बारीमा, म बजार पुग्थेँ
धुलो थियो अनुहारमा, म ऐना पुछ्थेँ।
घरमै छन् दुई देवता माता-पिता
म मन्दिर गई पढ्छु रामायण-गीता
जब आफ्नो आत्मा चिनेँ
शान्तिसँगै साँचो खुसी किनेँ।
कमी थियो मेरैमा, अरूलाई दोषी देख्थेँ
दिनमा सुती, रातिमा जाग्थेँ
धुलो थियो अनुहारमा, म ऐना पुछ्थेँ,
जल थियो इनारमा, म नदी-खोला पुग्थेँ,
धुलो थियो अनुहारमा, म ऐना पुछ्थेँ।