नेपाल प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई शनिबार राति ३ बजे पक्राउ गरेर अहिले प्रहरी नियन्त्रणमा राखेपछि विभिन्न प्रश्न उठेका छन्।
प्रहरीले उनलाई अहिले टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिरहेको छ। नेपाल प्रहरीले अहिलेसम्म संस्थागत रूपमा राणाको पक्राउबारे केही बोलेको छैन।
पत्रकारहरूले सोधखोज गर्दा कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले जे कारणले राणालाई प्रहरी कार्यालय ल्याइएको भनेका छन्, त्यसले झनै प्रश्न र शंकाहरू जन्माएको छ।
राणाको पक्राउबारे ५ वटा महत्त्वपूर्ण प्रश्नहरू छन्।
१. त्यस्तो के खतरा थियो, जसबाट प्रहरीले उनको घरमा सुरक्षा दिन सकेन र अपराध अनुसन्धान कार्यालय ल्याएर राख्यो?
प्रहरीले सुरक्षाको कारण पक्राउ गरेको जनाए पनि उनलाई कोबाट के सुरक्षा खतरा थियो भन्ने बताएको छैन। सेतोपाटीसँग कुरा गर्दै एसएसपी खड्काले उनीमाथिको सुरक्षा खतराबारे बोल्न नमिल्ने बताएका छन्।
अनौपचारिक कुरा गर्दै प्रहरीका उच्च अधिकारीहरूले कतिपय जेनजी युवाहरूले उनलाई धम्की दिँदै फेसबुकमा लेखेको र उनलाई सुरक्षा खतरा रहेको बताएका छन्।
जेनजीका नाममा कसैले धम्क्याउँदैमा पूर्वप्रधानन्यायाधीशलाई राति ३ बजे घरबाट उठाउने कुरा पत्यार लाग्ने खालको छैन।
त्यसैले नेपाल प्रहरीले आधिकारिक र संस्थागत रूपमा आमनेपाली नागरिकलाई जानकारी गराउनुपर्छ— राणालाई कसबाट के खतरा भएका कारण पक्राउ गरियो? वा, कुन कसुरमा पक्राउ गरियो?
पूर्वप्रधानन्यायाधीश जस्तो व्यक्तिलाई कसैबाट खतरा हुनेबित्तिकै उनलाई घरमा सुरक्षा दिन नेपाल प्रहरी सक्षम छैन र उनलाई मध्यरात अपराध अनुसन्धान कार्यालय लैजानुपर्ने अवस्था छ भने आमनागरिकले प्रहरीले हाम्रो सुरक्षा गर्छ वा गर्न सक्छ भनेर कसरी विश्वास गर्ने?
२. के राणालाई उनको सुरक्षा खतराबारे जानकारी गराइएको हो? त्यसपछि उनको सहमतिमा लगिएको हो? कि, इच्छाविपरीत?
नेपाल प्रहरीले राणामाथि सुरक्षा थ्रेट छ र उनलाई सुरक्षा दिनुपर्छ भन्ने कहिले थाहा पायो? पक्का पनि मध्यरात सबै सुतेका बेला थाहा पाएको होइन होला। अघिल्लो दिन वा शनिबार साँझसम्म थाहा पाएको होला।
त्यो खतराबारे उनलाई प्रहरीले जानकारी गराएको थियो? राति प्रहरी लिन जाँदा त्यो खतराबारे उनी जानकार थिए?
उनको सहमतिमा प्रहरीले राणालाई अपराध अनुसन्धान कार्यालय लगेको राखेको हो? त्यो खतरा कहिलेसम्म टर्छ र उनी कहिले घर जान पाउँछन्? यो पक्राउबारे राणा स्वयं के भन्छन्? उनले सार्वजनिक रूपमा आफ्नो भनाइ राख्न पाउँछन्? बोल्न पाउने उनको हक उनीसँग सुरक्षित छ?
३. राणामाथि सुरक्षा खतरा उत्पन्न गर्ने व्यक्तिहरूमाथि प्रहरीले के गर्यो?
प्रहरीले जोबाट राणालाई खतरा थिए भनेको छ ती व्यक्ति को हुन्? सम्भावित आक्रमणकारी पहिचान भए? उनीहरूको खोजी, निगरानी वा अनुसन्धान भइरहेको छ? सुरक्षा दिनुपर्ने व्यक्तिलाई कार्यालयमा ल्याउनेबाहेक खतरा रोक्न के कदम चालियो? के ती व्यक्ति पक्राउ परिसकेका छन्?
भोलि प्रहरीले ती व्यक्तिबारे सार्वजनिक जानकारी गराउन सक्छ? गराउन सकेन भने प्रहरीको विश्वसनीयता के हुन्छ?
४. राणालाई पक्राउ गर्ने प्रहरीको निर्णय हो वा राजनीतिक नेतृत्वको?
यो घटनास्थलमा खटिएको प्रहरीको तत्काल निर्णय थियो, माथिल्लो प्रहरी नेतृत्वको आदेश थियो वा राजनीतिक नेतृत्वको निर्देशन थियो? उनलाई पक्राउ गर्ने वा सुरक्षा दिने निर्णयको लिखित अभिलेख कहाँ छ? प्रहरीले राणालाई पक्राउ पुर्जी वा सुरक्षा दिन लैजान लागेको भनेर लिखित जानकारी गराएको छ?
प्रहरीकै कतिपय अधिकारीहरूले राणालाई प्रहरीको निर्णयका आधारमा नभएर उच्च राजनीतिक निर्देशनका आधारमा पक्राउ गरिएको संकेत गरेका छन्।
यदि त्यसो हो भने, यो झनै गम्भीर विषय हो। उनले के बदमासी गरे? उनीविरुद्ध कसले अनुसन्धान गरेर ती बदमासी पत्ता लगायो? त्यो अनुसन्धान गर्ने अधिकारी वा संस्था कुन हो? उनलाई पक्राउ गर्न प्रहरीलाई कसले निर्देशन दियो? गृहमन्त्रीले दिए वा प्रधानमन्त्रीले दिए?
त्यसरी निर्देशन दिँदा उनीहरूले प्रहरीलाई प्रमाण उपलब्ध गराए? अनि त्यो प्रमाण राणालाई पक्रिन पर्याप्त थियो भनेर प्रहरीले पक्राउ गर्यो वा माथिको निर्देशन आउने बित्तिकै प्रहरीले उनलाई गैरकानुनी रूपमा पक्राउ गरेको हो?
५. राणाको विवादास्पद विगत र वर्तमानमा उनका क्रियाकलापले यो गिरफ्तारीमा भूमिका खेलेका छन्?
पूर्वप्रधानन्यायाधीश राणा नेपालको न्यायिक इतिहासमा सम्भवतः सबभन्दा विवादास्पद प्रधानन्यायाधीश हुन्।
प्रधानन्यायाधीशका रूपमा उनले अदालतमा भ्रष्टाचार र 'न्यायिक विचलन' संस्थागत गरेको मात्र होइन, कार्यकारी र न्यायालयबीच सीमारेखा मिचेकोसम्म आरोप लागेको छ।
राणा २०७५ पुसमा प्रधानन्यायाधीश भएका थिए। त्यसको तीन वर्षपछि उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषदमा 'आफ्नो मान्छे' नियुक्त गर्न दबाब दिए।
त्यति बेला उनका आफ्नै जेठानलाई देउवाले मन्त्री बनाएका थिए।
त्यो घटनासँगै राणाको स्वेच्छाचारिताले सीमा नाघेको र त्यसले अदालतको साख ध्वस्त बनाएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले राणाको राजीनामा मागेका थिए। उनीहरूले इजलास बहिष्कार गर्ने, उनले तोकेका मुद्दा नै नहेर्ने निर्णय गरे।
उनीविरूद्ध न्यायाधीशहरूको आन्दोलन पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोसेर गोलाप्रथा लागू गरेपछि रोकिएको थियो। गोलाप्रथा लागू गरेपछि उनले मुद्दा हेरेनन्।
प्रधानन्यायाधीशका रूपमा उनले मुद्दाका पक्षधरहरूसँग मिलेर 'बेन्च सपिङ' गराएको र उनीहरूले चाहेका न्यायाधीशका बेन्चमा मुद्दा पारेर न्यायिक विचलनलाई संस्थागत गरेको आरोप थियो।
२०७८ साल फागुनमा उनीविरूद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भयो। महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।
सर्वोच्चका वर्तमान प्रधानन्यायाधीश मनोज शर्मा राणासँग निकट व्यक्ति मात्र होइनन्। शर्मालाई सर्वोच्चमा ल्याउन राणाले प्रमुख भूमिका खेलेका थिए। राणा र शर्माको अहिलेसम्म पनि जारी निकटतालाई लिएर टीकाटिप्पणी हुने गरेका छन्।
कतिपयले अहिले अदालतमा भएका केही फैसला राणाले बाहिर बसेरै पनि प्रभावित गरेको आरोप लगाएका छन्। आफू सर्वोच्च अदालतमा रहँदा संस्थागत गरेको 'न्यायिक विचलन' लाई अहिले अदालत बाहिरैबाट पनि राणाले पुनः जागृत गरेको पनि कतिपयले टिप्पणी गरेका छन्।
यिनै कारण र सूचनाका आधारमा राणालाई राजनीतिक निर्देशनमा प्रहरीले मध्यरात पक्राउ गरेको हुन सक्ने उनीहरूको आकलन छ।
राणाको पक्राउको कारण खुल्दै जाला। तर अहिलेका लागि मुख्य प्रश्न उनलाई कानुन र विधि अनुसार पक्राउ गरिएको छ कि छैन वा प्रहरीले जिकिर गरे अनुसार उनको सुरक्षाका लागि पक्राउ गरिएको हो भन्ने अहम् विषय हो।
***