प्रेमको त्यो गोधूलि साँझमा
एक-अर्कासँग प्रेममा रमाइरहेका
ती प्रेमिल ढुकुररूपी जोडीहरू
एकाएक छुट्टिए भने,
तिमी मेरो, म तिम्रो
हुने लाखौँ लाख कसम खाएका
ती प्रेमीहरू
एक-अर्काबाटै टुक्रिए भने,
त्यान्द्रा-त्यान्द्रा बटुलेर
बनाएको विश्वासको धागो
अन्त्यमा बटुल्दा-बटुल्दै
बिचैमा चुट्यो भने,
भन त,
साँच्चै कस्तो होला?
त्यो दोबाटो,
जुन दोबाटोमा
हामी बहुमूल्य वस्तुझैँ
भेटिएका थियौँ,
हो, त्यहीँ दोबाटोमा
हामी फेरि छुटियौँ भने
के होला?
र,
हाम्रो छुटेको सम्बन्धलाई,
हाम्रो टुक्रिएको विश्वासलाई
हाम्रो प्रेमको दूरीलाई
यदि पुनः मिलन
गराउने एउटा पुल हुन्थ्यो भने,
भन त
साँच्चै त्यो पुल कस्तो हुन्थ्यो?