नेपाली महिला आन्दोलनकी शिखर व्यक्तित्व, वाम–प्रजातान्त्रिक आन्दोलनकी अग्रणी नेता, सामाजिक रूपान्तरण, सामाजिक न्याय र लोकतान्त्रिक शासन प्रणालीको स्थापनाको संघर्षकी साहसी योद्धा हुनुहुन्छ— स्व. कमरेड सहाना प्रधान।
मेरो राजनीतिक जीवनको पूर्वार्द्धमा जब म अनेरास्ववियुको केन्द्रीय महिला विभाग प्रमुख भएँ, तब समाज, आन्दोलन र पुस्ता जोड्ने उद्देश्यले र कमरेड सहाना प्रधानको जीवनको उत्तरार्द्धमा सघन संगत गर्ने मौका पाएँ।
कमरेड सहाना प्रधानलाई सम्झिँदा हामीले केवल एउटा राजनीतिक नेताको रूपमा मात्र सम्झिनु हुँदैन। उहाँलाई सम्झिनु भनेको त्यस्तो समय र समाजलाई सम्झिनु हो, जहाँ छोरीले पढ्न खोज्नु पनि विद्रोह मानिन्थ्यो। महिलाले सार्वजनिक जीवनमा पाइला टेक्नु अस्वाभाविक ठानिन्थ्यो। र, नागरिक अधिकारको कुरा गर्नु सत्ताविरूद्धको अपराधजस्तै थियो।
यही सामाजिक र राजनीतिक परिवेशमा सहाना प्रधानले प्रश्न उठाउनुभयो— छोराले पढ्न पाउने, छोरीले किन नपाउने? महिलालाई समान शिक्षा, समान अधिकार र सम्मानित नागरिकको हैसियत किन नदिने?
महिला शिक्षाको अधिकारबाट सुरू भएको उहाँको संघर्ष विस्तारै राणाशासन विरूद्धको राजनीतिक आन्दोलनसँग जोडियो।
वि.सं. २००७ सालको राणाविरोधी आन्दोलनमा उहाँ अग्रपंक्तिमा उभिनुभयो। पक्राउ पर्नुभयो, जेल बस्नुभयो र अनसनसमेत गर्नुभयो। त्यही संघर्षका क्रममा उहाँको भेट पुष्पलाल श्रेष्ठसँग भएको थियो।
पछि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालसँग उहाँको वैवाहिक सम्बन्ध गाँसियो। तर त्यो विवाह केवल एउटा राजनीतिक परिवारसँग जोडिएको सम्बन्ध थिएन; त्यो आफैमा नेपाली लोकतान्त्रिक आन्दोलनको एउटा संघर्षशील इतिहाससँग जोडिनु थियो।
पुष्पलाल त्यही परिवारका सदस्य हुनुहुन्थ्यो, जसले राणा शासनको दमन भोगेको थियो। परिवारमाथि राणा शासनले सर्वस्वहरण लगायत कठोर दमन मात्र गरेन, उहाँका दाजु शहीद गंगालाल श्रेष्ठलाई १९९७ सालमा मृत्युदण्ड समेत दियो।
त्यसैले सहाना प्रधानले केवल आफ्नो जीवनमा कठिनाइ र दमनको सामना गर्नुभएन; उहाँको वैवाहिक जीवन पनि त्यही बलिदानी लोकतान्त्रिक इतिहाससँग गाँसिन पुग्यो। निर्वासन, अभाव, पारिवारिक जिम्मेवारी र राजनीतिक संघर्षका बीच पनि उहाँले आफ्नो विचार र जनताको अधिकारप्रतिको प्रतिबद्धता छोड्नुभएन।
उहाँको जीवनको अर्को महत्वपूर्ण पक्ष महिलालाई समाजले 'मान्छे' का रूपमा स्वीकार गर्नुपर्छ भन्ने संघर्ष हो। महिला शिक्षा, सम्पत्तिमा छोरीको समान अधिकार, महिला मताधिकार, राजनीतिक सहभागिता र समानताको प्रश्नलाई उहाँले केवल महिलाको विषयका रूपमा होइन, लोकतन्त्र र सामाजिक न्यायको आधारका रूपमा उठाउनुभयो।
उहाँको प्रारम्भिक राजनीतिक सक्रियता महिला शिक्षा र नागरिक अधिकारका मागसँग जोडिएको थियो र पछि उहाँ नेपाली वाम आन्दोलनको अग्रणी नेताका रूपमा स्थापित हुनुभयो।
सहाना प्रधानको राजनीतिक यात्रा राणा शासन विरूद्धको संघर्षमा मात्र रोकिएन। पञ्चायती निरंकुशता विरूद्धको संघर्ष, लोकतन्त्रको पुनः स्थापनाका लागि, २०४६ सालको जनआन्दोलनमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
विशेषगरी विभिन्न वामपन्थी शक्तिहरूलाई संयुक्त मोर्चामा ल्याएर संयुक्त वाम मोर्चाको नेतृत्व गर्नुभयो। र, उहाँको नेतृत्वमा आन्दोलन निर्णायक रूपमा अगाडि बढ्यो। २०४६ सालको जनआन्दोलन सफल भयो। उहाँको राजनीतिक उचाइको यो महत्वपूर्ण उदाहरण हो।
आज हामीले राज्यको सबै तहमा महिलाहरूको उल्लेख्य सहभागिता पाएका छौं। सार्वजनिक र राजकीय क्षेत्रमा मात्र होइन, समाजका हरेक इकाईमा महिलाको अर्थपूर्ण उपस्थिति देख्न सक्छौं।
यी विषयहरू संविधानमा प्रत्याभूत गरिएको हो। महिलाको समान अधिकार, राजनीतिक सहभागिता र समावेशिताका कुरा। तर यी अधिकारहरू एकै दिन प्राप्त भएका होइनन्। यसको पछाडि सहाना प्रधानजस्ता अग्रज महिलाहरूले भोगेको अपमान, तिरस्कार, गिरफ्तारी, जेल, विद्रोह, अनसन, सामाजिक प्रतिरोध, पारिवारिक कठिनाइ र दशकौं लामो राजनीतिक संघर्ष जोडिएको छ।
आज सहाना प्रधानलाई सम्झिनु विगतलाई सम्झिनु मात्र पनि होइन। उहाँको मार्गमा अविचलित हिँड्नु पनि हो।
उहाँले देखाउनुभएको बाटोमा महिलाको सम्मान, समानता, स्वतन्त्रता र अर्थपूर्ण राजनीतिक सहभागितालाई अझ बलियो बनाउने संकल्प गर्नु हो। लोकतन्त्रलाई जनताको जीवनसँग जोड्ने र सामाजिक न्यायलाई व्यवहारमै स्थापित गर्ने प्रतिबद्धता दोहोर्याउनु हो।
आजको नयाँ पुस्ताले सहाना प्रधानको जीवनबाट के सिक्न सक्छन्? के सिक्नुपर्ने हो?
संघर्ष र परिवर्तनको बाटो कहिल्यै सहज हुँदैन। तर अन्यायलाई सामान्य मानेर चुप बस्नुभन्दा कठिन बाटो रोजेर पनि सही कुराका लागि उभिनु नै इतिहास निर्माण गर्नु हो।
हरेक पुस्ताले आफ्नो युगको समाजका हरेक खराबीविरूद्ध लड्न, संघर्ष गर्न र आफ्नो इतिहास निर्माण गर्ने कुरा सिक्न र प्रेरणा लिन सक्छन्।
नेपाली महिला आन्दोलन, वाम–प्रजातान्त्रिक आन्दोलन र नेपालको लोकतान्त्रिक इतिहासमा स्व. कमरेड सहाना प्रधानले पुर्याउनुभएको अतुलनीय योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँको स्मृति दिवसमा हार्दिक श्रद्धासुमन।
कमरेड सहाना प्रधानको संघर्ष, साहस र विचार नेपाली महिलाको मुक्ति र लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैं प्रेरणाको स्रोत बनिरहनेछ।
कमरेड सहाना प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छु।
(राष्ट्रियसभा सदस्य रामकुमारी झाक्री सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष समेत हुन्)