बिहानीको शुभप्रहरमा उठ्ने नेपाली गृहिणीको दिनचर्यालाई मात्र गहिरिएर बुझ्ने सामर्थ्य हामीले राख्न सक्यौँ भने महिलाको अदृश्य श्रम बुझ्न धेरै टाढा जानु पर्दैन होला। ती महिला हुन्, जो बिहानीको मिर्मिरेसँगै आफ्ना दैनिक कामको सुरुवात गर्छिन् र बेलुकाको काम नसकिएसम्म निरन्तर खटिइरहन्छिन्। आफ्नो शरीर र स्वास्थ्यको समेत खासै ख्याल नगरी घर र परिवारको आवश्यकताका लागि दिनभरि नै लगातार श्रम गरिरहेकी हुन्छिन्।
अधिकांश गृहिणी महिलाहरू घरको सरसफाइ गर्ने, चिया–नास्ता तयार पार्ने, स्कुले बालबालिकाका लागि टिफिन तथा कपडाको प्रबन्ध मिलाउने, खाना पकाउने, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त व्यक्तिको स्याहार–सुसार गर्ने, पाहुनापाछाको आदर-सत्कार गर्ने र घरायसी आवश्यक सामग्री जुटाउनेजस्ता काममा निरन्तर तल्लीन हुन्छन्।
कतिपय पहाडी तथा दुर्गम क्षेत्रका घरमा पानीको सुविधा नहुँदा महिलाहरूले अझै पनि कुवा वा पँधेरोबाटै बोकेर ल्याउनुपर्ने बाध्यता छ। त्यसैगरी, घरमा घरपालुवा जनावर पालिएका छन् भने तिनका लागि घाँसपानी तथा चरनको व्यवस्था मिलाउने कामको जिम्मेवारी पनि महिलाले नै गर्नुपर्ने हुन्छ। कुनै-कुनै परिवारमा दिउँसोको समयमा आफ्नै खेतबारीमा काम गर्नुका साथै छरछिमेकमा समेत अर्मपर्मका रूपमा श्रम गर्नुपर्ने बाध्यता हुन्छ।
यसरी दिनभरिका सम्पूर्ण घरायसी तथा खेतबारीका कामकाज सकेर सबैभन्दा ढिलो बेलुका सुत्ने पनि प्रायः महिलाहरू नै हुन्छन्। यी सबै काम उनीहरूको दैनिक जीवनको अभिन्न हिस्सा जस्तै बनेका छन्। महिलाको दिनचर्या घरायसी कामदेखि कृषि तथा सामुदायिक श्रमसम्म फैलिएको हुन्छ, जसले उनीहरूको श्रम र जिम्मेवारीको भार थपिँदै जान्छ।
तर पछिल्लो समय सदरमुकाम तथा शहरी क्षेत्रमा भने यस्ता कतिपय काम गर्ने परम्परामा क्रमिक रूपमा परिवर्तन आउन थालेको देखिन्छ। कतिपय महिलाहरू प्रविधिको प्रयोग, बजारमा उपलब्ध विभिन्न सेवा तथा बदलिँदो जीवनशैलीका कारण केही घरायसी कामको बोझ घट्दै गएको भए पनि महिलामाथिको अदृश्य श्रमभार अझै पनि उल्लेखनीय रूपमा कायम रहेको विभिन्न अध्ययन तथा अनुसन्धानबाट स्पष्ट भएको छ।
घरायसी कामको ठूलो बोझका कारण नेपालका धेरै महिलाहरू समयको अभावले बाहिर गएर पढ्न वा आम्दानी हुने काम गर्न पाउँदैनन्। राष्ट्रिय श्रमशक्ति सर्वेक्षण (२०१७/१८) अनुसार घरायसी हेरचाहको काममा संलग्न हुनुपरेकाले करिब ३९.७ प्रतिशत महिला श्रम बजारमा प्रवेश गर्न नसकेको पाइएको छ।
महिलाका यस्ता घरायसी कामको सहयोगले गर्दा नै परिवारका अन्य सदस्यहरू बिनाकुनै बाधा-अवरोध घरबाहिर गएर जागिर तथा व्यापार गर्न वा पढ्न सकेका छन् भने ज्येष्ठ नागरिक तथा अशक्तहरूले उचित स्याहार-सुसार पाएका छन्। यस्ता कार्यहरूले परिवारका सदस्यहरूलाई स्वस्थ, सुरक्षित र सक्षम बनाउन अग्रणी भूमिका खेलेको छ। यसका साथै, यही अदृश्य श्रमले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्ने जनशक्ति र काम सुरु गर्न वा चलाउन चाहिने धनसम्पत्ति निरन्तर पुनःउत्पादन तथा तथा संरक्षण गरिरहेको छ।
यस प्रकारका कार्यहरूले घर-परिवारलाई मात्र नभई समग्र समाज र देशको अर्थतन्त्रलाई समेत अप्रत्यक्ष रूपमा ठूलो टेवा पुर्याइरहेको छ। यद्यपि यी कामहरू अत्यन्त महत्त्वपूर्ण हुँदाहुँदै पनि कुल गार्हस्थ उत्पादन, राष्ट्रिय आय, रोजगारी वा पारिश्रमिकको गणनामा प्रत्यक्ष रूपमा समेटिँदैनन्।
कुल गार्हस्थ्य उत्पादनले पैसाको कारोबार हुने कामलाई मात्र गणना गर्छ, तर महिलाले घरमा गर्ने अहोरात्र कामको कुनै पारिश्रमिक मूल्य नहुने भएकाले यसलाई राष्ट्रिय तथ्याङ्कमा समावेश गरिँदैन। यसले गर्दा महिलाको योगदान तथ्याङ्कमा अदृश्य रहन्छ, जबकि यसको मूल्य अर्बौं रुपैयाँ बराबरको हुन्छ। यस कारण, यस्तो अमूल्य योगदान औपचारिक अर्थतन्त्रको दृष्टिमा ‘अदृश्य’ बन्न पुगेको छ। फलतः, उनीहरूको श्रमको उचित मूल्याङ्कन, पहिचान र कदर हुन सकेको छैन।
यति महत्त्वपूर्ण योगदान पुर्याइरहेका गृहिणी महिलाहरूप्रति परिवार र समाजको दृष्टिकोण अझै सकारात्मक बन्न सकेको छैन। कतिपय आफ्नै परिवारका सदस्य र समाजका प्रतिष्ठित व्यक्तिहरूबाट समेत ‘उनी खासै केही गर्दिनन्, घरमै बसेर बालबच्चा हुर्काउने र घरायसी काम मात्र गर्ने त हुन्’ भन्ने जस्ता अभिव्यक्ति सुनिन्छ। यस्ता सोच र भनाइले केही गम्भीर प्रश्नहरू खडा गर्छन्—के वास्तवमा गृहिणी महिलाले कुनै काम नै गर्दिनन् त? के घरपरिवार सम्हाल्नु र घरायसी कामको व्यवस्थापन गर्नु बाहिर गएर आर्थिक आम्दानी गर्नुसरहकै महत्त्वपूर्ण योगदान होइन र?
यसलाई अझ गहिरिएर बुझ्न हामीले एकपटक पुनःसोच्नुपर्ने हुन्छ कि? यदि घरकी गृहिणी केही दिन बिरामी परिन्, माइती गइन् वा कुनै कारणले घरायसी काम गर्न नसक्ने अवस्थामा पुगिन् भने घर तथा परिवारको दैनिक जीवन कति प्रभावित हुन्छ?
त्यसबेला मात्रै हामीले गृहिणी महिलाले दिनहुँ गरिरहेको श्रम र परिवारलाई दिइरहेको योगदानको वास्तविक महत्त्व महसुस गर्न सक्छौँ। यसो भनिरहँदा, हाम्रो परम्परागत समाजको दृष्टिकोणबाट हेर्दा सामान्य वा सानोतिनो कुरा जस्तो देखिए पनि गृहिणी महिलाको यही श्रमले नै परिवार, समाज र समग्र राष्ट्रलाई अघि बढाउन अप्रत्यक्ष योगदान पुर्याइरहेको छ।
अर्थतन्त्रको मौन आधार कसरी?
श्रमशक्तिको पुनःउत्पादन र निरन्तरता
महिलाले गर्ने घरायसी काम वा श्रमलाई अर्थतन्त्रको बलियो तर अदृश्य जग मान्न सकिन्छ। बजारमा गएर ज्याला कमाउन, व्यापार गर्न वा कार्यालयमा काम गर्न हरेक श्रमिकलाई दैनिक रूपमा कार्यक्षेत्रमा फर्किनका लागि खाना, सरसफाइ र हेरचाहको आवश्यकता पर्छ। महिलाहरूले घरमा बिनापारिश्रमिक गर्ने यी कामहरूले नै श्रमशक्तिलाई हरेक दिन काम गर्न योग्य र ऊर्जावान् बनाउँछन्। साथै, भावी श्रमशक्ति अर्थात् बालबालिकाको लालनपालन र हुर्काइको मुख्य जिम्मेवारी पनि महिलाकै काँधमा परेको हुन्छ।
वैदेशिक रोजगारी र ग्रामीण अर्थतन्त्र
नेपालमा पुरुषहरू ठूलो संख्यामा वैदेशिक रोजगारी तथा सहरकेन्द्रित काममा जाँदा ग्रामीण क्षेत्रको खेतीपाती, पशुपालन र घरायसी कामकाज पूर्ण रूपमा महिलाकै अदृश्य श्रममा आधारित हुन पुगेको छ। महिलाले गर्ने यस्तो श्रमले ग्रामीण परिवारको दैनिक जीवनस्तर जोगाउन मुख्य भूमिका खेलेको छ। राष्ट्रिय अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादनको करिब २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने रेमिट्यान्सको पछाडि घरभित्र महिलाले निरन्तर गर्ने यही अदृश्य श्रम नै बलियो आधार बनेको छ। तसर्थ, रेमिट्यान्सले अर्थतन्त्रलाई दिएको टेवा महिलाको यही अदृश्य योगदानको पनि प्रतिफल हो।
सरकारी तथा औपचारिक अर्थतन्त्रको खर्च बचत
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार नेपालमा महिलाहरूले कुल अदृश्य हेरचाहसम्बन्धी कामको ८५ प्रतिशत हिस्सा वहन गर्छन्। राज्यले खानेपानी, बालस्याहार र स्वास्थ्यजस्ता आधारभूत सेवाका लागि पर्याप्त पूर्वाधार तथा सुविधा उपलब्ध गराउन नसक्दा त्यसको भार पनि प्रायः महिलाहरूले नै उठाउँदै आएका छन्।
महिलाहरूले घरपरिवारमा निःशुल्क रूपमा गर्दै आएको यस्तो श्रमले राज्यले गर्नुपर्ने कतिपय खर्च र सेवाको भारसमेत कम गरिरहेको छ। त्यसैले महिलाको श्रम केवल घरायसी जिम्मेवारी मात्र होइन, सरकारी तथा औपचारिक अर्थतन्त्रको खर्च बचत गराउने महत्त्वपूर्ण, तर प्रायः अदृश्य आधार पनि हो। यसले सरकार र औपचारिक अर्थतन्त्रको आर्थिक भार बचाएको छ।
महिलाको श्रमभार कसरी घटाउने?
महिलाको श्रमभार घटाउनु भनेको महिलालाई कामबाट मुक्त गर्नु होइन; उनीहरूको समय, श्रम र जीवनलाई सम्मान गर्दै स्याहारको जिम्मेवारी परिवार, समुदाय, र राज्यबीच न्यायोचित रूपमा बाँड्नु हो। महिलाले घरायसी काममै आफ्नो अधिकांश समय खर्च गर्नुपर्ने अवस्था अन्त्य गरेर मात्र उनीहरूलाई शिक्षा, रोजगारी, उद्यमशीलता, नेतृत्व र सार्वजनिक जीवनमा समान रूपमा सहभागी हुने अवसर दिन सकिन्छ।
स्याहारसम्बन्धी सेवाको विस्तार गर्ने
स्थानीय तहबाट गुणस्तरीय र पहुँचयोग्य सार्वजनिक डे-केयर, प्रारम्भिक बाल विकास तथा ज्येष्ठ नागरिक स्याहार केन्द्र सञ्चालन हुनुका साथै स्वास्थ्य सेवाको विस्तार हुन सकेमा महिलाको अदृश्य श्रमको भार घट्न सक्छ। यसले गर्दा महिलाहरूलाई शिक्षा, रोजगारी, उद्यमशीलता र सार्वजनिक जीवनमा सक्रियतापूर्वक सहभागी हुने अवसर र समय मिल्नेछ।
कृषि तथा अनौपचारिक क्षेत्रमा महिलाको श्रमको मान्यता तथा प्रविधि र पूर्वाधारमा लगानी
महिलाको कृषि, पशुपालन, घरेलु उद्योग तथा पारिवारिक व्यवसायमा रहेको श्रमलाई तथ्याङ्क प्रणालीमा समेटी नीति, योजना र बजेटमा प्राथमिकता दिनुपर्छ। भूमि, सहुलियतपूर्ण ऋण, उत्पादनका साधन, बजार, प्रविधि तथा सीप विकासमा महिलाको पहुँच सुनिश्चित गर्न लक्षित कार्यक्रम र पर्याप्त बजेट व्यवस्था गर्नुपर्छ। साथै, श्रम बचत गर्ने प्रविधि तथा उपकरण, स्वच्छ ऊर्जा, खानेपानी, यातायात र डिजिटल पूर्वाधारको विस्तारलाई प्राथमिकता दिई कार्यक्रमको नियमित अनुगमन तथा मूल्याङ्कन गर्नुपर्छ। यसबाट महिलाको श्रमभार घटाई आयआर्जन, उद्यमशीलता र आर्थिक सशक्तीकरणका अवसर विस्तार गर्न सकिन्छ।
महिलाको आर्थिक अधिकार र अनुकूल कार्यवातावरण
महिलाको अदृश्य भार घटाएर पारिश्रमिक श्रमशक्तिमा सहभागिता बढाउन सर्वप्रथम कार्यस्थलमा ‘समान कामका लागि समान पारिश्रमिक’ को सिद्धान्तलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न आवश्यक छ। यसका साथै, अनौपचारिक क्षेत्रमा सीमित रहेका महिला श्रमिकहरूलाई औपचारिक दायरामा ल्याउँदै उनीहरूका लागि सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र न्यूनतम श्रम अधिकार सुनिश्चित गरिनुपर्छ।
महिलालाई रोजगारीमा टिकाइराख्न र उनीहरूको उत्पादकत्व बढाउन सुरक्षित, मर्यादित र अनुकूल कार्यवातावरण सिर्जना गर्नुपर्छ। यसका लागि कार्यस्थलमा लचिलो कार्यसमय, पर्याप्त मातृत्व सुविधा तथा बाल हेरचाह केन्द्रको अनिवार्य व्यवस्था हुनुपर्छ। यस्ता नीतिगत तथा संरचनात्मक सुधारले महिलाको आर्थिक स्वावलम्बन बढाउनुका साथै श्रम बजारमा उनीहरूको पहुँच र समग्र राष्ट्रिय उत्पादकत्वमा अभिवृद्धि ल्याउनेछ।
राष्ट्रिय बजेट तथा आर्थिक नीतिमा लैङ्गिक दृष्टिकोण
महिलाको श्रमभार घटाउन र उनीहरूको आर्थिक योगदानको कदर गर्न राष्ट्रिय बजेट तथा आर्थिक नीतिमा लैङ्गिक दृष्टिकोणलाई अझ बलियो बनाउनुपर्छ। यसका लागि महिलाको घरायसी श्रमलाई लैङ्गिक उत्तरदायी बजेट र राष्ट्रिय योजनाहरूसँग जोड्दै आवश्यक बजेट तथा कार्यक्रम सुनिश्चित गरिनुपर्छ। यसैगरी, ‘घरको काम महिलाको मात्रै हो’ भन्ने परम्परागत सोच बदलेर घरायसी काममा परिवारका सम्पूर्ण सदस्यको समान सहभागिता गराउन सके महिलाको समय र श्रमभार उल्लेखनीय रूपमा घटाउन सकिन्छ।
निष्कर्ष
घरायसी कामकाजलाई केवल ‘महिलाको जिम्मेवारी’ मा सीमित राख्दा नेपालको अर्थतन्त्रले एक ठूलो सम्भावना गुमाइरहेको छ। महिलाले घरभित्र गर्ने श्रम तथा स्याहारलाई अदृश्य नराखी त्यसको पहिचान, मूल्याङ्कन र सम्मान गर्ने संस्कारको विकास गर्नु आजको आवश्यकता हो। यो केवल लैङ्गिक समानता वा महिला सम्मानको विषय मात्र नभई परिवार, समाज र राष्ट्रको समग्र विकासमा उनीहरूले पुर्याएको योगदानको वास्तविक कदर हो।
महिलाको अदृश्य श्रमलाई अर्थतन्त्र र लगानीसँग जोड्न घरभित्रको जिम्मेवारीलाई साझा बनाइनुपर्छ। यसका साथै, महिलाको श्रमभार घटाउनुको अर्थ उनीहरूलाई कामबाट अलग गर्नु नभई उनीहरूको समय र क्षमतालाई अझ उत्पादनमूलक, मर्यादित र समान अवसरयुक्त क्षेत्रमा उपयोग गर्ने वातावरण सिर्जना गर्नु हो। महिलालाई शिक्षा, रोजगारी, उद्यमशीलता र सार्वजनिक जीवनमा सहभागी हुने अवसर दिँदा त्यसको प्रत्यक्ष लाभ सम्पूर्ण परिवार, समाज र राष्ट्रिय अर्थतन्त्रले प्राप्त गर्छ।
तसर्थ, महिलाको श्रम, क्षमता र सशक्तीकरणमा गरिने लगानीलाई खर्चका रूपमा मात्र नभई मानव पुँजी निर्माण, सामाजिक कल्याण र दिगो आर्थिक वृद्धिमा गरिएको रणनीतिक लगानीका रूपमा हेरिनुपर्छ। महिलाको श्रमको सही मूल्याङ्कन र अदृश्य श्रमभारमा कटौती गर्नु नै नेपालको अर्थतन्त्रलाई थप समावेशी, उत्पादकमूलक र दिगो बनाउने मुख्य आधार हो।
(लेखक लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ हुन्।)