कफीगफ
कोइम्बतोर विमानस्थलबाट निस्किनै लाग्दा मैले कुनै एक जोर आँखाले चियाइरहेको महसुस गरेँ। उनी मभन्दा दस मिनेटअघि अवतरण गरेकी हुनुपर्थ्यो।
ढोकैनेर कुर्सीमा बसेकी हुन् कि उठ्न लागेकी जस्तो हाउभाउमा देखिएको गोरो अनुहारका आँखा चिम्सा थिए। मेरो अनुमान गलत नहुने गरी त्यसमा गोलो चश्मा थियो।
'हेलो, हेलो, सो नाइस टू बी टुगेदर!' अंकमालको कसिलो न्यानोपछि मैले सोधेँ, 'कतिखेरदेखि मलाई पर्खिँदै?'
यसको जबाफमा उनले जे भनिन्, त्यसले मलाई शब्दहीन तुल्यायो।
उनले भनेकी थिइन्, 'उहिल्यैदेखि!'
कहीँ नपाएर!
मैले उपयुक्त जबाफी शब्दको जोडजाड गरिबस्ने क्षण थिएन। हामीलाई एउटै ट्याक्सी प्रबन्ध गरिएको थियो। त्यो ट्याक्सी कसरी पत्ता लगाउने भन्ने संकेत पनि इमेल गरिएको थियो।
नभन्दै 'बी.डी. ट्रेनिङ' लेखेको कागज हल्लाउँदै उभिएका छोटो सेतो दारी भएका सज्जनलाई हामीले लगभग एकसाथ पहिचान गर्यौं र मुसुक्क हाँस्दै पछ्यायौं।
हामी शब्द खेर नफाली इशाराको बलमै झोलाको थान्कोमान्को सहित ट्याक्सीभित्र पछाडिको सिटमा न्यानो भइसकेका थियौं।
'वानाकम!'
म छिमेकी देशबाट यत्ति यात्रा गर्दा त अनिँदै थिएँ, उनी त झन् होक्काइडोदेखि हानिएर आएकी। पहिला टोकियो पुग्न नै जहाजमा पाँच घन्टा लाग्यो रे।
कसले भन्यो जापान सानो देश भनेर? समुद्रमाझ सानो देखिएको न हो!
उनी आफै जापानी भने होइनन्। उनी त खेतीपाती र यसैबारे कार्यशाला चलाउन रमणीय उत्तरी टापू गएर बसेकी हुन्। उनको खास देश ताइवानबाट अरू तीन जना प्रशिक्षक किसान अर्कै उडान र अर्कै दुरी नाप्दै आउँदै थिए, जसमध्ये एक जनालाई उनी दोभाषे बन्दै पनि थिइन्।
एसियाली बायो–डाइनामिक कृषिका प्रशिक्षकहरूको पनि प्रशिक्षणमा हामी त्यता तेर्सिँदै थियौं, जता अबको एक घन्टापछि उकालो सुरू हुनेछ। नीलगिरि पहाडमा आकाशतिर उत्तानो पल्टिएको तरेली गह्राहरू सहितको एउटा फार्ममा हाम्रो साताव्यापी अभ्यास चल्नेछ।
हाम्रा धेरै कक्षाहरू भने हामी बस्ने होटलमै हुनेछन्, जसको बार्दलीबाट तमिलनाडुको त्यो प्रसिद्ध हिलटाउनका पहाडहरू कसरी दुरी समात्दै ओझेल पर्छन् र साँझ चिसो स्याँठको सर्कोले हान्न उकालो लाग्छन् भन्नेमा हामी सतर्क हुनु थियो।
हो, उटी।
फिल्म छायांकनका लागि प्रसिद्ध पहाडी नगरीमा हामी भने त्यस्तो कर्मका लागि ध्यानमग्न हुन जाँदै थियौं, जहाँ मोबाइल फोन समेत कराउन त के, खल्तीमा थर्थर हल्लियो भने पनि अरूको ध्यान विकर्षण हुने चेतावनी दिइनेवाला थियो।
आफूसँग हरक्षण झुत्ती खेल्ने आफ्नो प्रियतम अब भने अरूले देख्लान् भनेर तर्सिनुपर्ने गरी आफ्नो सबभन्दा हेलाको साथी बनाउनुपर्ने हुँदै थियो।
ग्लोरियाका लागि हामी उकालो लाग्ने पहाड कृषि प्रशिक्षणको थलो थियो भने मेरा लागि आफ्नो यौवनवयमा हेर्दै हुर्केका 'कयामत से कयामत तक' देखि 'दिल से' सम्मका मीठा गीतसंगीतका पृष्ठभूमिमा प्रेमी–प्रेमिकाका आलिंगन खिचिएका ठाउँसँग झ्याम्मिने अवसर।
मेरा लागि स्मृतिका फिल्मी रिल घुमाउने उकालो सुरू हुनेवाला थियो, ड्राइभरले ट्याक्सी छेउ लगाए।
त्यसअघि ग्लोरिया र मैले आ–आफ्ना अनुभव र अभ्यास सुनाउँदै आएका थियौं। पोहोर नेपालमा भएको एसियाली सम्मेलन र त्यसअघिका कार्यशालाहरू। अन्तर्राष्ट्रिय अन्तर्क्रियाका उतारचढाव र त्यसका अनुभव।
'यसमा लाग्नेहरूबीच किन मतभेद छन्?' मैले जान्न खोजेँ।
उनले खुसुक्क भनिन्, 'किनभने हाम्रा आ–आफ्ना व्यक्तिगत स्वभाव छन्!'
पहिला मैले आफ्नै गुनासो थोपरेँ। गाई चराउँदै मैले पढिरहेको किताब कुन हो, ल अनुमान गर्नु भनेर उनलाई पठाएको प्रश्नले महिनौंसम्म जबाफ पाएन।
मैले मोबाइल खोलेर फेरि देखाएँ। ए, अँ भनेर टारिन्।
'यो किताब पढुन्जेल मलाई तपाईंको ख्याल आयो, 'मैले किताबको आवरण तस्वीर देखाउँदै भनेँ।
त्यसपछि सायद उनले सुन्न थालिन्।
मैले किन त्यसो सोचेको थिएँ भने पोहोर नेपाल आउँदा पनि उनले ताइवानी सहभागीहरूलाई दोभाषेको भूमिका गरेकी थिइन्।
जापान बस्ने ताइवानी दोभाषे भनेर मैले चिनेको उनै थिइन् र पछिल्लोपल्ट बुकर अन्तर्राष्ट्रिय पुरस्कार पाएको उपन्यास कस्तो रहेछ भनेर पढ्न थाल्दा मेरो टस बसिहाल्यो र उनैलाई सम्झिँदै पढ्न घोरिएँ।
याङ श्वाङ–त्स्को 'ताइवान ट्राभल' खाना र यात्राको कथा भनेर पढ्न सुरू गरेको त, बाफ् रे, खाना त एउटा दृष्टिकोण जाँच्ने माध्यम मात्र रहेछ।
यसमा आओयामा र उनकी ताइवानी दोभाषे चिजुरू (ची–चान) बीचको रूचिपूर्ण सम्बन्ध छ। आओयामा स्थानीय संस्कृति बुझ्न खोजिरहेकी छिन्; भित्रबाट भने उपन्यासले सोधिरहेको छ— 'बुझ्नु' भनेको वास्तवमा के हो, र कसको आँखाबाट कसलाई हेरिँदैछ?
मीठा मीठा खाना खोज्दै डुल्ने जोडीको वृत्तान्तले भोक लगाउँदै, जगाउँदै, बास्ना, स्वाद र तिर्सना खोतल्दै जान्छ। तर भोजन केवल स्वादको विषय रहँदैन। त्यसमा राजनीति र शक्ति–सम्बन्ध पनि मिसिएका हुन्छन्। जापानी घुमन्ते र ताइवानी दोभाषेबीच सूक्ष्म शक्ति–संघर्ष खुल्दै जान्छ।
पर्यटक स्थानीय खाना खान सक्छ, स्थानीयजनसँग घुलमिल हुन सक्छ, उनीहरूको संस्कृति मन पराउन सक्छ। तर ऊ जुन औपनिवेशिक संरचनाभित्र उभिएको छ, त्यसले उसको अनुभवलाई पहिल्यै प्रभावित गरिरहेको हुन्छ भन्ने सटिक कटाक्ष छ।
आओयामाका धेरै अपेक्षा र कहिलेकाहीँ अनुचित मागहरूमार्फत उनको विशेषाधिकार प्रकट हुन्छ। ची–चान भने आफ्नो स्वाभिमानको संघर्ष मौन रूपमा गर्दै जान्छिन्।
दैनिक व्यवहारका सुक्ष्म गतिविधिमार्फत उपन्यासले ठूलो राजनीतिक शक्ति देखाउँछ। आफूलाई उदार, खुला विचारकी र जापानी साम्राज्यवादका नीतिप्रति आलोचनात्मक ठाने पनि ती महिला कसरी ताइवानी मानिस र उनीहरूको खानालाई प्रायः 'रोचक' वा 'विदेशी' अनुभवका रूपमा हेर्छिन्, खुल्दै जान्छ। आफूजस्तै समान हैसियत भएका मानिसका रूपमा हेर्न नसक्नेहरू अरूलाई कसरी विशेषण दिन पुग्छन् भन्ने चित्र सजीव बन्दै जान्छ।
जापानी औपनिवेशिक शासन होस् वा शक्तिशाली समूहहरूले आफ्नो जीवनशैली र सामाजिक संरचना थोपर्दै जाँदा स्थानीय इतिहास र अनुभवहरू कसरी ओझेल पर्दै जान्छन् भन्ने यो रोचक वर्णन हो।
सहानुभूति पनि कहिलेकाहीँ आफ्नै अनुभवको सीमाभित्र सीमित हुन्छ भन्ने कथा भएको त्यो उपन्यासप्रति उनको दृष्टिकोण थाहा पाउन त्यो सन्दर्भ निकालेको थिएँ। उनले त्यसमा पस्न खोजिनन्। बरू कृषिमा कसरी त भन्ने कोट्याउँदा उनले आफ्नो कथा फहराइन्।
उनको जीवनको कहानी, जुन कुनै फिल्मी कथा थिएन, तर फिल्म बनाउन कुनै कथाकारको आँखा पर्न बाँकी रहेछ।
'अब हामी दुई घन्टा उकालो लाग्नेछौं' भन्दै ड्राइभरले हामीलाई शौचालय, खाना, चियाकफी र केही बेर हातखुट्टा चलाउन हाउभाउ गरे।
हामी त्यो आनन्दमय राजमार्ग विश्राममा रोकिएका थियौं, जहाँ उच्च र मध्यमवर्गका यात्रु लक्षित गरिएका ब्रान्डहरू सहितका सुविधा थिए।
कफी मेसिन बिग्रिए पनि क्याफेवालाले मलाई 'फ्रेन्च प्रेसबाट बनाइदिन्छु नि' भनेर फकाए। मूल्य उच्चै लिएर फसाए! फिल्मी मान्छेहरू हिँड्ने बाटो भन्दै मैले आफूलाई सान्त्वना दिएँ।
म ट्याक्सीमा फर्केर कफी सुरूप्प पार्न लाग्दै थिएँ। ड्राइभरले मेरो कागजी कप फाल्न झ्याल खोलिदिए। मैले माथि नै लैजान्छु के भनेको थिएँ, उनले सम्झाए, 'माथि त प्लास्टिक निषेध छ।'
होटलको डस्टबिनमा हालिदिउँला भन्दै त्यसलाई दुई हातले समाउँदै ग्लोरियातिर हेरेँ। उनी अघिदेखि नै मेरो ध्यान पर्खिरहेकी थिइन्। उनी आफ्नाबारे यस्तरी खुल्दै थिइन्, म भने उनलाई पूर्ण ध्यानसहित हेर्न सकिरहेको थिइनँ।
सुन्ने मान्छे कत्तिको तयार छ नजाँची भन्ने मान्छेले भन्नु हुँदैन भन्ने मैले उनैबाट सिकेँ! म तयार भएको बल्ल भेउ पाएपछि उनले भन्न थालिन्।
कलिलो उमेरमै उनको पेसा यस्तो चमकधमकपूर्ण भएछ, जसमा शानशौकत, पैसा र सुविधाको 'कुनै सीमा' थिएन। कुनभन्दा कुन धनी, कोभन्दा को शौखिनहरूका लागि विदेशका महँगा गन्तव्यमा 'इभेन्ट म्यानेज' गर्ने।
'तपाईं पत्याउनुहुन्छ, मेरा ग्राहकहरू मिलियन डलरका त घडी नै लगाउँथे,' उनले भनिन्।
संसारको कुन ठाउँमा कहिले कस्तो 'इभेन्ट' गर्ने कम्पनीमा कार्यरत उनले बडेबडे हुनेखानेहरूको यात्रा व्यवस्थापन गर्ने क्रममै संसार बुझिन्, उपभोक्ता विश्वले तेर्स्याएका चुनौती देखिन्, मलाई भनिन्, 'हरेक कुराको सीमा हुन्छ, होइन र?'
'तपाईंको अकासिँदो जीवनमा मोड कसरी आयो?' मैले सोधेँ।
'जब म गर्भवती थिएँ, न्यूयोर्कमा एक दिन हिँडिरहेका बेला कतै लेखेको पढेँ— खाना र स्वास्थ्यबारे,' उनले पेटको बच्चा छाम्दै सोचिन्, 'मेरो बच्चाले भोलि कस्तो खान पाऊला?'
के अहिले पृथ्वीमा बलजफ्ती अभ्यास भइरहेको कृषिबाट उनको जन्मिन लागेको सन्तान स्वस्थ होला? उनी सोच्दासोच्दै कायल भइन्। र, बुझ्न थालिन्। एक जना असल कृषिका अभ्यासकर्ताको सम्पर्क मिलेर सुन्न गइन्।
'मेरो जीवन मोडियो,' उनले भनिन्, आँखा न्यानो पार्दै मतिर हेरेर भनिन्, 'पैसा कति कमाएर पुग्थ्यो र?'
ताइवान फर्केपछि आफै खेतीपाती गर्छु भनेर जग्गा खोज्न थालिन्। कृषि सिक्न थालिन्। पढ्न थालिन्। संगत बढाउन थालिन्। अहिले त अन्तर्राष्ट्रिय प्रशिक्षक भएर हिँड्ने भइहालिन्।
'अनि तपाईं अहिले त जापान बस्नुहुन्छ, ती लाखौं डलरको घडी लगाउने पुरानाहरूसँग जम्काभेट हुन्छ त? भयो भने तपाईंबारे के सोच्लान्?'
उनले मोबाइल निकालेर फोटो देखाइन्, 'यी उनीहरूलाई पनि म कहिलेकाहीँ कार्यशालामा निम्त्याउँछु। माटो छुन प्रेरित गर्छु। बिरूवाको चित्र उतार्न लगाउँछु।'
'रमाउँछन्?'
'उनीहरूका लागि त्यो धेरै भिन्न अनुभव हुन्छ,' उनले भनिन्, 'रमाउँछन्, किनभने यस्तो कार्यशालामा ध्यानको आनन्द हासिल हुन्छ।'
'जुन पैसाले किन्न पाइँदैन, है?'
हो नि!
नभन्दै भोलिपल्टदेखि उनैले हाम्रो चित्रकला कक्षा लिइन्, जहाँ हामी उनले सुविधा दिए अनुसार प्रकृतिका इशारा, बिरूवाका हाउभाउ अवलोकन र कल्पना गर्दै रङ खेलाउन थाल्यौं।
'सबैभन्दा मुख्य कुरा,' उनले सुझाइन्, 'हरेकको हाउभाउ वा इशारा हुन्छ, केही न केही संकेत हुन्छ, त्यसलाई बुझ्ने प्रयास गर्नुहोस्!'
सैद्धान्तिकदेखि व्यावहारिक कक्षा र कला कार्यशाला गर्दागर्दै छुट्टिने दिन आएपछि बिदाइको क्षण गह्रुँगो हुने नै भयो। फर्किँदा भने उनको र मेरो उडान तालिका नमिलेर मैले पहिला निस्किनुपर्ने भयो।
बिदाइको अँगालो मार्न उभिएकी ग्लोरियाले स्वर पहिलोपल्ट चर्को गरेको सुनेँ।
'नारायण।'
मैले कान टाठा पारेँ।
'तपाईं मलाई अँगालो त हाल्दै हुनुहुन्छ,' उनले थर्काइन्, 'तपाईंको ध्यान चाहिँ कता छ?'
प्रकृतिमा हरेकको इशारा हुन्छ, त्यो बुझ्नुपर्छ भनेर जसले कार्यशाला चलायो, उसैसँग आखिरी क्षणको सम्मान गर्दा मैले आफूलाई ध्यानमग्न पार्न सकेको रहेनछु।
मैले कान समात्दै भनेँ, 'खासमा म आफ्नो आँखा अघि अँगालो हालेको एलेक्सबाट हटाएर तपाईंतिर ल्याउँदै मात्र थिएँ, तपाईंले चोर पक्रिहाल्नुभयो।'
'इट्स ओके, इट्स ओके' भन्दै उनले ढाडस दिइन्। मैले पनि ध्यानमग्न हुन सिक्ने वचन मनमनै दिएको इशारा गरेँ।
बुद्धिमानीलाई इशारा नै काफी!
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle