डिपेन्डेन्ट भिसामा अमेरिका पुगेकी सीता लम्साल अहिले नर्स छिन्। अमेरिका पुगेको एक दशकमा उनले नयाँ देशको जीवनसँगै आफ्नो पेसागत यात्रा पनि अघि बढाएकी हुन्।
अहिले उनी मिसिगन राज्यस्थित ट्रोय सिटीमा बस्छिन् र कोरवेल हेल्थ विलियम ब्युमोन्ट युनिभर्सिटी हस्पिटलमा नर्सका रूपमा काम गर्छिन्।
उनको ड्युटी सामान्यतया १२ घन्टाको हुन्छ। आवश्यकता अनुसार दिन र रात दुवै सिफ्टमा खटिन्छिन्। दिनको सिफ्ट बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म हुन्छ भने नाइट सिफ्टमा बेलुका ७ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म काम गर्नुपर्छ।
'सातामा तीन दिन काम गर्ने हो,' सीताले भनिन्, 'नर्सिङ पेसाको सहज एउटा पक्ष भनेको यही तीन दिन काम गर्नुपर्ने व्यवस्था हो।'
उनले यो अस्पतालमा काम गर्न थालेको ६ वर्ष भयो। उनको युनिटमा ८ देखि १० जना नर्स छन्। एक जना नर्सले दैनिक ४ देखि ६ जनासम्म बिरामी हेर्नुपर्छ। भर्ना भएका बिरामीको हेरचाह गर्नु उनीहरूको मुख्य जिम्मेवारी हो।
यहाँ नर्सिङ असिस्टेन्ट पनि हुन्छन्। उनीहरूको सहयोग हुँदा काममा सहज हुने सीता बताउँछिन्। नेपालमा भने सहयोगी नहुने भएकाले बिरामी हेरचाहको सम्पूर्ण जिम्मेवारी नर्समै हुने उनको भनाइ छ।

काम क्रममा नयाँ कुरा सिक्नुपर्दा सहकर्मीहरूले पनि सहज बनाइदिने उनले बताइन्।
'यहाँ मसँगै काम गर्ने सबै विदेशी साथीहरू छन्, तर उनीहरू सहयोगी छन्,' उनले भनिन्।
सुरूआती दिनमा भने भाषा र उपकरणहरू केही फरक भएकाले उनलाई काममा असहज भएको थियो। कतिपय उपकरण उनले नेपालमा छँदा देखेकी समेत थिइनन्। अहिले सीता ती उपकरणसँग अभ्यस्त हुँदै गएकी छन्।
सीता एक सन्तानकी आमा हुन्। श्रीमान दिउँसो व्यस्त हुने भएकाले बच्चाको हेरचाहका निम्ति उनले आफ्नो कामको मिलाउँछिन्।
'बच्चा स्कुल जाने भएकाले अहिले सजिलो भएको छ। श्रीमानले पनि हेर्नुहुन्छ। मिलाउन गाह्रो भएको बेला बिदा लिन्छु,' उनले भनिन्।
अस्पतालले कर्मचारीलाई विभिन्न सुविधा दिएको छ। स्वास्थ्य र जीवन बिमा, पारिश्रमिकसहित महिनामा ६ दिन अतिरिक्त बिदा त्यसमध्ये पर्छन्। बिदा नलिए त्यस्ता बिदा गणना गरेर वर्षको अन्तिममा थप पारिश्रमिक पाइने उनले बताइन्।
अस्पतालले बेला बेला नर्सिङ सम्बन्धी तालिम पनि दिने गरेको छ।
सीताको जन्मघर दाङ हो। उनका बुबा सरकारी स्कुलमा पढाउँथे, आमा गृहिणी थिइन्। सीता चार दिदीबहिनीमध्येकी साइँली हुन्।
उनले गाउँकै स्कुलबाट एसएलसी (एसइई सरह) दिइन्। विज्ञान विषयमा कक्षा १२ घोराहीबाट पढिन्। उनका दिदीहरू पहिल्यै काठमाडौंमा थिए। त्यसैले कक्षा १२ सकेर उनी पनि काठमाडौं आइन्।
सीताले नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्सबाट बिएससी नर्सिङ सकिन्। त्यसपछि तुलसीपुरमा खुलेको एउटा नर्सिङ कलेजमा पढाउन थालिन्। त्यहाँ स्टाफ नर्स पहिलो वर्षका विद्यार्थीलाई पढाउँथिन्।


एक वर्ष त्यहाँ पढाएपछि उनले बिहे गरिन्। उनका श्रीमान पिएचडी गर्न अमेरिका जाने तयारीमा थिए। अनि सीता पनि २०७३ सालमा डिपेन्डेन्ट भिसामा अमेरिका गइन्।
'अमेरिकामा डिपेन्डेन्टमा आएकाले काम गर्न नपाइने व्यवस्था छ। नयाँ ठाउँ, एक वर्ष त घुमघाम र रमाइलोमै बिताएँ,' सीताले सुनाइन्, 'त्यसपछि भने नर्सिङ लाइसेन्सको तयारी गर्न थालेँ।'
एक वर्षको तयारीपछि उनले लाइसेन्स निकालिन्। त्यसैबीच आमा पनि बनिन्।
'त्यति बेला अमेरिकामा नर्सको माग धेरै थियो। जागिर पाउन कठिन भएन। छोरा एक वर्षको भएपछि अहिले काम गरिरहेको अस्पताल आएँ,' उनले भनिन्।
अहिले सीता स्नातकोत्तर तहको अनलाइन कक्षा लिइरहेकी छन्। यो पढाइ पूरा गरेपछि बिरामी जाँच गर्नेदेखि विश्वविद्यालयमा पढाउने अवसर पाउने उनले बताइन्।
काम र पढाइमा व्यस्त भएकाले लामो समयदेखि नेपाल आउन नपाएको उनी बताउँछिन्।
'२०८० र ८१ सालमा नेपाल गएकी थिएँ। त्यसपछि पाएको छैन,' सीताले भनिन्, 'सुरूमा जागिर हुँदैन, पैसा हुँदैन। त्यसपछि करिअर बनाउनतिर लागिन्छ। नेपाल आउने चाहना भए पनि समय मिल्दैन। यस्तै रहेछ विदेश भनेको।'