अमेरिकी कवि अलेक्जेण्ड्रिया पिरी आफ्नो कविता ‘कर्मचारीतन्त्रको पहाड’मा प्रशासनिक लालफिताशाहीले प्रकृतिलाई नै उपनिवेश बनाइसक्यो भनी कर्मचारीतन्त्रमाथि खिल्ली उडाउँदै छेडखानी गर्छिन्। धन्य उनलाई प्रकृतिभन्दा पर पुगेको ग्यालेक्टिक उपनिवेशको कुरा थाहा भएनछ। यदि त्यसो हुँदो हो त त्यसमाथि पनि आक्रमण गर्थिन् होली।
विज्ञान कथा ‘दी फाउण्डेशन ट्रिलोजी’का रचनाकार इस्याक आसिमोभले ग्यालेक्टिक साम्राज्यको पतन र पुनर्जागरण कर्मचारी ह्यारी सेल्डनलाई जिम्मेवार मानेका छन्। सुझबुझ र मेहनतमा कायम गरिएको साम्राज्य टर्मिनसमा महासङ्कट आइपर्यो, नजिकैको अर्को ग्रह एनाक्रियोनका शासकले टर्मिनसलाई गाभ्न खोज्यो।
टर्मिनसमा रहेका खनिज स्रोतमाथि एनाक्रियोनको आँखा गढेको थियो। यो संकटलाई सेल्डन संकट भनियो किनकि उसलाई कार्यस्वायत्तताको अभावमा यो संकट आएको थियो। टर्मिनस अत्यधिक ऊर्जास्रोत भएको टापू कब्जा गर्न मेयर साल्भोर हार्डिनले मात्र सक्ने ठानियो। हार्डिनले तीस वर्ष लगाएर समस्या समाधान गरिदिए।
केही समयपछि फेरि फाउण्डेसनमाथि बेल रिओसबाट आक्रमण भयो। फाउण्डेशनका त्यतिखेरका शासक संकटमा परे। फेरि विभिन्न हातकण्डा अपनाइन्छ, विशेषतः ब्यूरोक्रेटिक ब्यारियर मार्फत फाउण्डेशन बचाइन्छ। दोस्रो फाउण्डेसन खोल्ने काम पनि हुन्छ। पचासौँ मनोवैज्ञानिकको बलिदानीपछि सेल्डनको योजना पूरा हुन्छ।
ग्यालेक्टिक साम्राज्य विस्तार गर्नसक्ने शक्ति कर्मचारीतन्त्रमा मात्र रहेको आसिमोभले देखाएका छन्। सेल्डन योजना कर्मचारीतन्त्रीय योजना हो, सेल्डन कर्मचारीतन्त्रको प्रतिनिधि हो। आसिमोभ अलेक्जेण्ड्रिया जसरी ब्युरोक्रेसीलाई आलोचना मात्र गर्दैनन्, शक्ति र रणनीतिको पनि बखान गर्छन्।
कवि फ्रान्सिस डुगान संस्था र सरकार चलाउने नोकरशाहलाई घृणा गर्दछन्। जर्मन कवि फुनोम माकामा सामाजिक समस्या र त्यसको समाधान बीचको दूरीलाई लामो बनाउने नियमहरूको बन्डलका रूपमा कर्मचारीतन्त्रलाई लिन्छन्।
नेपालका एकजना जनजाति अधिकारकर्मीले सरकार र सर्वसाधारणबीचको विभाजक भनी कर्मचारीतन्त्रलाई आलोचना गरे। कर्मचारीतन्त्र सरकार र जनताबीचको सम्बन्ध सूत्र भनेर बुझ्दै आएको समाजका लागि यो निकै चोटिलो प्रहार थियो। यो नकारात्मक भाष्य यति विस्तार भयो कि हिमाल खबर मिडियालेले त ‘कर्मचारीतन्त्र राष्ट्र सेवक कि राष्ट्र बाधक’ भनेर छलफल नै गरायो।
क्यानाडाली कवि ज्याक एलिजनले ‘ब्यूरोक्रेसी’ कवितामा भनेका थिए–
‘लोकतन्त्रका नियमहरू सधैँ नियम हुँदैनन्
सरकार नोकरशाहमा अल्मलिन सक्छ
व्यक्ति सहयोगको अपेक्षामा पुग्छ
हाम्रो दिमाग मूर्ख कपटमा हालिदिन्छ।’
कवि जिम हर्नले कर्मचारीतन्त्रलाई लोकतन्त्रको विपरीतामा लिएका छन्। उनका अर्थमा मानिसले आफूहरूको हितको लागि पत्ता लगाएको पहिलो वस्तु लोकतन्त्र पछि कर्मचारीतन्त्र बन्यो र विवेक गुमाएर पाखण्डी बन्यो। गेर्सन ओल्फ अझैँ कडा हुन्छन्,
‘लोकतन्त्रमा, नेता आफूलाई जनतासँग मिलाउँछ
धर्मतन्त्रमा, नेता आफूलाई परमेश्वरसँग मिलाउँछ,
कर्मचारीतन्त्रमा, जनता नेताको लाइन पछाडि पर्छन्,
निरङ्कुशतामा केराउका कोसा जस्तै हुन्।’
प्रशंसामा हो कि व्यङ्ग्यमा हो, डेभिड डे वाकर ‘ब्यूरोक्रेसी अफ हेभेन’ मा भन्छन् ‘ब्यूरोक्रेसी बिना देवता पनि स्वर्गमा केही गर्न सक्दैनन्’। यो कवितात्मक भनाइमा कर्मचारीतन्त्रको अपरिहार्यता, शक्ति र शक्तिको हडपाइ एकसाथ देखिन्छ। अलेक्जेड्रिया पिरीले कर्मचारीतन्त्रीय शैलीमा रहेको कागजी उरुङ (जष्टापोज्ड) को प्रकृति विरुद्ध आक्रोश पोखेकी हुन्।
फ्रान्सिस डागनले चाहिँ कर्मचारीतन्त्रले सधैँ कमजोरलाई हानी गर्न तम्सेकोमा विरोध गरेका हुन्। जिम हर्न र गेर्सन ओल्फ कर्मचारीतन्त्र लोकतन्त्रको बाधक नबनोस् भन्नेमा छन्। कविहरूको विम्बाभिव्यक्तिमा कर्मचारीतन्त्रका कानुनी शब्दजाल गीतमा मिसिदा विचार, लय र धूनलाई अवरोध पुगेर बेसुरा बनेकोमा चिन्तित छन्।
उनीहरूको बुझाइमा यो समाजको लय र ताल बिगार्ने शक्ति हो। उनीहरूलाई थाहा छ सर्वशक्तिमान कर्मचारीतन्त्र अनुहारविहीन छ र यसको पकडाइले सामाजिक विभाजन गर्न बेर लाग्दैन। उनीहरूको चिन्ता आफ्नो संयन्त्रलाई आदर्श बनाउन गरिएका चिन्ताका अर्थमा लिनुपर्छ। किनकि कर्मचारीतन्त्र जति स्थायी, अपरिहार्य र अभेद्य वर्ग व्यवस्थित समाजमा अरू केही छैन। त्यसैले यसको विरोध गर्ने परम्परा पनि बसेको छ, यसकै गतिविधि र शक्तिभोकले पनि विरोधको पृष्ठभूमि दिएको छ।
म्याक्स वेबर कर्मचारीतन्त्रको आविष्कार (नामकरण र व्याख्या) गर्दा उसको गुणका आधारमा भनेका थिए, कर्मचारीतन्त्र संगठनका अरू रुपभन्दा आदर्श र उच्च छ। औपचारिक संस्थामा यो अभेद्य हुन्छ। तर कवि कलाकारहरू यसको अनुहारविहीनतालाई अनुदारतामा पाइरहेका छन्, औपचारिक बन्दै गएको अप्रिय शक्तिमा लिइरहेका छन्।
स्रष्टाहरू स्वभावैले स्वतन्त्रताका हिमायती हुन्छन् तर कर्मचारीतन्त्र स्वतन्त्रतालाई संरक्षण गर्न विधि र प्रक्रिया अपनाउँछ। कविका लागि स्वतन्त्रता निजत्व र खुसी (पस्र्युट अफ हेप्पिनेस) को विषय हो, कर्मचारीतन्त्रका लागि स्वतन्त्रता उन्मुक्त छैन (फ्रिडम इज नट फ्री)। यही भिन्नतामा कविका कविता, स्रष्टाका सिर्जना रहन्छन् र कर्मचारीतन्त्रको आलोचनामा निजत्वको ऐलान गर्छन्।
उनीहरूको विरोध र विद्रोह सिंगै राज्य प्रणालीप्रति हो। राज्य प्रणाली विधिमा बन्छ, स्रष्टा त्यसलाई व्यवधान सम्झन्छन्। स्वतन्त्रतालाई माया र स्वातन्त्रतालाई व्यवस्थापन गर्ने विधिबीच रहेको आधार भिन्नताले यस्तो भइरहेको छ। दुई वर्गको आन्तरिक स्वभावका कारण पनि यसो भएको हो।
कर्मचारीतन्त्र, न्यायप्रणाली र राज्य व्यवस्थाबाट सबैभन्दा आजीत स्रष्टा कोही थिए भने महान् अस्तित्ववादी फ्रान्ज काफ्का थिए। उनको विचार र विरक्तिलाई उनको निधनपछि काफ्काई दर्शनमा नामकरण गरिएको छ। काफ्काई दर्शन कर्मचारीतन्त्र र कागजी प्रक्रियाको विरुद्ध जन्मिएको थियो, जसबाट आधुनिक विश्वमा कोही पनि मुक्त छैन।
कर्मचारीतन्त्रले कमजोर मानिसका लागि कागजी जञ्जाल खडा गर्छ, निरापराधीलाई अपराधी बनाउँछ, न्यायलाई कानुनले विस्थापन गर्दछ। अपराध जहाँतहीँ छ तर कानुनले केही पनि देख्दैन।
फ्रान्ज काफ्का बाल्यावस्थामा आफ्ना पिता हर्मन काफ्काको व्यवहारबाट सताइएका थिए। खान, लगाउन, पढाइ, वृत्ति छनौट र यहाँसम्म कि प्रेमिका छनौटमा पनि पिता हर्मनको हावी थियो। हर्मन आफ्ना सपना छोरो फ्रान्जबाट पूरा होस् भन्ने चाहन्थे, उसको अनुहार हेर्थे तर उनकै कारण भयभीत फ्रान्जको अनुहारमा आफ्ना सपना पूरा हुनेमा सन्देह गर्थे।
त्यो सन्देह र चिन्ता अपेक्षाको थियो, बालक फ्रान्जको भय त्यसको परिणाम। फ्रान्ज हरेक कुरामा बुबा विम्ब (भीमकाय अजङ्ग स्वरूप) देख्थे। उनका लागि बुबा निकै शक्तिशाली (राम्रो वा नराम्रो दुवै अर्थमा) थिए। उनका अर्थमा कर्मचारीतन्त्र शक्ति, सत्ता र व्यवहारका लागि निष्ठूर पिता जस्तै अमानवीय, निरङ्कुस र निष्ठूर शक्तिमा छ।
उनका कृतिहरू मेटामोर्फोसिस, दी ट्रायल, दी क्यासल, दी जजमेन्ट, अमेरिका, पेनाल कोलोनी आदिमा यही कुरालाई प्रतीकात्मक रुपमा प्रस्तुत गरेका छन्। जीवनका सबै असन्तुष्टि र अर्थ फ्रान्ज काफ्का लेखनीमा खोज्थे। उनका लागि आफ्ना पीडा र असन्तुष्टि पोख्ने ठाउँ पनि लेखनी बाहेक अरू थिएन। सबै कृतिका केन्द्रीय चरित्र आफैँ थिए, किनकि उनका सिर्जना उनका अनुभूति थिए।
कुनै सरकारी अड्डामा कामकाजका लागि जाँदा अनावश्यक सास्ती खानु पर्छ, कागजहरू एक टेबलबाट अर्कोमा सार्न अतिरिक्त बल लगाउनु पर्छ, प्रक्रिया घुमिरहन्छ। कर्मचारीहरू बेतुकी कुराहरू बटार्दै न्याय माग्ने सेवाग्राहीलाई अल्मल्याइरहेका हुन्छन्, गल्ती कसको हो कोही भन्न सक्दैन तर सजाय निमुखा न्याय माग्नेका लागि हुन्छ। जब व्यक्ति ब्यूरोक्रेसीको चक्करमा फस्छ, निस्कने सहज उपाय बाँकी रहँदैन। यो आमदैनिकी सर्वसाधारणको बाध्यता हो। साहित्यमा यसले काफ्काई भन्ने नाम पायो।
काफ्काका कथामा राजा–रानी, हिरो–हिरोइन, कोही छैनन्। उनको हिरो सामान्य मानिस हो। त्यो आफैँ हो। खलनायक चाहिँ बुबा विम्ब। घरमा पिताबाट प्रताडित, बाहिर पिताशक्ति जस्तै बलवान समाज र शासनबाट प्रताडित। आफू र आफू अनुभूतिका कुरा आफूमा आमसर्वसाधारणलाई उतारिएका छन्। यो नै काफ्काइ विशेषता पनि हो।
उनका केही कथा प्रयोग र विम्बात्मक प्रस्तुतिलाई हेरौं। उनको बहुचर्चित कथा मेटामोर्फोसिसमा सर्वसाधारणका लागि एक सामान्य किराका रूपमा चित्रण गरिएको छ, जसलाई कुल्चिन सकिन्छ, पिसिन सक्छ, मर्न सक्छ, तर उसको जीवनको कुनै मूल्य छैन। जाबो किराको के महत्त्व?
किरा मिथकको प्राचीन कथा छ। प्राचीन प्रागमा एक दार्शनिक–वैज्ञानिक (जो जादू पनि जान्दछ) मोहरलले यहुदी आतङ्कबाट बच्न माटोको दानवको पुत्ला (गोलेन) बनाएका थिए। पुत्लाको माथि हिब्रू भाषामा ईमेथ (वा सत्य) शब्द लेखिएको थियो। प्रत्येक शुक्रबार गोलेनमा लेखिएको ई-म्याथको पहिलो अक्षर ई मेटिदिन्थ्यो, त्यसपछि बाँकी मेथ (मृत्यु) मात्र रहन्थ्यो।
त्यसपछि गोलेन माटो बन्थ्यो। कुनै शुक्रबार त्यो ई मेट्न छुटेपछि शहरमा गोलेनले सताउन सुरु गर्यो। काफ्काले यो मिथकलाई सत्य र जादू (असत्य) बीचको अन्तर देखाउन प्रयोग गरेका थिए। जहाँ मानिस माटोलाई दानव बनाउन सक्छ, त्यही एउटा जिउँदो–जाग्दो मानिसलाई प्रत्येक बिहान मूल्यहीन किरा बनाउन पछि पर्दैन।
एउटा बालक जसरी पिताको थर्काइपछि मनभरि गुम्सिएर बाँच्न बाध्य हुन्छ कर्मचारीतन्त्र मानिसको जीवनलाई त्यसरी नै बर्बाद पार्छ। मेटामोर्फोसिसमा मात्र होइन ट्रायलमा पनि एउटा मानिसको जीवन कर्मचारीतन्त्र र न्यायप्रणालीले बर्बाद पारेको छ। मेटामोर्फोसिसमा ग्रेगर साम्साका माध्यमबाट त्यो बर्बादीलाई देखाइएको छ।
किरामा बदलिएको ग्रेगर साम्साको ढाड नियम–कानुन र परिश्रमले थिचिएर कडा भएको छ तर उसका खुट्टा, हात निकै कमजोर छन्। उ त्यत्तिकै कसैबाट कुल्चिइन, पिसिन सक्छ। आफू कमजोर भएकोमा साम्सा चिन्तित छैन, परिवारको एकल जिम्मेवारी बोकेकोले ज्याला, मजदुरी गरी जीवन धान्ने चिन्तामा छ। अड्डामा कार्यालय सहयोगी पनि उसको लागि भिमकाय सत्ता हो। कथाको सार हो– समाजमा इमानदारीको कुनै अर्थ छैन, इमानदारहरू कमजोर हुन्छन् र समाजले त्यसलाई लखेट्दै जान्छ।
अर्को कथा ट्रायल कर्मचारीतन्त्र र न्यायप्रणाली प्रतिको दिक्दारीको बेमिसाल व्यङ्ग्य गर्छ। जोसेफ केको तीसौँ जन्मदिन दिन बिहान उठ्ने बित्तिकै उसको घरमा दुई प्रहरी आएर उसको घर खानतलासी गर्दै उसलाई हिरासतमा लिन्छन्। बैंकको सहायक कर्मचारी ऊ किन पक्रिइयो भन्ने जानकारीमा छैन। अनुसन्धानपछि उसलाई साधारण तारिखमा छाडिन्छ।
अब ऊ तारिखमा अल्झिरहनु पर्यो। सुनुवाइ सर्दै गयो, तारिख लम्बिदै गयो। मुद्दा लम्बिएपछि ऊ वकिल हल्डलाई समाउँछ, उसबाट झन् अल्झिन्छ। वकिलको समय लिन पनि दिनभर कुर्नुपर्ने अचम्मको अवस्था भोग्छ। जोसेफको मनमा जतिखेर पनि मुद्दाकै कुरा घुमिरहन्थ्यो, बैंकको कामलाई पनि बाधा पुग्यो। मुद्दा लम्बिएकोमा ऊ बेचैन छ तर कारण थाहा छैन।
ब्लक लगायतका व्यापारीहरू पनि अनाहकमा मुद्दामा फसेर अदालत, वकिल धाउँदैमा हैरान थिए। एकतीसौँ जन्मदिनको दिन एक वर्ष अघि आएकै दुई प्रहरी आएर फेरि पक्डेर पिट्दै उसलाई मारिदिन्छन्, ऊ प्रतिकार गर्न सक्दैन। ऊ किन मर्नु पर्यो उसलाई थाहा छैन। उसको सुनुवाइ कही भएन। मर्ने समयमा उसको मुखबाट एउटा वाक्य फत्कियो– कुकुर सरहको मृत्यु!
उपन्यासमा काफ्काले क्रिस्चियानिटी, कानुनी प्रणाली र कर्मचारीतन्त्रको व्यङ्ग्यात्मक बिम्ब प्रस्तुत गरेका छन्। अपराध के हो थाहा नभए पनि जन्मेपछि जो कुनै सजायको भागिदार हुन्छ। व्यक्ति कानुन समक्ष पुग्न त सक्छ न्याय भने पाउँदैन। गेटमा रहेको गार्ड सांकेतिक रूपमा न्यायको अवरोधक हो। गार्डले न्यायसम्म पुग्न दिँदैन, व्यक्ति केही गर्न सक्दैन न्यायको प्रतीक्षा बाहेक। र अन्त्यमा जीवन सिध्याउँछ।
सुरक्षाकर्मी देख्दा सर्वसाधारण सुरक्षित छु भन्ने महसुस हुनुपर्नेमा विपरीतमा भयभीत हुनुपर्ने बाध्यता। उनको अर्थमा कर्मचारीतन्त्रमा कोही पनि जिम्मेवारी लिन चाहँदैनन्, केवल कागज घुमाउँछन्। न्यायको बाटो छेक्न कानुन घुमाउँछन्। अर्को शब्दमा दी ट्रायलमा उपन्यासकार फ्रान्ज काफ्का अनुहारविहीन, पहुँचविहीन, बुझ्न नसकिने प्रणालीभित्र मानिसको अस्तित्व कसरी डरलाग्दो बेतुकीपनमा फस्छ भनेर कर्मचारीतन्त्रलाई आधारभूत रुपमा सुधारिन मौन चिच्याहट गर्दछन्।
उनका लघु कथा इन द पेनाल कोलोनीमा पनि अमानवीय र प्रश्नहीन प्रणालीले मानवीयतालाई पतनोन्मुख पारेको चित्र छ। काफ्काको विचारसँग सहमत हुँदै महान् आख्यानकार मुन्सी प्रेमचन्द भन्दछन्, कानुन धनीका लागि हो, गरिबका लागि त यो एक जाल हो। उनको आशय समस्त राज्य संरचना र कर्मचारीतन्त्रप्रति लक्षित छ।
यस शताब्दीकी चर्चित स्रष्टा माया आँजेलो ‘मोम्मा वेल्फेयर रोल’ कवितामा भन्छिन्– राज्यका संस्थागत सहयोग कार्यक्रमहरू न्याय नभई घृणा र सामाजिक पाखण्डमा बेरिएका छन्। ‘टेक’ कवितामा प्रशासनिक प्रणालीभित्र बाँच्ने कुरालाई विनम्र दानपात्र मान्दै भन्छिन्–‘तिनीहरू मलाई कल्याण दिँदैनन्, ऋण दिन्छन्, म तिनलाई चुपचाप स्वीकार्छु।’
उनी स्रष्टा मात्र नभई सामाजिक अभियन्ता पनि भएकीले कवितामा मानवीयता र मानव अधिकारलाई एकैसाथ राख्छिन्। उनका लेखनीमा दोहोरो मारमा रहेका नारी र डायस्पोराका पुस्ताहरू जतासुकै भेटिन्छन्।
महान् कवि पीवी शेली पनि आँजेलो जसरी नै सरकारी प्रशासन, राज्य संयन्त्र र कर्मचारीतन्त्रप्रति गहिरो दुःख पोख्छन्। उनले यतिसम्म भने कि कर्मचारी र राजाहरू जुका जस्तै परजीवी हुन्, जो टाँसिएर चुस्छन् तर सर्वसाधारणको पीडाप्रति अन्धा छन्। चान्सरी अदालतहरू सर्वसाधारणलाई न्याय दिँदैनन्, अभिजात्य वर्गको पुजारी बन्छन, शक्तिको पूजा गर्छन् र स्वतन्त्रता र सम्पत्ति खोसिदिन्छन्।
शेलीको यो भनाइलाई भारतका प्रधान न्यायाधीशले न्याय माग्ने बेरोजगार युवालाई परजीवी साँला भनेकोबाट पनि पुष्टि हुन्छ। उनको (अ) न्यायीक अभिव्यक्तिका विरुद्ध सिजेपी आन्दोलन उर्लिएर ‘युवा सरो देशके सडक पर आग ये, भुकमरी से आजादी, ले ते रहेगे आजादी’को नारामा जन्तरमन्तर लगायत प्रमुख भारतीय शहरका चोकहरू घन्केपछि मोदी सरकारले घुँडा टेक्न परेको थियो।
प्रतिरोधका स्वर–सङ्गीतमा फैज महोम्मद फैज (हम देखेंगे), बब दिल्यान (ब्लोइन इन द विन्ड) लाई आजको प्रविधि पुस्ताले सम्म निरन्तरता दिँदै आएको छ।
शेलीकै समान स्वरमा भारतीय कविहरू रविन्द्रनाथ ठाकुर, सुदामा पाण्डे ‘धूमिल’, अकबर अल्लाहवादी, हरिशंकर परसाई, अमृता प्रितमहरू कर्मचारीतन्त्रीय अदक्षतामाथि विरोध गर्छन्। रमाशंकर विद्रोही त विद्रोहको आगो नै ओकल्थे।
अमृता प्रितमले अदालत उपन्यासमा न्याय, अन्याय र त्यसप्रतिका अन्तर्विरोधहरूलाई हृदयविदारक रुपमा प्रस्तुत गरेकी छन्। प्रणालीको। तर कर्मचारीतन्त्र र साहित्य सिर्जनामा समान पहिचान भएका अशोक बाजपेयी, श्रीलाल शुक्ला, सीताकान्त महापात्र, जीतेन्द्रकुमार सोनीहरू कर्मचारीतन्त्रको आलोचनाभन्दा पनि सामाजिक–शासकीय संस्कारप्रति दिक्दारी राख्दछन्। कर्मचारीतन्त्र भित्रबाट हेरिएको बाहिर र बाहिरबाट हेरिएको कर्मचारीतन्त्रबीचको भेद सायद उनीहरूले ठम्याएका छन्।
अङ्ग्रेजी साहित्यका पिता मानिने जोफ्री चाउसर प्रमुख भन्सार अधिकृत र वृत्तिकुटनीतिक भूमिकामा थिए। यस अर्थमा उनको पहिचान पनि सिर्जना र कर्मचारीतन्त्रमा दोहोरो छ। उनी पनि भारतीय कवि र कर्मचारी भूमिकाका व्यक्तित्व जस्तै थिए। बेलायती कर्मचारीतन्त्रको क्यारिकेचर गर्दै कथाकार सर हम्फ्रे एप्लिवोयले विवीसी टेलिभिजन शृङ्खलामा यस मिनिस्टर र यस प्राइम मिनिस्टरको भूमिका निर्वाह गरेका छन्। निकै चर्चित यस शृङ्खलाले कर्मचारीतन्त्रको अनुचरवाद र शक्ति परायणताको खिल्ली उडाइएको छ।
पूर्वीय परम्पराका शृङ्गारिक र भक्तिभावी कवि पनि कर्मचारीतन्त्रमाथि काव्यात्मक आक्रमण गर्न पछि पर्दैनन्। ब्रज भाषाका महान् कवि सुरदासले श्रीकृष्णको भक्तिभावमा पनि प्रशासनमाथि हलुका व्यङ्ग्य गरेका थिए। नेपाली भाषाका आदिकवि भानुभक्तले कर्मचारीतन्त्रमाथि यसरी दिक्दारी पोखेका थिए:
‘बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली
बोल्छन् ता ख्याल गर्या झैँ अनि पछि दिन दिन भन्छन् भोलि भोलि
कि ता सक्तिन भन्नू कि ता छिनिदिनु क्यान भन्छन् यी भोलि?
भोलि भोलि हुँदैमा सब घर बित्यो बक्सियोस आज झोली।’
फ्रान्ज काफ्काको दी ट्रायल र भानुभक्तको भोलिभुलाइ समान कर्मचारीतन्त्रीय शैलीको भोगाइमा छन्। भानुभक्तको झैँ प्रत्यक्ष शैली नभए पनि महाकवि लक्ष्मीप्रसाद देवकोटा कविता र निबन्ध सिर्जनामा तत्कालीन शासकीय विसङ्गति, ढिलासुस्ती र दम्भप्रति गहिरो असन्तुष्टिसाथ सुधारको चाहना राख्दछन्।
उपन्यासकार भानुभक्त र देवकोटाका क्रमलाई भूपि शेरचन, पारिजात, ईश्वर बल्लभ, हरिभक्त कटुवाल, भवानी घिमिरे लगायत पछिल्ला पुस्ताका कविहरूले निरन्तरता दिएका थिए। यो क्रम अहिले पनि जारी छ। पारिजातले कर्मचारीतन्त्रभन्दा माथि उठेर जागिरले मानिसलाई गधा बनाउँछ, सरकारले जागिरेलाई कुकुर बनाउँछ र सत्ताले मानिसको स्वतन्त्रतालाई छिनिदिन्छ भन्ने देखाएकी छन्। वैंसको मान्छेमा मानवसत्तामाथि औपचारिक सत्ताले कसरी धावा बोल्छ भन्ने देखाएकी छन्।
सर्जकहरू किन कर्मचारीतन्त्रको आलोचना गर्छन् भन्ने प्रश्न उठ्न सक्छ। स्रष्टाहरूको साझा प्रवृत्ति के हो भने उनीहरू सम्भ्रान्तता र शोषणको स्वभावैले विरोध गर्दछन्, जबाफदेहिता र न्यायको पैरवी गर्दछन्। स्वतन्त्रता र न्यायको पक्षपोषण स्रष्टाहरूको साझा चरित्र हो। त्यसैले यो विरोधभन्दा पनि आलोचनात्मक चेतमार्फत सुधारको चाहनाा हो। मेथ्यू आर्नोल्ड साहित्यलाई जीवनको आलोचना भन्दछन्।
इज्रा पौण्डका अर्थमा साहित्य त्यस्तो समाचार हो जो सधैँ ताजा रहन्छ। सामाजिक ताजापनका लागि साहित्यकारहरू सिर्जना गर्छन्। जोहन किट्स कविता (सिर्जना) लाई सौन्दर्यको खोजीमा केन्द्रित कला भन्दछन्। सौन्दर्य भनेको सभ्यता र समृद्धि हो। साहित्य सिर्जना मानवीय विचार, भावना र अनुभूतिको अभिव्यक्ति हो। स्रष्टाहरूसँग त्यो अभिव्यक्ति गर्ने सामर्थ्य कला दुवै हुन्छ। त्यसो गरिएकै आधारमा उनीहरू स्थायी प्रतिपक्षीमा पनि दहिन पुग्छन्।
साहित्य कल्पना (इमाजिनेसन) पनि हो, कल्पना बहुधा सिर्जनात्मक र कलात्मक हुन्छ। बाह्य बौद्धिकतामा हुन्छ, सबै मानिस र मानवेतर प्रजातिका लागि समेत हुन्छ। यो आवेग संवेगको उलाई हो, जुन खास अवस्थाप्रतिको मनोवैज्ञानिक प्रतिक्रिया रहन्छ। साहित्य सौन्दर्य हो, सुन्दरता खातिर आदर्श आग्रह गर्नु यसको काम हो। साहित्य जीवनको अभिव्यक्ति हो, त्यहाँ समाज, संस्कार र मानवीय स्पन्दनहरू रहन्छन् नै।
साहित्य स्थायी र कालजयी हुन्छ, युगपर्यन्त सुखशान्तिका लागि प्रजननशीलता यसले बोक्छ। त्यसैले यसले शासन, प्रशासन, तन्त्र–कर्मचारीतन्त्रको पुनर्वोध गर्न घोच्ने, झोस्ने, आग्रह–अनुरोध गर्ने कलात्मक मार्ग यसले औँल्याएको हो। यो आलोचना आदर्शप्रति हो, यो अपरिहार्यशक्तिप्रति हो।
कर्मचारीतन्त्र अपरिहार्य, अभेद्य, अविच्छेद्य र झण्डै अस्पृश्य शक्ति संरचनालाई सुधार्न सकिन्छ, विस्थापन गर्न सकिँदैन। टी एस इलियटले भने झैँ एउटा स्रष्टा वैयक्तिकतालाई समर्पण गरेर लेख्न सक्दैन, उनले कुन बौद्धिक सन्दर्भमा भने कुन्नि? बरु उनैले अर्को प्रसङ्गमा भनेझैँ मानिसलाई बचाइराख्ने, उसलाई उद्धार गर्ने समस्त उपायमा साहित्य रहन्छ। आत्मिक मुक्ति (आनन्द), सत्य र सौन्दर्यका प्रस्फुटन, मानवीयताको जगेर्ना मार्फत यसले मानिस र उसको संस्था संरचनालाई जागा बनाइराख्छ।
त्यसो त कवि, स्रष्टालाई नै आक्रमण गर्ने, बेतुकी सम्झने विद्वानहरू पनि नभएका होइनन्। क्रान्तिकारी स्रष्टा लु शुन (झाऊ सोरेन) ले साहित्यलाई उपहास गर्दै भनेका थिए– जब क्रान्तिकारीहरू क्रान्ति गर्छन्, त्यसपछि मात्र साहित्यकार जन्मन्छन्।
उनले यतिसम्म पनि भने–ए साहित्य! ए साहित्य!! तिमी सबैभन्दा बेकामे चिज हौ। शक्ति नभएको मात्र तिम्रा कुरा गर्छन्, वास्तविक शक्ति भएका कोही पनि कुरा गर्न रुचाउँदैनन्, तिनीहरू केवल मानिसको हत्या गर्छन्। लु शुनका विचार सबै साहित्य सर्जकका लागि नभएर खास चरित्रकालाई मात्र भनिएको हुनुपर्छ। कार्ल माक्र्स मुख्य काम भन्नु होइन गर्नुमा छ भनी भावना होइन कार्यको कुरा गर्थे।
ईसाको चौथो शताब्दीमै आचार्य प्लेटोले कविहरूको यतिसम्म खेदो गरे कि उनले कल्पना गरेको रिपब्लिकको आदर्श राज्य (युटोपिया) बाट कविहरूलाई निर्वासन गर्ने घोषणा नै गरेका थिए। उनी आफैँ महान् कवि थिए, उनका सबै भाषण कवितामय, विचारमय हुन्थे।
उनीजस्ता ज्ञानका अवतारले कविलाई ‘हाम्रो मुलुकमा तिमीजस्ता कविहरूलाई रहने कुनै प्रमाङ्गी रहने छैन, ऐनले तिमीहरूलाई मञ्जुरी गर्दैन’ भनेका थिए। तर उनले आफ्ना गुरु सुकरातले महाकवि होमरको कवित्वप्रति गरेको प्रशंसाको सम्मान गरेका थिए। भर्खर चरित्र निर्माण गर्ने क्रमका युवाहरूलाई विधि व्यवस्थाबाट भड्काउने र ईश्वर र राजाप्रति अनास्थाभाव जगाउने काम कविले गर्लान भन्ने उनलाई चिन्ता थियो।
कवि, स्रष्टाहरू आलोचनात्मक चेतसामर्थ्य राख्छन्। उनीहरू स्वच्छन्द आदर्श (आइडिएल) मा हुन्छन्। उनीहरूको अर्थमा कर्मचारीतन्त्रले आइडिएललाई वास्तविकतामा पुग्न दिँदैनन् भन्ने बोधले कर्मचारीतन्त्रप्रति उनीहरू आलोचक र आक्रामक रहँदै आएका छन्। स्रष्टाको निजत्वप्रतिको उर्लाई र कर्मचारीतन्त्रको सम्यक रणनीतिबीच विभेद रहन्छ।
स्रष्टाहरू आवेगमा उर्लिन्छन्, कर्मचारीतन्त्रको संरचनास्वभावले त्यसरी नै प्रतिक्रिया दिन सक्दैन। स्रष्टा भावना, कल्पना र स्वतन्त्रताका प्रतीक हुन्, कर्मचारीतन्त्र नीति, विधि, परिधि र मर्यादामा परिसीमित हुन्छ। कर्मचारीको मन ठूलो भए पनि मुख सानो हुन्छ। स्रष्टा र कर्मचारीतन्त्रबीच यो भेद राज्यव्यवस्था सुरुदेखि अहिलेसम्म तानिएको छ। विभेदको दूरी साँघुरिन्छ तर मेटिँदैन। किनकि मानवीय अपेक्षा र निजत्वको आनन्द सीमाहीन छ, मर्यादा र पदीय जिम्मेवारीका आफ्नै सीमा छन्।