असारको समयमा पनि काठमाडौंको तापक्रम बढ्दो छ। पर्याप्त पानी पर्न नसक्दा प्रचण्ड गर्मी छ। लोक सेवाको परीक्षा दिनका लागि हेटौंडा जाने तर्खरमा बल्खुमा गाडी चढ्ने तर्खरमा छौँँ साथी अंकित र म । अनलाइन टिकट अघिल्लो दिन नै काटिसकेकाले टिकट काट्ने झन्झट भने भएको छैन। अंकित र म इभी गाडीको ५ र ६ नम्बरको सिटमा बसेर काठमाडौंबाट हेटौंडाको यात्रा तय गर्यौँ।
गाडीमा गीतहरू एकपछि अर्को बज्दै छन्। ड्राइभर दाइले आफ्नो लयमा गाडी चलाउँदै छन्। अंकितको मोबाइलमा फोन आयो। अंकितले भन्यो- दाइ प्लेन चढ्नु भो?
उताबाट सायद केही समय कुर्नुपर्छ भन्ने आवाज आयो होला। अंकितले 'ल म गाडी चढेँ। तपाईं उता धनगढी पुगेपछि कल गर्नुहोला' भनेर फोन राख्यो।
नेपालको हवाई यात्रा पनि अनौठोको छ। जब पुग्नुपर्ने हतार हुन्छ तब प्लेन डिले भएको हुन्छ।
अंकितको घर सुदूरपश्चिमको दार्चुला जिल्ला भएकाले घर पुग्न यात्रा धेरै नै तय गर्नुपर्ने थियो।
अंकित मलिन भएको मलाई भान भयो। उसको मुहार मलिन भएको देखेपछि मैले अंकितलाई सोधेँ।
‘हिजोमात्र आउनुभएको दाइ आज अचानक किन हतार हतारमा घर जान लाग्नुभयो ?’
अंकितले भन्यो ,‘घरमा बुवा बिमारी हुनुभएछ। घरमा आमा र भाउजू मात्र हुनुहुन्छ। त्यही भएर दाजु तत्काल जानुपर्ने भयो।’
मैले सोधेँ, ‘सामान्य बिरामी कि अलि गाह्रो भएको छ ?’
उसले भन्यो, ‘अलि च्यापे जस्तो छ। हिजो साँझ आमाले नै फोन गरेर बुवालाई व्यथाले अलि च्यापेको छ भनेर भन्नुभयो, सामान्य भएको भए त्यसरी फोन नै गर्नुहुँदैनथियो।’
यो कुरा मलाई पनि विश्वास भयो। किनकी घरमा सानोतिनो बिरामी परेको खबर बुवा आमाले मलाई पनि भन्नुहुँदैन। सायद बाहिर बसेकालाई बढी पीर पर्छ भनेर होला।
मनमा साह्रै नराम्रो लाग्यो उता बिरामी भएको बुवालाई भेट्न जान मन कसको हुँदैन होला र तर कतिपय इच्छाहरू मारेर नै भए पनि लोक सेवाका परीक्षाहरू दिनुपर्ने बाध्यता लोक सेवा पढ्ने हरकोही विद्यार्थीलाई हुन्छ।
सायद मैले पनि भन्न सक्थेँ, भन्न पनि मन थियो। यो वर्ष परीक्षा नदिएर केही हुँदैन बिरामी बुवालाई उपचार गर्नको लागि घर जाऊँ भनेर। तर साथीको यो अन्तिम परीक्षा थियो। उसको उमेर ३५ वर्ष पुगिसकेको थियो। फर्म भरेको यो अन्तिम वर्ष थियो। जसरी पनि नाम निकाल्नुपर्ने बाध्यता थियो।
अंकितलाई म ढाडस दिन्थेँ। केही हुँदैन बुवालाई ठिक हुन्छ।
‘परीक्षा दिएपछि उतै हेटौँडाबाट घरमा जाँदा हुन्छ बरू,’ मैले भनेँ।
साथीले पनि त्यही योजना बनाएर हिँडेको बतायो।
घरमा कोही बिरामी हुँदा कसरी पो पढ्न सकिएला? दिमागमा अनेकथरी कुराहरू खेल्छन्। साथीको मनमा पनि यही कुराहरू खेलेको मैले अनुभूति गरेँ।
अंकित पनि केही मन बुझाएको जस्तो त गर्यो तर, मन न हो कहाँ भनेको जस्तो हुन्छ र? अनेक कुराहरू मनमा तरंगीत भइरहेको हुन्छ। सायद उसको मनमा पनि यही कुराहरू खेलेको हुँदो हो।
घर नजिक भए पनि चाँडै पुग्न सकिन्छ भन्ने हुनु। घर दार्चुला जिल्ला भएकाले पुग्न हिँडेको दुई देखि तीन दिन सम्म लाग्ने लाग्थ्यो। तत्काल सम्भव नै थिएन।
हामी हेटौँडा पुग्यौँ। अंकितको दाइ पनि धनगढी पुगेको जानकारी उसलाई फोन मार्फत गराउनुभयो।
दुई दिन नै बसेर लोक सेवाको परीक्षा दिनुपर्ने भएकाले हामी कोठा खोज्नतर्फ लाग्यौँ। केही समयको कसरतपछि दुई वटा बेड भएको एट्याच बाथरूम सहितको बुद्धचोक नजिकै कोठा पायौँ। कोठा न १०७ मात्र खाली रहेछ त्यो होटलमा। हामी त्यही बस्ने निधो गर्यौँ।
असारको समय पानी झमझम पर्नुपर्ने समय भएपनि घामको रापले हेटौंडा बजार गर्मीले तातेको छ।
त्यही तातो सहरभित्र होटलको कोठा न १०७ मा सिलिङको पङ्खा शितलता प्रदान गर्नका लागि निरन्तर चक्कर लगाउँदै छ। तर हावा भने तातो नै छ। त्यही पंखाको तल म र अंकित लोक सेवाको परीक्षा दिन जाने हतारोको बीच अन्तिम सयमा किताबका पानाहरू पल्टाउँदै केही मात्र पढ्न बाँकी छ झै गरी अन्तिम तयारी गर्दै थियौं। लोक सेवाको बागमती प्रदेशको पाँचौं तहको परीक्षा १ बजेदेखि थियो। बिहान ११ बजेको थियो। परीक्षा भवनमा आधा घण्टा अघि नै जानुपर्ने भएकाले हामी खाना खाएर परीक्षा दिन जाने अन्तिम तयारीमा थियौँ। साथीको मोबाइलमा फोन आयो। साथीले पढ्दै गरेको किताबको नजर फोनतर्फ लगाउँदै फोन उठायो।
कुरा गरेको केही बेरमा नै साथीको आँखाबाट आँसुको थोपाहरू आएको देखेँ। साथी घुक्क घुक्क गर्दै रोयो। अंकितको घरमा केही अप्रिय घटना भएको रहेछ भन्ने आभास पाएँ। नभन्दै उताबाट घरनजिकका आफन्तले फोन गरेर बुवा बितेको खबर सुनाएछन्। तँ आउन ढिला होला जस्तो छ, बुवाले संसार छोड्नु भयो। हामीले सतिगति गर्छौँ भनेछन्।
'बा बित्नुभएछ। बुवासँग अन्तिममा भेट्न लेखेको रहेनछ,' यति भन्दै अंकित रून थाल्यो।
उसको बुवासँग भेट नभएको एक वर्षभन्दा बढी नै भएको थियो। प्रायः काठमाडौं बसेर लोक सेवा पढ्नेहरू एक वर्षमा मात्र घर जाने गर्दछन्।
साथीले मोबाइल बेडमा फालेर एकोहोरो भएर आँसु आँखामा टिलपिल पारेर रून लाग्यो। मैले उसलाई सम्झाउने प्रयास गरेँ। पीर नगर जे नहुनु भयो , अब आफुलाई सम्हाल्नुपर्छ भनेँ। तर, अर्काले भनेजस्तो सजिलो कहाँ हुन्छ र? मनलाई सम्हाल्न। घरको अभिभावक, घरको प्रमुख व्यक्ति नै अब संसारमा हुनुहुँदैन भन्ने सुन्दा कसको मन मान्ला र?
अंकित सम्झिएजस्तो त गर्यो तर मनमा कति पीर परेको छ भन्ने केबल उसले मात्र महसुस गर्न सकेको हुँदो हो।
अब परीक्षा छाडेर जाउँ भने घर पुग्न नै दुई दिन लाग्छ शवलाई जलाइहाल्छन्। नजाउँ भने यता मन भत्भति पोलेको छ। के गर्ने, के नगर्ने भन्ने दोधारमा ऊ छ। मैले पनि के सल्लाह दिउँ केही सोच्नै सकिँन।
अन्तिम वर्षको परीक्षा। अब अर्को वर्ष दिऊँ भने मिल्दैन। मैले पनि अब परीक्षा सकेर नै जानु भन्ने सल्लाह दिएँ। उसले पनि त्यही कुरा नै सोचेको बतायो।
हामी पहिलो दिनको परीक्षा दिनको लागि कोठाबाट निस्कने तयारी गर्यौँ। साथीलाई त्यस्तो समस्या परेपछि मलाई पनि दुःख लाग्नु स्वाभाविक नै हो।
अंकित र म सँगै निस्कियौँ। मेरो र अंकितको परीक्षा सेन्टर फरक परेकाले फरक फरक गाडी चढेर परीक्षा सेन्टर लाग्यौँ।
सेन्टरमा पुगुन्जेलसम्म पनि अंकितको बारेमा नै सोच आयो। साधारणतया परीक्षा दिने समयमा मनमा केही कुराको तनाव हुनुहुँदैन भन्छन्। तर, साथीको त्यो अवस्थामा कसरी मन सम्हाल्न सकिन्छ होला ? मैले कल्पना पनि गर्न सकेको थिइनँ।
दुःखहरू पनि यस्तो बेला आइदिन्छन्, जतिबेला संघर्षको उत्कर्ष समय चलेको हुन्छ। साथीको अवस्था पनि सायद यस्तै थियो।
मैले परीक्षाको अवधिभर साथीको मनमा के कुरा खेलिरहेको होला भन्ने नै सोचिरहेँ। मैले पनि परीक्षामा प्रश्नहरूको हल त गरेँ तर निरन्तर साथीको अवस्थाको बारेमा मेरो मानसपटलमा त्यो दुःखद क्षणको बारेमा कुरा खेलिरह्यो।
परीक्षा सकिएर कोठामा आएपछि अंकितलाई मैले सोधेँ-परीक्षा कस्तो भयो त ?
उसले ठिकै भएको कुरा बतायो। परीक्षा राम्रो भएको बताएकोमा मेरो मनमा केही खुसी भने पलायो। मलाई मेरो परीक्षा भन्दा उसको परीक्षा नबिग्रियोस् भन्ने थियो। किनभने मेरो त बरू उमेर केही बर्ष बाँकी रहेको थियो। तर उसको भने उमेर सकिन लागेकाले उसको परीक्षा राम्रो होस् भन्ने मात्र थियो।
उसले बाहिरको केही खाने कुरा केही पनि खाएन। सायद मान्छेलाई समस्याहरू र दुःख पर्यो भने भोक प्यास केही पनि लाग्ने रहेनछ भन्ने लाग्यो।
अर्को दिनको परीक्षा सकेर साथी घर जाने भयो।
परीक्षा सकिएसँगै साथीलाई बसपार्कबाट गाडी चढाएँ। साथीलाई गह्रौँ मन सहित घरसम्मको यात्रा सहज होस् भन्दै बिदाइका हात हल्लाउँदै म पनि गाडी चढेर काठमाडौँ आएँ।