हामीले चाडपर्वका विधि जोगायौं, तर तिनले सिकाउने जीवनदर्शन कति आत्मसात् गर्यौं?
मन्दिर र गुम्बा जोगायौं, तर मनको पवित्रता कति जोगायौं? देवताको आराधना गर्यौं, तर आफ्नै जीवनमा कति दिव्यता जगायौं?
संस्कृतिको संरक्षण अत्यावश्यक छ, यसमा फरक मत हुन सक्दैन। तर संस्कृतिको वास्तविक गौरव त्यसका परम्पराहरू जीवित रहनुमा मात्र होइन, तिनले मानिसको चेतना, चरित्र र जीवनलाई कति उन्नत बनाउँछन् भन्नेमा पनि छ।
समाजको आत्मा त्यहाँ रहेका नागरिकहरूको सोच, बोली र व्यवहारबाट थाहा लाग्छ, जसको विकास चेतनाको गहिराइमा पुगेर मात्र सम्भव हुन्छ।
अहिले नेपाली समाज एकअर्काका चाडपर्वहरूको इतिहास खोतल्नमा, यी पर्व कसले मनाउने या कसले बहिष्कार गर्ने भन्नेमा र मनाउनेले रीति कसरी पुर्याउने भन्ने प्रारम्भिक प्रश्नमै केन्द्रित देखिन्छ।
कसैको ध्यान पनि यी पर्वहरूको मूल आध्यात्मिक प्रयोजन के हो अर्थात् कुन दिव्य लक्ष्य पूरा गर्न यिनको आरम्भ भएको थियो, र आजसम्मको अनुभवले त्यो लक्ष्य पूरा भयो कि भएन भन्नेतर्फ गएको देखिँदैन।
फलस्वरूप, चाडपर्वलाई हेर्ने हाम्रो दृष्टि सम्प्रदायगत, सामाजिक र राजनीतिक मात्र बन्न पुग्यो, यिनले मानव चेतनामा पारेको या पार्न सक्ने प्रभावतिर हाम्रो दृष्टि नपुगेको स्पष्ट हुन्छ।
हाम्रा चाडपर्वहरू मात्र सामाजिक उत्सवका लागि बनेका थिएनन् किनभने प्रत्येकमा धार्मिक आराधना र आध्यात्मिक उपासना जोडिएको छ— चाहे तीजमा गरिने भगवान शिवको आराधना, दसैंमा गरिने शक्तिको आराधना, यमपञ्चकमा गरिने प्राणीहरूको पूजा, म्हःपूजा अन्तर्गतको आत्मपूजा या त छठ पर्वमा गरिने विवस्वान् सूर्यको आह्वान नै किन नहोस्।
बाहिर गरिने कर्म र उत्सवसँगै व्यक्तिमा पर्नुपर्ने मनोवैज्ञानिक प्रभावतिर हाम्रा पुर्खाहरू अत्यधिक सचेत रहेको देखिन्छ।
तर कालान्तरमा यिनको बाहिरी स्वरूपतिर मात्र अथाह बहस सिर्जना हुँदासम्म पनि यिनको आध्यात्मिक आयामहरूको चर्चा कतै उठिरहेको देखिँदैन।
हाम्रा चाडपर्वहरूको सांस्कृतिक सौन्दर्य अनुपम छ। तर तिनको वास्तविक उपलब्धि तब मात्र प्रकट हुन्छ जब उपासना हाम्रो भोजनको छनोटमा, पूजा हाम्रो व्यवहारमा, भक्ति हाम्रो हृदयमा, ध्यान हाम्रो चेतनामा र साधना हाम्रो दैनिक जीवनमा प्रवेश गर्छ।
सत्य दुई कोटि या तहका हुन्छन्— तत्कालीन र आत्यन्तिक।
चाडपर्वले दिने आत्मीयता, मनोरञ्जन, सांस्कृतिक भावना र आर्थिक कारोबारमा वृद्धि तत्कालीन सत्य हो भने मानिसको चेतनामा यिनले सिर्जना गर्ने बोध आत्यन्तिक सत्य हो।
जुन समाजले यी दुवै सत्यमा काम गर्दैन, त्यो समाज अति सतही, भौतिकतावादी र न्यून चेतना भएको हुनेछ।
भगवद्गीता भन्छ— उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् — भगवद्गीता ६.५।
अर्थात्, मानिसले आफ्नै प्रयासद्वारा आफूलाई उन्नत गर्नुपर्छ, आफूलाई अधोगतितर्फ लैजानु हुँदैन।
यही आत्मोन्नतिको दृष्टिले अब हाम्रा चाडपर्वहरूलाई हेर्ने समय आएको छ।
यस आलेखको आशय सबै चाडपर्वमा निहित तत्कालीन तथा आत्यन्तिक सत्यलाई उजागर गर्नु नभएर केही पर्वहरूको उदाहरण दिँदै यी दुवै आयामबाट कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिनु हो।
दसैंले दुर्बलता कम गर्यो त?
दसैंमा देवीको आराधना गर्दैगर्दा आफूभित्रका आसुरी प्रवृत्तिमाथि पनि विजय प्राप्त गर्ने काम कति भयो, त्यसको इमानदार समीक्षा गरौं र आवश्यक परिवर्तन ल्याउने संकल्प गरौं।
दुर्गासप्तशतीमा महिषासुर, शुम्भ र निशुम्भमाथि देवीको विजय धर्मशक्तिको महिमा हो। त्यस कथालाई आफ्ना अहंकार, लोभ, क्रोध र मोहविरुद्धको आन्तरिक साधनाका रूपमा पनि मनन गरौं।
देवीको विजयको उत्सव मनाउँदै आफ्नै जीवनका दुर्बलतामाथि विजय प्राप्त गर्ने प्रयास गर्यौं भने बल्ल पर्वहरूको र मानव जीवनको सार्थकता रहनेछ।
अमृतको खोजी बनोस् यमपञ्चक
यमपञ्चकमा मृत्युलाई स्मरण गरेर आराधना गर्दा जीवनभित्रै लुकेको मृत्युको बोध बढाउँदै बाँकी रहेको जीवनलाई अझ सार्थक बनाउने उपाय खोजौं। कठोपनिषदमा यमले नचिकेतालाई श्रेय (तत्काल सुख दिने विषय) र प्रेय (तत्काल अप्रिय लागे पनि आत्यन्तिक सत्यसम्म पुग्ने सेतु) बीचको भेद सिकाउँछन् (१.२.१–२)।
चाडपर्वमा प्रिय लाग्ने सुखहरू उपभोग गरौं, तर शारीरिक, मानसिक, भावनात्मक र चेतनागत स्वास्थ्यको कल्याणलाई नबिर्सौं। जीवन सीमित छ भन्ने बोधले हाम्रा सम्बन्ध, कर्म र प्राथमिकताहरूलाई अझ विवेकपूर्ण बनाओस्।
एक दिनको पूजा मात्र कि वर्षभरिको व्यवहार?
काग र कुकुर तिहारमा प्राणीको पूजा गर्दा करूणालाई वर्षभरि जीवित राखौं।
भगवद्गीतामा भनिएको छ— अद्वेष्टा सर्वभूतानां मैत्रः करुण एव च — भगवद्गीता १२.१३।
अर्थात्, सबै प्राणीप्रति द्वेषरहित, मैत्रीपूर्ण र करुणामय हुनु भक्तको गुण हो।
एक दिन कुकुरलाई खोजीखोजी माला लगाइदिने तर वर्षभरि नै दुःख पाएका सडकआश्रित कुकुरहरूप्रतिको हाम्रो दृष्टि करुणामा रूपान्तरित भइरहेको छ कि छैन भन्ने पनि हेक्का राखौं।
प्राणीप्रतिको श्रद्धालाई प्राणीसेवामा बदल्नु नै पर्वको देशना हो।
धनको पूजासँगै असली धनको खोजी
लक्ष्मीपूजामा धनको आराधना गर्दा धनासक्तिमा कमी आई धनमोहबाट मुक्त हुने साधना पनि गरौं।
ईशावास्य उपनिषदको पहिलो मन्त्रले भन्छ —
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम्।
त्यागभावसहित उपभोग गर; अरूको धनप्रति लोभ नगर।
धन आर्जन गरौं, समृद्ध बनौं, तर समृद्धिसँगै उदारता, सन्तोष र नैतिकता पनि बढाऔं। घरको अन्धकार हटाउन दीप बालौं, मनको अन्धकार हटाउन विवेक र ध्यानको अभ्यास गरौं।
बाहिरबाट प्राप्त हुने धन तत्कालीन सत्य मात्र हो; आत्मज्ञान नै असली धन हो, जुन हामीलाई पर्खेर बसेको छ।
टीका हुँदै आत्मज्ञानको बाटो
भाइटीकामा दाजुभाइलाई प्रेमको टीका लगाउँदा सम्बन्धमा दिगो विश्वास, सम्मान र आत्मीयता बढाउने अभ्यासका साथै तिनको आत्मज्ञानमा मद्दत पनि गरौं। टीकाको पवित्रता वर्षको एक दिनमा सीमित नराखौं।
सम्बन्धमा क्षमा, संवाद, सहयोग र प्रेमलाई दैनिक व्यवहार बनाऔं। सँगसँगै आफ्ना परिवारका सदस्यहरूको शरीर र मन मात्र नभएर आत्माको विकासतिर पनि ध्यान पुर्याऔं।
नश्वर शरीरको पूजाबाट सनातन आत्माको बोधसम्म
म्हःपूजामा आफ्नै अस्तित्वको आराधना गर्दा आत्मज्ञानको खोजी पनि गरौं।
बृहदारण्यक उपनिषद २.४.५ मा भनिएको छ — आत्मा वा अरे द्रष्टव्यः श्रोतव्यो मन्तव्यो निदिध्यासितव्यः।
आत्माको साक्षात्कार गर्नुपर्छ; त्यसका लागि श्रवण, मनन र निदिध्यासन आवश्यक छन्।
आफ्नो शरीरको सम्मान गरौं, तर शरीरमै सीमित आफ्नो परिचयलाई पनि प्रश्न गरौं। आफ्ना विचार, भावना र अहंकारलाई सजगतापूर्वक निरीक्षण गरौं।
म्हःपूजालाई आत्मसम्मानसँगै आत्मबोधतर्फको यात्राको अवसर बनाऔं।
उपासनादेखि सेवासम्म
छठपर्वमा सूर्यलाई अर्घ्य चढाउँदा प्रकृतिको संरक्षणलाई पनि आफ्नो धर्म बनाऔं।
ईशावास्य उपनिषदको पहिलो मन्त्रले भन्छ— ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्।
'यस जगतमा जे जति छ, सबै ईश्वरद्वारा आवृत छ' भन्ने उपनिषदको दृष्टि हो।
यस दृष्टिबाट प्रकृतिलाई केवल उपभोगको वस्तु होइन, श्रद्धा र जिम्मेवारीको विषयका रूपमा हेरौं। सूर्यको पूजा गर्दै नदी प्रदूषित नगरौं। जललाई पवित्र मान्दै जलस्रोत नष्ट नगरौं। पृथ्वीप्रतिको कृतज्ञतालाई संरक्षणको व्यवहारमा उतारौं।
उपवासबाट चित्तवृत्तिनिरोधसम्म
एकादशीमा उपवास गर्दा भोजन मात्र होइन, आफ्ना असंयमित प्रवृत्तिहरूलाई पनि नियन्त्रण गर्ने अभ्यास गरौं।
पतञ्जलि योगसूत्रमा भनिएको छ — अभ्यासवैराग्याभ्यां तन्निरोधः — योगसूत्र १.१२।
अभ्यास र वैराग्यद्वारा चित्तवृत्तिहरूको निरोध हुन्छ।
एकादशीको व्रतलाई स्वास्थ्य अनुकूल संयम, जप, ध्यान, भक्तिभाव र आत्मनिरीक्षणसँग जोडौं। पेट खाली राखेर मात्र होइन, मनलाई अनावश्यक द्वेष, ईर्ष्या र अहंकारबाट हलुका बनाउने अभ्यास पनि गरौं।
यहीँबाट चित्तका वृत्तिहरूबाट मुक्तिको मार्ग भेटिनेछ।
अब चाडपर्वलाई नयाँ दृष्टिले हेर्न थालौं
हामी हजारौं वर्षदेखि पूजा गर्दै आएका छौं। अब पूजाको प्रभाव आफ्नो जीवनमा कति प्रकट भयो र हामीमा मानवीय गुणहरूको विकास कति भयो भन्ने पनि परीक्षण गरौं।
हरेक चाडपर्वमा कम्तीमा केही समय अध्ययन, ध्यान र आत्मचिन्तन गरौं। एउटा असल गुण विकास गर्ने र एउटा हानिकारक प्रवृत्ति घटाउने संकल्प गरौं।
एउटा निःस्वार्थ सेवाकार्य गरौं। परिवारमा प्रेमपूर्ण संवाद गरौं। प्रकृति र प्राणी जगतप्रति आफ्नो जिम्मेवारी पूरा गरौं।
विद्यालयहरूले बालबालिकालाई पर्वको कथा र विधिसँगै त्यसको नैतिक तथा आध्यात्मिक शिक्षा पनि दिऊन्। परिवारहरूले उत्सवसँगै ध्यान र साधनाको संस्कार विकास गरून्।
मन्दिर र धार्मिक संस्थाहरूले अनुष्ठानसँगै चरित्रनिर्माण, करुणा र आत्मजागरणलाई पनि प्राथमिकता दिऊन्।
हाम्रो समाजमा एउटा नयाँ सांस्कृतिक अभ्यास सुरू होस्।
प्रत्येक पर्व, एउटा साधना; प्रत्येक उत्सव, एउटा सदगुण; प्रत्येक आराधना, एउटा आन्तरिक रूपान्तरण।
यो केवल व्यक्तिगत सुधारको विषय होइन। आजको विश्वलाई यस्तो चेतना अत्यन्त आवश्यक छ। हाम्रो संस्कृतिले दिन खोजेको मूल वस्तु पनि यही नै हो।
ज्ञान बढेको छ, तर त्यसलाई मानवकल्याणमा उपयोग गर्ने विवेक पनि बढ्नुपर्छ। सम्पत्ति बढेको छ, तर त्यससँगै सन्तोष र उदारता पनि बढ्नुपर्छ। शक्ति बढेको छ, तर त्यसको प्रयोगमा करुणा र नैतिकता पनि बढ्नुपर्छ।
भगवद्गीताले कर्मलाई लोककल्याणसँग जोड्दै भन्छ — लोकसंग्रहमेवापि सम्पश्यन्कर्तुमर्हसि— भगवद्गीता ३.२०।
अर्थात्, लोकसंग्रह अर्थात् समाजको हित र सुव्यवस्थालाई दृष्टिगत गरेर पनि कर्म गर्नुपर्छ।
हाम्रो आध्यात्मिक साधना केवल आफ्नो शान्तिमा सीमित नरहोस्। त्यसले परिवारमा प्रेम, समाजमा सदभाव, राष्ट्रमा नैतिकता र विश्वमा शान्तिको वातावरण निर्माण गर्न योगदान गरोस्।
संस्कृति बचाउँदै गर्दा चेतनाको जागरणमा पनि घनीभूत रूपमा काम गर्न सुरू गरौं!
अब हाम्रो आह्वान स्पष्ट हुनुपर्छ— चाडपर्वको सांस्कृतिक वैभवलाई जोगाऔं, तर त्यसको आध्यात्मिक आत्मालाई हराउन नदिऔं।
हाम्रा गीत, नृत्य, पूजा, परम्परा, भोजन, वेशभूषा र उत्सवहरू उत्तिकै उल्लासका साथ मनाऔं। तर प्रत्येक उत्सवमा आफूभित्र केही नयाँ जागरण पनि ल्याऔं।
शरीर सजाएर मात्र जीवनमा प्रगति हुँदैन, चेतनाको परिष्कारबिना मानव जीवन निरर्थक बन्छ।
अब दीप बाल्ने हात सेवामा पनि तल्लीन हुन्। पूजा गर्ने मन करूणाले पनि भरियोस्। व्रत बस्ने व्यक्तिको व्यवहारमा संयम पनि देखियोस्। देवीको आराधना गर्ने मानिस अन्यायविरुद्ध पनि उभियोस्।
सूर्यको पूजा गर्ने समाज प्रकृतिको संरक्षणमा पनि अग्रसर होस्। संस्कृतिको रमाइलोमा डुब्ने व्यक्ति ध्यानसाधनाको गहिराइमा पनि डुब्न सिकोस्।
हाम्रा चाडपर्वहरू केवल पुस्ताबाट पुस्तामा हस्तान्तरण हुने परम्परा नबनून्। ती पुस्ताबाट पुस्तामा हस्तान्तरण हुने जागरूकता, प्रेम, विवेक र पवित्रताका संस्कार बनून्।
हामीले आफ्ना सन्तानलाई चाडपर्व कसरी मनाउने भनेर मात्र नसिकाऔं; चाडपर्व मनाएर कस्तो मानिस बन्ने भनेर पनि सिकाऔं।
अब हाम्रो संकल्प केवल चाडपर्व मनाउने होइन, चाडपर्वमार्फत आध्यात्मिक चेतना जगाउने हो। केवल संस्कृतिको संरक्षण गर्ने होइन, त्यसको आध्यात्मिक मर्मलाई जीवनमा उतार्ने हो।
केवल आफ्नो कल्याण खोज्ने होइन, सम्पूर्ण मानवता र प्राणीजगत्को कल्याणमा सहभागी हुने हो।
हाम्रो सभ्यताले विश्वलाई दिन सक्ने महत्त्वपूर्ण सन्देश यही हो — बाहिरी समृद्धि र आन्तरिक जागरण एकअर्काका विरोधी होइनन्। तिनको सन्तुलित विकास नै मानव जीवनको पूर्णतातर्फको यात्रा हो।
आउनुहोस्, प्रत्येक घरलाई साधनाको केन्द्र, प्रत्येक परिवारलाई प्रेमको पाठशाला, प्रत्येक चाडपर्वलाई आत्मजागरणको अवसर र प्रत्येक मानव जीवनलाई लोककल्याणको माध्यम बनाऔं।
किनकि आजको विश्वलाई केवल उज्याला सहर होइन, उज्यालो चेतना भएका मानिस चाहिएका छन्।
चाडपर्व मनाऔं र संस्कृति जोगाऔं। साधना गरौं र चेतना जगाऔं। अनि त्यो जागरणलाई आफ्नो जीवन र समाजको रूपान्तरणमा प्रकट गरौं।
यही हो चाडपर्वको आध्यात्मिक पुनर्जागरण। यही हो आजको विश्वप्रति हाम्रो सभ्यताको सार्थक योगदान।
***