संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा सक्रिय राजनीतिमा आएका छन्।
३१ वर्षीय अमरेन्द्र यादव उक्त पार्टीका विराटनगर नगर अध्यक्ष छानिएका छन्। उपेन्द्रको प्रभाव क्षेत्र विराटनगरमा भएको नगर अधिवेशनबाट अमरेन्द्र जिल्ला अध्यक्ष चुनिएका हुन्।
चैत २३ गते राति भएको चुनावमा उनले प्रतिद्वन्द्वी उम्मेदवार मो. समिम कमरलाई २२ मतले हराएका हुन्। अमरेन्द्रले ११२ मत ल्याए भने कमरले ९०मत पाए। केन्द्रीय सदस्य उमेश यादवका अनुसार ८ मत बदर भएको थियो।
एसएलसी पास गरेपछि भारत पढ्न गएका अमरेन्द्र केही वर्षयता फोरम नेपालको युवा संगठनमा थिए। युवा फोरममा केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै अमरेन्द्र पार्टीको विराटनगरको नगर अध्यक्ष निर्वाचित भएका हुन्। फोरमको आधारभूमि विराटनगर अध्यक्ष यादवको गृह र निर्वाचन क्षेत्र पनि हो।
२०७० सालको चुनावमा उनी मोरङमा पराजित भएका थिए। २०७४ मा यादव सप्तरीबाट चुनाव लडेका थिए।