निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ।
राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको थियो। मनोनयन दर्ता गरेका उम्मेदवारहरूको दाबी विरोधमा उजुरी दिन बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ।
निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्नेछ।
राष्ट्रियसभामा एमालेका ८, नेपाली कम्युनिस्ट पार्टीका ८, जसपा नेपाल र लोसपा नेपालका समान १–१ र एक स्थान मनोनीतको कोटा रिक्त हुन लागेको हो।
एमाले सांसद इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बिसीको पदावधि सकिँदै छ। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा र राधेश्याम पासवान र बेदुराम भूसालको पदावधि सकिँदै छ।
जसपा नेपालका मृगेन्द्रकुमारसिंह यादव र लोसपाका शेखरकुमार सिंहको पदावधि सकिँदै छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने कोटाबाट सांसद बनेका नेकपा नेता वामदेव गौतमको पदावधि पनि सकिँदै छ।
रिक्त १८ स्थानका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालले गठबन्धन गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीले एकल उम्मेदवारी दिएको छ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र गाउँपालिका/नगरपालिकाका प्रमुख/उपप्रमुख मतदाता रहन्छन्।