संघीय संसद सचिवालयलले थप ११ वटा नयाँ गाडी किन्ने भएको छ।
गाडी खरिदका लागि सचिवालयले गत जेठ १ गते टेण्डर आह्वान गरिसकेको छ।
सचिवालय स्रोतका अनुसार अर्थ मन्त्रालयले यही आर्थिक वर्षभित्रमै खरिद प्रकृया अघि बढाउने गरी ११ वटा गाडी र २ वटा अपाङ्गमैत्री मोटरसाइकल खरिदका लागि ७ करोड ७० लाख रूपैयाँ छुट्याएको छ।
‘सभापतिहरूले पुरानो गाडी बिग्रिरह्यो, नयाँ गाडी चाहियो भनेपछि सभामुख कृष्णबहादुर महराको विशेष आग्रहमा अर्थमन्त्रीले बजेट छुट्याउनुभएको हो’ स्रोतले सेतोपाटीसँग भन्यो।
एकमहिनाअघिमात्रै संसदको पाँचवटा समितिका सभापतिले नयाँ स्करपियो गाडी पाइसकेका छन्।
यसअघि प्रतिनिधिसभा अन्तर्गत लेखा, शिक्षा तथा स्वास्थ्य, विकास तथा प्रविधि,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र राष्ट्रियसभा अन्तर्गत दीगो विकास समितिका सभापतिहरुलाई नयाँ गाडी दिइएको थियो।
‘अब आउने गाडी बाँकी रहेका ११ जना सभापतिलाई दिइनेछ’ सचिवालय स्रोतले भन्यो ‘अहिले चलिरहेका गाडी त्यति नराम्रा त होइनन् तर काठमाडौंबाहिर जाँदा बिग्रने सम्भावना भने हुन्थ्यो।’
अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला (खरेल)ले आफूले प्रयोग गर्दै आएको गाडी बिग्रको बिग्र्यै हुन थालेपछि नयाँ गाडीको माग गरिएको बताइन्।
उनले आफू गाडीमा दुई पटक झापा जाँदा दुई पटक नै गाडी बिग्रिएर दु:ख पाएको गुनासो गरिन्।
‘लहान पुग्दा नपुग्दै मेरो गाडी बिग्रियो, गाडीबाटै आगो पुत्पुताउन थाल्यो, सधैँ गाडी बनाउँदै हिँड्दै कति गर्नु, खुट्टाले हिँडेर पनि सम्भव छैन,’ खरेलले सेतोपाटीसँग भनिन्।
संसद सचिवालयसँग अहिले नै ८७ वटा गाडी छन्। अर्थमन्त्रालयले नै सांसदहरूका लागि ३ सय ३४ वटा ल्यापटप किनिदिने वचन दिएपछि सचिवालयले ल्यापटप खरिदको प्रकृया पनि अघि बढाएको छ।