राजनीतिशास्त्री इन्द्र अधिकारीले विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई समय-सान्दर्भिक बनाउन सुझाव दिएकी छन्।
बुधबार काठमाडौंको एक होटलमा कांग्रेस महामन्त्री गगन थापा लगायत विशेष महाधिवेशन पक्षधरले बुद्धिजीवीहरूसँग सुझाव लिने क्रममा राजनीतिशास्त्री अधिकारीले भनिन्, 'पार्टीको विधानले नै विशेष महाधिवेशन गर्ने अनुमति दिएको छ भने तपाईंहरू त्यसै अनुसार अघि बढ्नुहोस् र नेतृत्व परिवर्तन गर्नुहोस्।'
उनले अगाडि भनिन्, 'अहिले जति पनि महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आह्वान गरेका छन्, भोलि-पर्सि त्योभन्दा बढी आउँछन्। चुनाव नजिक छ भनेर जाने छुट नेपाली कांग्रेसलाई छैन।'
अहिले विशेष महाधिवेशन आह्वान गर्नेमा कांग्रेसका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि छन्।
उनले सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई एमालेको भ्रातृ संगठनजस्तो बनाएको टिप्पणी पनि गरिन्।
'कांग्रेस सभापतिको हालत हेर्दा त नेपाली कांग्रेसलाई उहाँले एमालेको भ्रातृ संगठन बनाएजस्तो देखिन्छ,' उनले भनिन्, 'एमाले अध्यक्ष केपी ओलीले आफ्ना भाषणहरूमा संकटमोचनको कुरा गर्दा एमाले र नेपाली कांग्रेस दुवै पार्टीको तर्फबाट बोलेजस्तो गर्नुहुन्छ। पछिल्लो समय कुनै पनि कुराको पार्टीभित्र निर्णय हुनुभन्दा पहिला सभापति देउवाले ओलीसँग परामर्श गरेजस्तो देखिन्छ।
'देउवाले जसरी उपचारपछि नेपाल फर्केर प्रतिनिधिसभा पुनर्स्थापना गर्ने कुरा गरिरहनुभएको छ, त्यो ओलीको एजेन्डा हो। त्यसका लागि सर्वोच्च अदालत जाने कुरामा ओलीको सहयात्री बनेर जे गरिरहनुभएको छ, त्यो कांग्रेसको चरित्रभन्दा फरक छ,' उनले भनिन्।
ऐतिहासिक सन्दर्भहरू हेर्दा पनि कांग्रेसको चरित्र भनेको जस्तो परिस्थितिमा पनि आफूले गरेको काममा जबाफदेहिता लिने हो भन्दै उनले पछिल्लो समय त्यस्तो चरित्र नदेखिएको टिप्पणी गरिन्।
'जस्तो परिस्थितिमा पनि कांग्रेसले जबाफदेहिता लिने गर्थ्यो। जनमत संग्रहमा बिपीले परिणाम मेरो पक्षमा नआएको भए पनि त्यसलाई मान्छु भन्नुभयो। गिरिजाप्रसादलाई पनि २०६३ पछि नेपाली कांग्रेस हार्छ भन्ने थाहा थियो, तर उहाँले माओवादीलाई सिस्टमभित्र ल्याउन सके सबैको जित हुन्छ भन्नुभएको थियो,' उनले सम्झाइन्।
अहिलेको परिस्थितमा गगन थापा जस्ता व्यक्ति नेतृत्वमा आउनु राम्रो कुरा भएको उनले बताइन्।
'उनी त खारिएका र परिपक्व नेता हुन्। विद्यार्थी राजनीति, संविधानसभा, संसद र मन्त्रिपरिषदमा बसेर काम गर्दा राम्रै गरेका छन्। कुरा बुझाएर बोल्न सक्छन् भनेर धेरैले लिडर मानेको देखिन्छ,' उनले भनिन्, 'कांग्रेसमा बिपीका उत्तराधिकारी गगन नै हो जस्तो देखिन्छ।'
उनले विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व लिन महामन्त्री गगन थापालाई सुझाव पनि दिएकी छन्।
'तपाईं संस्थापन कसलाई भनिरहनुभएको छ? कांग्रेसमा महामन्त्रीहरूको असाध्यै ठूलो भूमिका हुन्छ। त्यसैले तपाईं नै पार्टीको संस्थापन हो,' उनले भनिन्, 'जेनजी आन्दोलनलगत्तै उनीहरूलाई पनि तपाईंले सम्बोधन गर्नुभएको थियो, त्यति बेलै देशले लिडर मानिसकेको हो।'
अहिले विशेष महाधिवेशन गर्न हुन्न भने पनि त्यसको माहोल बनेपछि कांग्रेसका धेरै नेता-कार्यकर्तामा हिम्मत बढ्ने उनले बताइन्।