चिकित्सा शिक्षा आयोग उपाध्यक्ष नियुक्तिमा राजनीतिक चलखेल हुन थालेको भन्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले आपत्ति जनाएका छन्।
उनले आयोगको उपाध्यक्ष कसैलाई जागिर खुवाउने वा स्वार्थपूर्ति गर्ने विषय नभएको भन्दै संवेदनशीलता ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
‘आयोगको उपाध्यक्ष अयोग्य मानिस वा पार्टीको कार्यकर्ता बन्नु भनेको चिकित्सा क्षेत्रमा अहिलेसम्म देखापरेका यावत् विकृतिलाई मौलाउन दिनु हो,’ केसीले बिहीबार पत्रकार सम्मेलन गरी भने।
उपाध्यक्ष छनोटको विषयमा आफू मौन रहन नसक्ने उनले जनाएका छन्। केही दिनअघि आयोग उपाध्यक्षमा केही व्यक्तिको नाम सिफारिस हुन लागेको सार्वजनिक भएको थियो।
आयोग बनेपछि पनि पार्टीको स्वार्थअनुसार परिचालित हुने उपाध्यक्ष ल्याउने हो र आयोगले नियमनको सट्टा मिलेमतोको बाटोमा लाग्ने हो भने सुधारको पक्षमा अहिलेसम्म हात परेका उपलब्धिहरू गुम्ने शंका बढेको उनले बताए।
उनले योग्य र गैरराजनीतिक व्यक्तिलाई उपाध्यक्ष बनाउनुपर्ने माग राखे। अहिले केही उम्मेदवार छनोटमा सरकार लागेको भन्दै त्यसलाई रोक्न केसीले माग गरे।