२०७९ को निर्वाचनमा मधेसमा जनमत पार्टीका अध्यक्ष सिके राउतको क्रेज छुट्टै थियो। 'मधेसके बेटा सिके राउत काठमाण्डूमे किल्ला गाइरदेतौ' गीत मधेसका युवाहरूमा निकै चर्चित थियो। युवादेखि वृद्धसम्मले गर्वका साथ राउतको नाम लिन्थे। राउतलाई आशलाग्दो भिजन भएको नेताका रूपमा मधेसमा लिइएको थियो।
राउतप्रतिको यही आशाकै कारण उनी सप्तरीमा भारी मतका साथ विजयी भएका थिए।
राउतले आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भन्दा दोब्बर धेरै मत ल्याएका थिए। राउतले ३५ हजार ४२ मत ल्याएका थिए भने यादवले १६ हजार ९ सय ७९ मत मात्र ल्याएका थिए।
गत निर्वाचनमा राउतको पार्टीले अन्यत्र जित्न नसके पनि समानुपतिकतर्फ पाँच सांसद जितेको थियो।
२०७९ को निर्वाचनमा प्रभावशाली देखिएका राउतले ३ वर्षको अवधिमा पार्टीलाई पनि छिन्नभिन्न बनाए।
यस पटकको निर्वाचनमा राउतलाई आफ्नै सहकर्मीले चुनौती दिएका थिए।
जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले प्रदेश सांसदबाट राजीनामा दिएर राउतकै क्षेत्रमा उम्मेदवारी दिए।
२०७९ को निर्वाचनमा जनमत पार्टीबाट सप्तरी-२ को प्रदेश सभा २ जितेका सिंहले स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका थिए। यद्यपी सिंह चौथो स्थानमा पुगेका छन्। उनले ३ हजार ५ सय ५७ मत मात्र पाएका छन्।
यो बीचमा राउत नेतृत्वको जनमत पार्टीका प्रमुख नेताहरू पनि अन्य पार्टीमा आबद्ध भए। पार्टीमा उपाध्यक्ष रहेका मन्त्री भइसकेका अब्दुल खान रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा लागेका छन्।
अर्का उपाध्यक्ष दीपक कुमार साह राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सुनसरी-४ को उम्मेदवार बनेका छन्। साह जितको नजिक छन्। राउतले साहलाई साउनमा पार्टीबाट निलम्बन गरेर निकालेका थिए।
आफूलाई मन नपर्न साथ नेताहरूलाई कारबाही गर्ने अनि एकलौटी ढंगले निर्णय गरेकै कारण उनी एक्लिँदै गए।
गत निर्वाचनमा मधेसमा जनमत पार्टीको चुनाव चिह्न 'हर्न' निकै चर्चित समेत थियो। तर गत निर्वाचन र अहिले उनलाई आएको मतलाई आधार मान्ने हो भने हर्नको तार चुडिए जस्तै भएको छ। अर्थात् यसपटक सिके राउतको हर्न बज्न सकेन। यसपटकको निर्वाचनमा राउत तेस्रो स्थानमा पुगेका छन्।
रास्वपाका उम्मेदवार रामजी यादवले २८ हजार ४ सय ४ मत ल्याउँदा राउतले ९ हजार ८ सय ८० मत मात्र पाए। दोस्रोमा रहेको जसपाका उमेश कुमार यादवले १४ हजार २ सय ६३ मत ल्याएका छन्।
राउत नेतृत्वको जनमत पार्टीले आवश्यक थ्रेसहोल्ड नकटाउने पनि निश्चित भएको छ। अनि प्रत्यक्षतर्फ पनि एक ठाउँमा नजितेकाले जनमत पार्टीको यसपटक संसदमा उपस्थिति हुने छैन।