प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले आज मनाइरहेको राष्ट्रिय शोकमा ऐक्यवद्धता जनाएका छन्।
शनिबार उनले ट्वीट गर्दै चिनियाँ परम्परागत चिङमिङ अर्थात दिवंगत पूर्खाहरूलाई सम्झने दिनको अवसरमा ऐक्यवद्धता जनाएका हुन्।
'नेपाल सरकार, यहाँका नागरिक र मेरोतर्फबाट चिनियाँ सरकार र त्यहाँका नागरिकप्रति दिवंगतहरूलाई सम्झिने राष्ट्रिय दिनको अवसरमा कोभिड-१९सँग लडेर ज्यान गुमाउने हिरोहरूको सम्झनामा ऐक्यवद्धता जनाउँछु,' प्रधानमन्त्रीले लेखेका छन्।
शनिबार चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएका नागरिकहरूको सम्झनामा देशभरि शोक मनाइरहेको छ।
चीनको मन्त्रिपरिषद्ले शुक्रबार कोरोना भाइरसबाट ज्यान गुमाउने ३ हजार ३ सय २२ जना नागरिकको सम्झनामा शोक मनाउने निर्णय गरेको थियो।
आज चिनियाँ नागरिकहरूले बिहान १० बजेपछि तीन मिनेटसम्म मौनधारण गर्न गरेका थिए भने गाडी र डुंगा चालकहरूलाई आफ्नो सवारीको हर्न बजाएका थिए।
चिङमिङका दिन परिवारका मानिसहरू ठूलो संख्यामा भेला भएर पुर्खाहरूलाई सम्झने गर्थे। कोरोना भाइरसको नयाँ संक्रमण थपिने डरले सरकारले यसपालि सबैलाई घरमै बस्न भनेको छ।
शनिबार चीनभित्र र उसका बाहिरका कूटनीतिक नियोगहरूमा चिनियाँ झन्डा आधा झुकाइएको छ।
सन् २००८ यता तीन पटक यसरी दिवंगतहरूको सम्झनामा तीन पटक शोक मनाइएको छ। २००८ मेको सिचुवान प्रान्तको भुइँचालो, २०१० अप्रिलको युसु भुइँचालो र २०१० अगस्ट २०१०को गान्सुको पहिरोमा परी ज्यान गुमाउनेको सम्झनामा पनि यसरी नै शोक मनाइएको थियो।
यसैबीच कोरोना भाइरसको उदगम विन्दु चीनको हुबेई प्रान्तले कोरोना महामारीको चेतावनी दिने डाक्टरलाई सहिद घोषणा गरेको छ।
डाक्टर ली वेनलियाङले डिसेम्बरको अन्त्यतिर नै कोरोना भाइरसले महामारीको रूप लिने चेतावनी दिएका थिए। उक्त चेतावनीपछि प्रहरीले उनलाई हिरासतमा लिएर केरकार गरेको थियो। पछि बिरामीको उपचारमा खटिएका लीको गत फेब्रुअरीमा कोरोनाको संक्रमण भएर मृत्यु भएको थियो। वुहान प्रहरीले उनको मृत्युपछि माफी मागेको थियो।
उनीसँगै अरू १३ जनालाई पनि सहिद घोषणा गरिएको छ।