नेकपा वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुरासम्मको भू-भाग समेटेर नक्सा बनाइएकोमा सरकारलाई धन्यवाद दिएका छन्।
सरकारले अद्यावधिक गरेको राजनीतिक नक्सा लिएर डल्लुस्थित खनाल निवास पुगेकी भूमि व्यवस्था तथा सहकारीमन्त्री पदमा अर्यालसँग उनले नयाँ नक्सा जारी हुनु सकारात्मक भएकाे टिप्पणी गरे।
नक्सा तयार पार्न खटिएका मन्त्री सहित मन्त्रालयका सबै कर्माचारीको उनले प्रशंसा समेत गरे। मन्त्री अर्यालले आजै अर्का वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतलाई नेपालको रजनीतिक नक्सा हस्तान्तरण गरेकी छन्।
यसअघि उनले राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपीशर्मा ओली, प्रमुख बिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लगायतलाई नक्सा हस्तान्तरण गरेकी थिइन्।
गत सोमबारको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको थियो भने बुधबार भूमि मन्त्रालयले सार्वजनिक गरेको हो। शुक्रबार सरकारले संविधानको अनुसूची परिवर्तन गर्नका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ।