नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पास गरेको छ।
शुक्रबार भएको उक्त निर्णयमा 'नोट अफ डिसेन्ट' लेखेका महामन्त्री गगन थापाले अब पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताएका छन्।
कार्यसमिति बैठक सकेर पार्टी कार्यालयको प्रांगणमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्रीले विशेष महाधिवेशन कसरी हुन्छ र त्यसको कार्यविधि कसरी तय हुन्छ भन्नेबारे चर्चा गरेका छन्।
महामन्त्री थापाले राखेका भनाइको सम्पादित अंश —
नेपाली कांग्रेस पार्टीको आजको बैठकमा कार्यवाहक सभापति (पूर्णबहादुर खड्का) ले यो केन्द्रीय समितिको कार्यवधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नुभएको छ। उहाँले पार्टी विधानको धारा ४३ प्रयोग गरेर यो प्रस्ताव राख्नुभएको हो।
यो धाराले पार्टीका सबै तह र पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारण स्थिति आए केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्म अवधि बढाउन सक्ने व्यवस्था गरेको छ।
उहाँको यो प्रस्तावमा हामी पाँच जना साथीहरूको फरक मत रह्यो।
हाम्रो फरक मतका बाबजुद केन्द्रीय कार्यसमितिको बहुमतले यो प्रस्ताव पारित गरेको छ। पार्टी विधानकै अर्को धाराले केन्द्रीय कार्यसमितिको कुनै विषयमा मत विभाजन भए बहुमतले पारित गर्न सक्छ भनेको छ।
यी दुइटै कुरामा विधान लागू हुने, अनि आफूलाई मन नपरेको कुरामा विधान लागू नहुने भन्ने कुरा अन्त होला, नेपाली कांग्रेसमा गर्न पाइन्न।
यही विधानको धारा १७(२) ले प्रस्टसँग के भन्छ भने, केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले विशेष कारण खुलाएर महाधिवेशन बोलाउन केन्द्रसमक्ष लिखित अनुरोध गरे तीन महिनाभित्र बोलाउनुपर्नेछ। यो धाराले केन्द्रलाई विशेष महाधिवेशन बोलाउन मन लागे बोलाउन पाउने र बोलाउन मन नलागे नबोलाए पनि हुने भन्दैन। यसमा दया-माया केही छैन। यो कसैको छनौटको कुरा पनि होइन।
पुस २८-२९ गते भनेको यही धारा प्रयोग गरेर ४० प्रतिशत महाधिवेशन सदस्यहरूले बुझाउनुभएको निवेदनको ९० दिन बित्ने अन्तिम समय हो। त्यो ९० दिनको अन्तिम समयभित्र जम्मा एउटा अवस्थामा विशेष महाधिवेशन नबोलाउन पाइन्थ्यो — यही अवधिमा आवधिक महाधिवेशन भइदिएको भए।
अहिलेसम्म विशेष महाधिवेशनको कुरा किन उठेन भने केन्द्रीय कार्यसमितिले हामी पुस मसान्तभित्रै आवधिक महाधिवेशन गर्छु भनेको थियो। त्यस अनुसार आवधिक महाधिवेशन भइदिएको भए विशेष महाधिवेशनको प्रस्ताव स्वत: 'डिफ्युज' भएको मानिन्थ्यो। तर अब स्थिति त्यस्तो छैन।
आज केन्द्रीय कार्यसमितिले पुसभित्र महाधिवेशन गर्दिनँ भनेर भन्यो। यसो भनिसकेपछि अब विशेष महाधिवेशन गर्दिनँ भन्न त पाइँदै पाइएन।
आजको बैठकमा केन्द्रीय समितिको पदावधि थप्ने, तर विशेष महाधिवेशन नगर्ने भन्ने त हुँदै भएन। त्यसैले पार्टी विधान अनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नुपर्छ भन्ने फरक मत हामीले दर्ज गराएका छौं।
फरक मत दर्ज गराएपछि अब हामी घर गयौं, सुत्यौं भन्ने होइन। आज शुक्रबार हो, अझै एक-दुई दिनको समय छ। हामी अपेक्षा गर्छौं, पार्टी सभापति, कार्यवाहक सभापति र पार्टीका जिम्मेवार नेताहरूले विधान पालना गर्नु हुनेछ। विधानले दिएको यो अधिकार उल्लंघन गर्न त पाइँदै पाइँदैन। यो कुरा उहाँहरूले बुझ्नुभएको छ भन्ने हामी अपेक्षा गर्छौं।
हामीसँग अब एक-दुई दिनको मात्र समय छ। त्यो समयभित्र केन्द्रीय कार्यसमितिको बैठक राख्नुभयो र विशेष महाधिवेशन बोलाउनुभयो भने कांग्रेस पार्टीका लागि सर्वोत्तम कुरा त्यही नै हुन्छ। हामी पनि त्यही चाहन्छौं। तर यदि केन्द्रका जिम्मेवार नेताहरूले विधान पालना गर्नुभएन भने म पार्टी महामन्त्री भएर टुलुटुलु हेरेर बस्न मिल्दैन, बस्न सक्दिनँ।
हामी अझै पनि अपेक्षा गर्छौं, केन्द्रीय कार्यसमितिकै बैठक बसेर विशेष महाधिवेशन आयोजना गर्नेछ।
यदि केन्द्रीय कार्यसमिति बैठक बसेर निर्णय भएन भने केन्द्र भनेको केन्द्रीय कार्यालय हो र केन्द्रीय कार्यालय भनेको महामन्त्री हो। त्यो अवस्थामा महामन्त्रीले विधानको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन आयोजना गर्छ। यही पुस मसान्तभित्र काठमाडौंमा नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजना हुन्छ। केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि केन्द्रीय कार्यसमितिले निर्णय नगरी केन्द्रले आयोजना गरेर हुन्छ, यसबारे चाहिँ एक-दुई दिनभित्र प्रस्ट हुनेछ।
म देशभरका महाधिवेशन प्रतिनिधि साथीहरूलाई अनुरोध गर्न चाहन्छु — पुस मसान्तमा काठमाडौंमा विशेष महाधिवेशनका लागि आउन औपचारिक निम्तो तपाईंहरूलाई केही दिनभित्रै आउँछ। देशभरिका साथीहरूले काठमाडौं आउने तयारी गर्नुहोला। अब हाम्रो भेट काठमाडौंमा भेट हुन्छ र विशेष महाधिवेशनले केही ऐतिहासिक निर्णयहरू गर्छ।
विशेष महाधिवेशनको कार्यविधि कसरी तय हुन्छ भन्ने प्रश्न पनि छ।
यसमा दुइटा अवस्था छन्।
केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशनको निर्णय गरेर जाने परिस्थिति बन्यो भने कार्यविधि पनि केन्द्रीय कार्यसमितिले नै बनाउँछ। र, त्यही कार्यविधिलाई विशेष महाधिवेशनमा लिएर जान्छ।
तर केन्द्रीय कार्यसमितिले निर्णय नगरी विशेष महाधिवेशन आयोजना हुने स्थिति आयो भने विशेष महाधिवेशनले आफ्नो कार्यविधि आफै बनाउँछ। र, त्यो कार्यविधिकै आधारमा कामकारबाही अघि बढाउँछ।
विशेष महाधिवेशनलाई आफ्नो कार्यविधि आफै बनाउने भएकाले त्यो कस्तो हुन्छ भन्ने चाहिँ विशेष महाधिवेशनकै अधिकार क्षेत्रमा पर्छ। मैले अहिले नै त्यसको अधिकार अतिक्रमण गरेर बोल्ने कुरा उपयुक्त हुँदैन।
यदि केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशनबारे निर्णय गर्ने अवस्था बन्यो भने त्यहाँ कार्यविधिबारे व्यापक छलफल होला र त्यही छलफलबाट हामी निष्कर्षमा पुगौंला। त्यहाँ म आफ्नो राय राखूँला। मेरो रायमा यो महाधिवेशनले नीति र नेतृत्व दुवै बदल्नुपर्छ। तर केन्द्रीय कार्यसमितिको पनि यही राय रहन्छ कि रहँदैन, यही प्रस्ताव गर्छ कि गर्दैन, त्यो आफ्नो ठाउँमा छ।
कतिपय साथीहरूले पार्टी फुट्ने आशंका पनि गर्नुभएको छ। म नेपाली कांग्रेस पार्टी कार्यालयको प्रांगणमा उभिएर भन्दै छु — चाहे जस्तोसुकै अवस्था होस्, जुनसुकै विषम परिस्थिति होस्, नेपाली कांग्रेस पार्टी फुट्दैन। हामी फुटाउन दिँदैनौं।