समानुपातिक तर्फका उम्मेदवारको सूची बनाउन नेकपा माओवादी केन्द्रले कार्यदल बनाएको छ।
महासचिव देवप्रसाद गुरूङको नेतृत्वमा कार्यदल गठन भएको हो।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले महासचिव गुरुङको नेतृत्वमा उपमहासचिव गिरिराजमणी पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल गठन गरेको छ।
गुरुङ नेतृत्वको कार्यदलले सर्ट लिष्टमा नाम उतारेर सोमबारको पदाधिकारी बैठकमा पेश गर्ने पार्टी सचिव गणेश साहले जानकारी दिए।
माओवादीले सोमबार बिहान ९ बजे पदाधिकारी बैठक राखेको छ।
कार्यदलले संघ र प्रदेशका लागि समानुपातिक तर्फका उम्मेदवारहरुको सूची तयार पार्नेछ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन भोलिसम्मको समय दिएको छ।