सत्तारूढ नेपाली कांग्रेसबाट प्रतिनिधिसभा र प्रदेशसभामा उठ्ने उम्मेदवारहरूको नाम टुंगो लगाउन संसदीय बोर्डको बैठक बालुवाटारमा जारी छ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले प्रतिनिधिसभामा पाउने ८८ देखि ९० निर्वाचन क्षेत्र कुन-कुन हुन् भनेर ब्रिफिङ गरिरहेका छन्। प्रतिनिधिसभासहित कांग्रेसले पाउने प्रदेशसभाका क्षेत्र पनि उनले ब्रिफिङ गरिरहेका छन्।
कांग्रेसमा प्रतिनिधिसभा तथा प्रदेशसभामा उठ्ने उम्मेदवारहरूको टुंगो संसदीय बोर्डले लगाउने विधानमा उल्लेख छ। तर कांग्रेसको संसदीय बोर्ड औपचारिक रूपमा गठन भएको छैन। त्यसैले अहिले बालुवाटारमा संसदीय बोर्डमा पदेन सदस्य रहने पदाधिकारीहरू सहित आमन्त्रितका रूपमा पूर्वपदाधिकारी र केही मुख्य नेताहरू उपस्थित छन्।
उक्त बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीबाहेक नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, शेखर कोइराला र मन्त्रीद्वय बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की उपस्थित रहेको एक नेताले बताए।
ती नेताका अनुसार कांग्रेसले पाउने निर्वाचन क्षेत्रको ब्रिफिङ सकिएपछि ती क्षेत्रमा कांग्रेसबाट लड्ने उम्मेदवारबारे छलफल हुनेछ।
एक-एक निर्वाचन क्षेत्र रहेका १६ हिमाली जिल्लामा कांग्रेसले क-कसलाई उठाउने भन्नेबारे अनौपचारिक छलफल भएको प्रधानमन्त्री देउवानिकट एक नेताले बताए। अर्का नेताले भने निर्वाचन क्षेत्रमा को उम्मेदवार हुने भन्नेबारे छलफल सुरू भइनसकेको बताए।
'ब्रिफिङ सकिएपछि हिमाली क्षेत्रका केही जिल्लाबारे आज रातिसम्म छलफल होला तर अरू निर्वाचन क्षेत्रका हकमा भोलि लोसपासँगको अन्तिम सहमतिपछि नै छलफल सुरू हुन्छ,' उनले भने।
यसबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहानदेखि बसेको सत्ता गठबन्धनको बैठक साँझ अबेर सकिएको छ। शनिबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग बैठक बसेर सहमतिलाई अन्तिम रूप दिने कांग्रेसका एक नेताले बताए।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएपछि सत्ता गठबन्धनले अर्को मधेसवादी दल लोसपासँग मिलेर चुनाव लड्न शुक्रबारदेखि नै छलफल अघि बढाएको थियो।
‘लोसपालाई पनि मिलाएर सिट बाँडफाँट गर्ने लगभग सहमति जुटिसकेको छ। भोलि बिहान करिब एक घन्टा बसेर यसलाई अन्तिम रूप दिनेछौं,’ ती नेताले भने।
उनका अनुसार कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच निर्वाचन क्षेत्रको विभाजन पनि टुंगिएको छ।
यो सहमतिअनुसार कांग्रेसले ८८ सिट लिने, माओवादीले ४७, एकीकृत समाजवादीले १८ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने छन्। लोसपाले १५ सिटमा आफ्नो दाबी गरे पनि उसलाई ८ देखि १० सिट छुट्याउन सत्ता गठबन्धनका तीन प्रमुख दल तयार भएका छन्।
‘पहिले जसपालाई दिन तयार पारिएका १५ सिटमध्ये १० सिट लोसपालाई दिने र बाँकी पाँचमध्ये तीन कांग्रेस र दुई माओवादीले लिने सहमति भएको छ,’ ती नेताले भने।
प्रधानमन्त्री शेरबहादुर देउवा निकट एक नेताले भने लोसपाले प्रतिनिधिसभामा ८ सिट मात्र पाउने दाबी गरे।
'लोसपाले आफैंले प्रतिनिधिसभामा १० र प्रदेशसभामा २१ सिट चाहिन्छ भनिरहेको छ,' ती नेताले भने, 'लोसपासँग अन्तिममा ८ सिटमा सहमति हुनेछ।'
त्यसो हुँदा कांग्रेसको भागमा ९० सिट पर्ने उनले बताए।