फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन संघारमा छ। निर्वाचनको एक साताभित्र सम्भवत: अन्तिम परिणाम पनि आइसक्छ।
तर नयाँ चुनिएर आउने सांसदहरूलाई ‘शपथ कहाँ खुवाउने’ भन्ने पिरलो संसद सचिवालयलाई परेको छ।
पहिलो संविधान सभादेखि नै संसद भवनका रूपमा प्रयोग गरिएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भदौ २३ र २४ गतेको आगजनीका कारण ध्वस्त भएको छ।
सिंहदरबारमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरूले प्रयोग गर्दै आएको संसदीय दलको कार्यालय भवन पनि आगलागीमा परेका छन्। २ सय ७५ जना सांसदहरूलाई एउटै हलमा राखेर शपथ खुवाउन सचिवालयसँग अहिले कुनै भवन छैन।
संसद सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन्, ‘फागुन मसान्तसम्म नयाँ सांसदहरू चुनिएर आए भने कहाँ राखेर शपथ खुवाउने हो, अहिलेसम्म टुंगो छैन।’
संसद सचिवालयले प्रतिनिधि सभाको बैठक बस्ने हलको खोजी तीव्र पारेको छ।
सिंहदरबार परिसरमै रहेको निर्माणाधीन संसद भवनको काम छिटो सकिदिन सचिवालयले सहरी विकास मन्त्रालयलाई ताकेता गर्दै आएको छ। तर सहरी विकास मन्त्रालयले संसद सचिवालयलाई आश्वस्त पार्न सकिरहेको छैन।
नयाँ सांसद चुनिएर आएपछि शपथ खुवाउन नसकेको दोष नआओस् भनेर संसद सचिवालयले मुख्य सचिवलाई पत्र लेखेरै बैठक बस्ने ठाउँ खोजिदिन आग्रह गरेको छ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरी कम्तीमा फागनु १५ गतेभित्र नयाँ संसद बस्ने हल र बैठक कक्षहरू सचिवालययलाई आवश्यक हुने बताउँछन्।
संसद सचिवालयले हल मात्र खोजेको छैन। बैठक राख्न सकिने गरी आवश्यक व्यवस्था भएको हल उपलब्ध गराइदिन सरकारलाई आग्रह गरेको छ।
‘तत्काल बैठक सञ्चालनका लागि संघीय संसद सचिवालयसँग आवश्यक सभाहल, पदाधिकारीहरू र सचिवालयका कर्मचारीहरूको कार्यकक्ष, संसदीय दलका कार्यालयहरू, सभा सञ्चालनका लागि आवश्यक अडियो/भिडिओ रेकर्डिङ, लाइभ प्रसारण, श्रव्यदृष्य र सूचना प्रविधि सम्बन्धी उपकरणहरू लगायतका भौतिक संरचनाहरू सहितको पूर्वाधार’ खोजेको छ।
संसद बैठक सञ्चालन गर्न सचिवालयलाई कम्तीमा ४ सय सिट क्षमताको हल आवश्यक हुन्छ।
संघीय संसदको संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभाको एकसाथ) बैठक बस्नकै लागि पनि ३३४ सिट भएको हल आवश्यक हुन्छ। त्यसपछि सरकारका कर्मचारी, पत्रकार र दर्शकहरूलाई लागि पनि सिट छुट्याउनुपर्ने हुन्छ। नीति तथा कार्यक्रम र बजेट जस्ता कार्यक्रममा सरकारका सचिव र विदेशी कूटनीतिक नियोगका व्यक्तिहरू समेत सहभागी हुने प्रचलन छ। त्यसैले संसद बैठक बस्न ठूलो हल आवश्यक हुन्छ।
त्यसबाहेक संसदीय दललाई कार्यालयहरू आवश्यक हुन्छ। त्यस्तै बैठक सञ्चालन गर्नुपूर्व तयारी बैठक गर्न कार्यव्यवस्था परामर्श समिति बैठक बस्ने हल, सभामुख, उपसभामुख, संघीय संसदका महासचिव र कर्मचारीलाई कोठा, प्रधानमन्त्री र मन्त्रीहरू आउँदा बस्ने कोठाहरू आवश्यक हुन्छन्।
नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षको कार्यकक्ष, प्रधानमन्त्री र विपक्षी दलको नेताका कार्यकक्ष थिए। त्यसबाहेक दलहरूबीच विवाद हुँदा छलफल गर्ने कोठाहरू पनि थिए। त्यसबाहेक बैठक लाइभ गर्न कन्ट्रोल रूम, मिडिया सेन्टर पनि थियो।
त्यसैले संसद सचिवालयले सरकारलाई लेखेको पत्रमा बैठकको प्रत्यक्ष प्रसारण गर्न सकिने खालको हलको व्यवस्था गर्न भनिएको छ। हाल राष्ट्रिय सभाको बैठक सिंहदरबारमै रहेको पुरानो राष्ट्रिय सभाको कक्षमा बसिरहेको छ।
उक्त हलमा सिट व्यवस्थापनदेखि माइक व्यवस्थापन र लाइभ कक्षहरू निर्माण गरिएको छ। यो सबै व्यवस्थापनकै लागि झण्डै तीन महिनाको समय लागेको थियो। त्यसैले संसद सचिवालय नयाँ हलको छिटो भन्दा छिटो व्यवस्थापन होस् भन्ने चाहन्छ।
अर्कोतर्फ सिंहदरबार परिसरमै निर्माणाधीन संसद भवनको काम सकिएको छैन। मुख्य भवन र बैठक कक्षका हलहरू निर्माण कार्य जारी छ। हलमा सिट व्यवस्थापनदेखि बत्ती र माइक व्यवस्थापन लगायतका काम बाँकी नै छ। त्यसैले संसद सचिवालय बैठक बस्ने हल तयार हुनेमा आशंका गरिरहको छ।
सचिवालयको खोजेको आकार र सुविधा सहितको हल काठमाडौं उपत्यकामा पाउन मुस्किल छ। अझ सबै जसो सिटमा माइक सिस्टम जोडिएका हल सम्भवत उपत्यकामा नै छैन। बैठक बस्नकै लागि भने भृकुटीमण्डपको राष्ट्रिय सभा गृह अथवा कमलादीको प्रज्ञा भवनको हल प्रयोग गर्न सकिने अवस्था छ।
तर सहरी विकास मन्त्रालय भने निर्माणाधीन संसद भवनमै बैठक बस्ने भन्दै अन्यन्त्र हल खोज्न लागेको छैन। सहरी विकास मन्त्रालयको भवन निर्माण विभागका इन्जिनियर रोशन श्रेष्ठ नयाँ संसदको बैठक सिंहदरबारकै नयाँ भवनमा बस्ने दाबी गर्छन्।
‘निर्माणाधीन भवनमै अबको संसद बैठक बस्छ। त्यस अनुसार हामीले कार्ययोजना बनाएर काम गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘निर्माण व्यवसायीसँगै सहरी विकास मन्त्रालयको टोली रातदिन त्यहाँ बसेर काम गरिरहेको छ। नयाँ संसद नयाँ भवनमै बस्छ।’
उनले नयाँ संसद भवनका लागि आवश्यक माइक सिस्टमदेखि सबै प्रविधि पनि जडान भइसक्ने दाबी गरे।
‘सामान आइसकेको छ,’ श्रेष्ठले भने, ‘एक दुई वटा सामान आएका छैनन्। ती सामान बैठक सञ्चालनका लागि अत्यावश्यक होइनन्। अब सफ्टवेयरहरू आएपछि काम सुरू हुन्छ।’
सम्बन्धित समाचार : यस्तो छ संसद भवनको पहिचान बनेर जलेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको इतिहास