नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले स्टन्ट गरेकै भरमा पपुलर हुने र त्यस्तालाई नै अघि बढाउन देशी-विदेशी शक्तिहरूले ठूलो लगानी गरेको दाबी गरेका छन्।
इतिहास, विचार, राजनीतिक मूल्यमान्यतामा आधारिक आन्दोलनलाई संगठित गर्ने आवश्यकता महसुस भएको पनि उनले बताए।
‘स्टन्ट गरेकै भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी-विदेशी शक्तिहरूले ठूलो लगानी गरेको तपाईं हामीले देखेका छौं,’ चुरे भावर पार्टीलाई नेकपामा समाहित गर्न आयोजित कार्यक्रममा संयोजक प्रचण्डले भने।
साथै उनले राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखा परेको बताए।
उनले सोसल मिडियामा 'स्टन्ट' गरेर जनताको दिमाग चाट्ने काम भइरहेको पनि बताए।
‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाटने जो काम भइरहेको छ,’ उनले भने।